(Wednesday , 10 December,2025)

उखु किसान घर नपुग्दै दूध किसानले थाले आन्दोलन

mountainejournal.com

mountainejournal.com

काठमाडौं   । उखु किसानहरु घर नपुग्दै फेरि दूध उत्पादक किसानले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् । सरकारले माग नसुनेपछि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएर उखु किसान फर्केलगत्तै दूध किसान आन्दोलनमा उत्रिएका हुन् । 

दूधको बक्यौता नपाएपछि किसानहरुले आइतबार आन्दोलन सुरु गरेका हुन् । उनीहरुले दूधको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शन गरे । दुग्ध विकास संस्थान र निजी डेरीलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले प्रदर्शनसहित धर्ना दिएका हुन् । प्रदर्शनमा काठमाडौं उपत्यकाका साथै काभ्रे, नुवाकोट, धादिङ लगायत जिल्लाका किसानको सहभागिता थियो ।

महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख भेषराज अधिकारीले एक वर्षदेखिको साढे ३ अर्ब रुपैयाँ बक्यौता बाँकी रहेको हुँदा तत्काल भुक्तानीको माग गर्दै प्रदर्शन गरेको जानकारी दिए । किसानहरुले दूधको बक्यौता भुक्तानी गर्न भन्दै संस्थानलाई ज्ञापनपत्र पनि बुझाएका छन् । केन्द्रीय दुग्ध सहकारी संघ नेपालका अध्यक्ष अम्बर कुँवरका अनुसार गत साउनदेखि निजी डेरी र डीडीसीको गरी करिब साढे ३ अर्ब बक्यौता छ । डीडीसीको करिब ७६ करोड र अन्य सबै बाँकी निजी क्षेत्रको रहेको उनले जानकरी दिए ।

उनका अनुसार डीडीसीले पछिल्लो पटक ६–७ करोड भुक्तानी गरेको छ । आइतबारको आन्दोलनमा केन्द्रीय दुग्ध सहकारी संघ भने सहभागी नभएको उनले जानकारी दिए । दूधको भुक्तानीका लागि नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघसँग छलफल भइरहेको उनले बताए । निजी क्षेत्रले बढी दूध खरिद गर्ने भएकाले बक्यौता पनि बढी छ ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले पछिल्लो समय दुग्धजन्य वस्तु बजारमा खपत नहुँदा किसानको भुक्तानी समयमा गर्न नसकिएको जानकारी दिए । उनका अनुसार एसोसिएसन आवद्ध डेरीहरुले करिब ३० करोड दिन बाँकी छ ।

यसैगरी नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले दुई महिनाको करिब २ अर्ब किसानको भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरे । ‘दैनिक करिब १० लाख लिटर दूध खपत हुन्छ । प्रतिलिटर ७० रुपैयाँका दरले दुई महिनाको करिब दुई अर्ब भुक्तानी गर्न बाँकी छ । दूधजन्य वस्तु धेरै मौज्दात हुँदा किसानको भुक्तानी गर्न नसकिएको हो,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal