(Wednesday , 10 December,2025)

बेमौसमी वर्षाले कृषि क्षेत्रमा पौने चार अर्बको क्षति

mountainejournal.com

mountainejournal.com

काठमाडौं  । गत असोज १७ देखि १९ गतेसम्म देशका विभिन्न भागमा परेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार देशभर कृषि क्षेत्रमा बेमौसमी वर्षाले ३ अर्ब ७६ करोड १२ लाख ५२ हजार रुपैयाँबराबरको क्षति गरेको हो ।

देशभर परेको बेमौसमी वर्षाको कारण कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षति मूल्यांकन र प्रारम्भिक तथ्यांक संकलनका लागि मन्त्रालयका सह सचिव जगनाथ तिवारीको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको थियो । उक्त अध्ययन समितिले तयार पारेको प्रतिवदेनले बेमौसमी वर्षाले पाँच वटा प्रदेशमा करिब १५ हजार ४९९ हेक्टर क्षेत्रफलमा लगाएको विभिन्न बाली मात्र करिब ३ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको आर्थिक क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

कृषि क्षेत्रमा ठूलो क्षति हुँदा धान, उखु, तरकारी र फलफूल उत्पादनमा करिब १ लाख २७ हजार ३८३ टन उत्पादन घट्ने अनुमान गरेको छ । प्रतिवदेनअनुसार पाँच क्षेत्रमा ३ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको बालीमा क्षति हुँदा मधेस प्रदेशमा मात्र सबैभन्दा बढी ३ अर्ब २२ करोड ४७ लाख रुपैयाँ क्षति भएको जनाएको छ ।

यस्तै, पशुपन्छी, मत्स्य तथा घाँस खेतीतर्फ १६ करोड १५ लाख, कृषि तथा पशुपन्छी पूर्वाधारतर्फ १ करोड ६ लाख रुपैयाँको क्षति भएको छ । यस्तै सरकारी कार्यालयतर्फ ५८ लाख, जमिन कटानतर्फ ३ करोड ७१ लाख र बिउविजनतर्फ २ करोड ८१ लाख बराबरको क्षति गरी ३ अर्ब ७६ करोड १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

यस्तै बेमौसमी वर्षाका कारण तरकारीमा सबैभन्दा बढी १ अर्ब २५ करोड ७१ लाख बराबरको क्षति पुगेको छ । यो कूल क्षतिको ३५.४५ प्रतिशत हो । अध्ययन प्रतिवदेनले सबैभन्दा बढी मधेस प्रदेशमा ३ अर्ब ३५ करोड ५५ लाख क्षति भएको छ । यस प्रदेशका आठै जिल्लामा रोपिएको धानबाली र क्षति हुनुका साथै तरकारी, फलफूल, उखु र पशुधनसमेत प्रभावित भएको अध्ययनले देखाएको छ ।

प्रतिवदेन अनुसार कोशी प्रदेशमा ३६ करोड ८३ लाख रुपैयाँ क्षति भएको छ । जसमा धान, तरकारी, अलैंची, अदुवा, केरा, आलु, चिया र कोदोबालीमा क्षति भएको छ । बागमतीमा २ करोड ४ लाख , गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको छ । यस्तै, कोशी, मधेश, बागमतीमा, गण्डकी र लुम्बिनी प्रदेशका किसानहरूको धानबाली, तरकारी, उखु र फलफूल बाली उत्पादनमा क्षति देखिएको जनाएको छ ।

वेमौसमी वर्षाको प्रभावका कारण यस वर्ष धानको उत्पादनमा गत वर्षको तुलनामा करिब २७ हजार ७५९ टन धान उत्पादनमा कमी आउने सक्ने अनुमान गरेको छ । प्रतिवदेन अनुसार मधेस प्रदेशमा करिब ९ हजार ३८१ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति भएको छ । यसबाट करिब १ लाख २० हजार ९७९ टन धान, तरकारी, फलफूल र उखुको उत्पादन नोक्सान भएको अनुमान गरिएको छ ।

यसका कारण कृषकले करिब ३ अर्ब २२ करोड ४७ लाख १९ हजार बराबरको आर्थिक क्षति व्यहोर्नु परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कोशी प्रदेशमा करिब १ हजार ३३९ हेक्टर क्षेत्रफलमा क्षति भएको र यस क्षेत्रबाट करिब ५ हजार ९८३ टन विभिन्न बालीहरूको उत्पादनमा कमी आउने जनाएको छ । जसबाट करिब २९ करोड ७८ लाख बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा तुलनात्मक रूपमा क्षति न्यून भएको जनाएको छ ।

यस प्रदेशमा बेमौसमी वर्षाको प्रभाव सीमित क्षेत्रफल र उत्पादनमा मात्र परेको छ । प्रतिवदेनअनुसार बेमौसमी वर्षाको कारण कुल १० हजार ८ सय ४० हेक्टर धानखेती गरिएको क्षेत्रफल प्रभावित भएको छ । करिब २७ हजार ७५९ टन धान उत्पादनमा कमी भई ८६ करोड ८२ लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । धानवाली खेती सबैभन्दा बढी क्षति नवलपुर जिल्लामा करिब ४ हजार ४८५ हेक्टर क्षेत्रफलमा भएको छ ।

