(Friday , 16 January,2026)

उखुको मूल्य प्रतिक्विन्टल ६२०

mountainejournal.com

mountainejournal.com

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेअनुसार सरकारले निर्णय गरेको छ । गत वर्षको मूल्यभन्दा प्रतिक्विन्टल ३५ रुपैयाँ बढाएर मन्त्रालयले हालै मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । त्यसअनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ६२० रुपैयाँ मुल्य निर्धारण गरेको हो । यस्तै सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने पनि निर्णय गरेको संचार मन्त्रि जगदिश खरेलले जानकारी दिए ।

सरकारले प्रत्येक वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । यस वर्षका लागि गत वर्षभन्दा प्रतिक्विन्टल ३५ रुपैयाँ बढाएर ६ सय २० रुपैयाँ निर्धारण गर्न मंसिर १७ मा मन्त्रिपरिषद्मा सिफारिस पठाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

मन्त्रालयले अध्ययन गरी उखुको लागत मूल्य प्रतिक्विन्टल ४ सय ३७ रुपैयाँ, ढुवानी ८१ रुपैयाँ र नाफा १ सय २ रुपैयाँ हुने गरी न्यूनतम समर्थन मूल्य ६ सय २० निर्धारणका लागि सिफारिस गरेको हो । मन्त्रालयले उखु उत्पादक किसान र उखु मिलहरूका प्रतिनिधिहरूसँग छलफल गरी लागत, ढुवानी र नाफा जोडेर उक्त मूल्य निर्धारण गर्न सिफारिस गरेको थियो ।

यस्तै सरकारका तर्फबाट किसानलाई उखुखेतीमा प्रोत्साहनका लागि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिन पनि सिफारिस गरिएको थियो । सरकारले दिने ७० रुपैयाँ अनुदान गत वर्ष बाँकी रहेको समेत मिलाउने गरी मन्त्रालयले मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको हो । यो सिफारिसअनुसार निर्णय भएकाले उखु किसानले प्रतिक्विन्टल ६ सय ९० रुपैयाँ पाउने छन् ।

गत आर्थिक वर्षको अन्तिममा सरकारले स्रोत अभाव भएको भन्दै किसानलाई दिँदै आएको ७० रुपैयाँ अनुदानबाट आधा अर्थात् ३५ रुपैयाँ कटौती गरेको थियो । उखु किसानले सरकारले दिने भनेको ७० रुपैयाँ अनुदान दिनुपर्ने माग गर्दै आएका थिए । गत वर्ष कृषि मन्त्रालयले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने प्रस्ताव गरे पनि सबै बालीलाई अनुदान दिन बजेट नपुग्दा ३५ रुपैयाँमा झारिएको थियो ।

सरकारले दिने अनुदान सधैँ किसानकै खातामा हाल्ने गरिएको छ । उखु मिलहरूले किसानलाई सरकारले दिएको अनुदान नदिएको गुनासो आएपछि २०७५ देखि सरकारले किसानकै खातामा पैसा हाल्न सुरु गरेको थियो । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उखु उत्पादन २ करोड १४ लाख क्विन्टल हाराहारी भएको अनुमान छ ।

गत आवमा सरकारले अघिल्लो वर्षभन्दा मूल्य २० रुपैयाँ वृद्धि गरी प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । गत वर्ष चिनी उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँका दरले उखु खरिद गर्ने निर्णय भएको थियो । सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिने भनेको थियो ।

किसानले अनुदानसहित पाउने मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ निर्धारण भएको थियो । त्यसअघिको वर्ष भने सरकारले अनुदानसहित प्रतिक्विन्टल उखुको मूल्य ६ सय १० रुपैयाँ निर्धारण गरेको थियो । यसमा उद्योगले दिने ५ सय ४० र सरकारी अनुदान ७० रुपैयाँ थियो । त्यसअघि आव २०७८–७९ मा ५ सय ९० र २०७७–७८ मा ५ सय ४४ रुपैयाँ मूल्य तोकिएको थियो

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal