काठमाडाैँ । सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नाराका साथ साउन १६ अर्थात शुक्रबार पहिलो राष्ट्रिय कोदो दिवस मनाउने भएको हो । असार २३ गतेको मन्त्रिपरिष्दबाट निर्णयबाट पटक राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरेको थियो ।
कोदोजन्य बालीहरुले साना किसानको आय आर्जन बढाउन, खाद्य तथा पोष्टिक सुरक्षा गर्न, दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने कृषि विभागले जनाएको छ । जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने हुँदा राष्ट्रियस्तरमा कोदोजन्य बालीको महत्व र भूमिकालाई थप उजागर कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले जानकारी दिए ।
उनले खेती विस्तार र प्रर्वनमा हाम्रा संयुक्त प्रयासमा केन्द्रित गर्न यसै वर्षदेखि कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधारभन्ने नाराका सहित प्रथम राष्ट्रिय कोदो दिवस मनाउन लागेको उनले जानकारी दिए । उनका अनुसार विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि आधुनिक जीवनशैली र सोसँगै खाने बालीमा आएको परिवर्तन लगायतका कारण कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको छ । नेपालमा धान, मकै र गँहु पछि कोदो चौथो मुख्य खाद्यान्न बाली हो ।
कोदोलाई पहाडी क्षेत्रमा मकै पछिको महत्वपूर्ण बालीको रुपमा लिइन्छ । यसको खेती सिंचाइ कम हुने, कम मलिलो, पाखो बारी र आकाशे पानीको भरमा पनि गर्न सकिन्छ । नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्राय उपयुक्त नै देखिन्छ ।
जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन् ।
यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा छन् । यस्ता बालीहरू रासायनिक मलखाद र विषादिको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने प्रकृतिका भएकोले हानिकारक हरित ग्याँस उत्सर्जन कम गर्नमा सघाउ पुराउका साथै जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आव २०८०÷८१ को तथ्यांकअनुसार २ हजार २४ हजार ९३५ हेक्ट जमिनमा कोदोजन्य बालीको खेती भई ३ लाख ७३२ मे.टन उत्पादन भएको छ । जसअनुसार कोदोजन्य बालीको उत्पादकत्व प्रति हेक्टर १.३३ टन छ । महानिर्देशक सन्जेलका अनुसार कोदोजन्य बालीहरुमा उन्नत प्रविधिको प्रयोग, सिचाई, मलखादको व्यवस्था गर्न सकेमा कोदोजन्य बालीहरुको उत्पादन तथा उत्पादकत्व बढाउन सकिने प्रवल सम्भावना छ ।
भन्सार बिभागको तथ्याङ्क अनुसार गत आ.ब. २०८१÷८२ मा ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ टन कोदोजन्य उत्पादनको आयात भएको छ । सोही वर्ष ९४ लाख ७ हजार बराबरको ७० टन कोदोजन्य उत्पादनको निर्यात समेत भएको छ ।
त्यसकारण कोदोजन्य बालीहरुको आयात रोक्न उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने आवश्यकता रहेको छ ।
कोदोजन्य बालीहरु प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतका तत्वहरुको राम्रो स्रोत हुन् । पछिल्लो समय अस्वस्थकर खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगको तीब्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठुलो चुनौतिको रूपमा देखा पर्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ठम्याइ छ ।
यी समस्याहरुको संबोधनको लागि बहुआयामिक एवं बहुपक्षीय प्रयासहरू आवश्यक हुन्छ । तथापि, कोदोजन्य बाली उत्पादन र उपभोगमा वृद्धि मार्फत विद्यमान समस्या समाधानमा योगदान पुर्याउन सकिने देखिन्छ ।
प्रतिक्रिया