सबैभन्दा कम चितवनमा ०.०६७ हेक्टर क्षेत्रफलमा भएको छ । त्यसैगरी उत्पादन क्षतिको दृष्टिले सबैभन्दा बढी क्षति रौतहटमा ७ हजार ९५२.४० टन भएको र सबैभन्दा कम चितवनमा ०.२५ टन मात्र रहेको पाइएको छ । धानको स्थानीय बजार मूल्यअनुसार आर्थिक नोक्सानी सबैभन्दा बढी रौतहटमा २३ करोड ८५ लाख बराबरको आर्थिक नोक्सानी भएको छ भने सबै भन्दा न्यून आर्थिक नोक्सानी तेह्रथुममा १ लाख १४ हजार मात्र भएको छ ।

रौतहट जिल्ला उत्पादन र आर्थिक दुवै दृष्टिले सर्वाधिक प्रभावित भएको अध्ययनले देखाएको छ । यस्तै चितवन जिल्ला क्षेत्रफल र उत्पादन दुवैमा न्यून प्रभावित भएको पाइएको छ । प्रतिवेदन अनुसार यस्तै ५६.५४ हेक्टर कोदो खेती गरिएको क्षेत्रफल भएको छ । करिब ६०.६७ टन कोदो उत्पादनमा ह्रास आएको र ५ लाख ३६ हजार आर्थिक नोक्सानी भएको छ । यसैगरी बेमौसमी वर्षाको कारण कुल १ हजार ३६१ हेक्टर तरकारी खेती गरिएको क्षेत्रफल प्रभावित भएको छ भने करिब १६ हजार १२० टन तरकारी उत्पादनमा क्षति भएको छ । करिब १ अर्ब २५ करोड ७१ लाख रुपैयाँ आर्थिक नोक्सानी भएको छ ।

यस्तै फलफूल बालीतर्फ वर्षाको कारण कुल १९४ हेक्टर फलफूल खेती गरिएको क्षेत्रफल प्रभावित भएको छ भने करिब २ हजार ९ सय ९९ टन फलफूल उत्पादनमा क्षति भएको अध्ययनले देखाएको छ । यसले ५६ करोड ८८ लाख आर्थिक नोक्सानी भएको जनाएको छ । यस्तै उखु बालीमा वर्षाको कारण कुल १ हजार ५७६ हेक्टर उखुखेती गरिएको क्षेत्रफलमा क्षति भएको छ । यस्तै करिब ७ लाख ७० हजार ४० टन उखु उत्पादनमा क्षति भएको र ७७ करोड ३० लाख ५८ हजार आर्थिक नोक्सानी भएको छ ।

अलैँची बालीमा वर्षाको कारण कुल ३५.३९ हेक्टर अलैँची खेती गरिएको क्षेत्रफलमा क्षति गरेको छ । करिब २४.४५ मेट्रिक टन अलैँची उत्पादनमा ह्रास आएको र ७७ लाख १५ हजार आर्थिक नोक्सानी भएको जनाएको छ । यसैगरी अदुवाबालीमा वर्षाको कारण कुल ४.५९ हेक्टर अदुवा खेती गरिएको क्षेत्रफलमा क्षति भएको छ भने करिब ८६.९२ टन अदुवा उत्पादनमा ह्रास आएको जनाएको छ । जसले ४५ लाख ७१ हजार बराबरको आर्थिक नोक्सानी भएको प्रतिवदेनमा उल्लेख छ ।

यस्तै आलुबालीमा वर्षाको कारण कुल ४.३४ हेक्टर आलुखेती गरिएको क्षेत्रफलमा क्षति भएको छ भने करिब ८६.९२ टन आलु उत्पादनमा कमी आएको छ । यसले ४५ लाख ७१ हजार आर्थिक नोक्सानी भएको छ । प्रतिवेदनअनुसार चिया तथा कफी वालीमा वर्षाको कारण कृषकहरूको कुल १४.७४ हेक्टर चिया तथा कफी खेती गरिएको क्षेत्रफलमा क्षति भएको छ भने करिब ४.५४ टन चिया तथा कफी उत्पादनमा कमी आई ६ लाख ८ हजार आर्थिक नोक्सानी भएको छ । दलहन बालीमा वर्षाको कारण कुल ८.६२ हेक्टर दलहन खेती गरिएको क्षेत्रफलमा क्षति गरेको छ ।

यसले ६.८५ टन दलहन उत्पादनमा कमी आएको छ भने ४ लाख ६ हजार आर्थिक नोक्सानी भएको अध्ययनले देखाएको छ । यस्तै वर्षाको कारण कुल ३२७.६९ हेक्टरमा खेती गरिएको अन्यवालीको क्षेत्रफल प्रभावित भएको छ भने करिब २ हजार ७७७.२७ टन अन्यवाली उत्पादनमा कमी आएको छ । यसले २८ करोड ९९ लाख आर्थिक नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी बेमौसमी वर्षाको कारण कुल १३१.७९ हेक्टरमा खेती गरिएको बिउको क्षेत्रफलमा प्रभावित भएको छ । करिब ३५५.९९ टन बीउ उत्पादनमा ह्रास आएको र २ करोड ८१ लाख आर्थिक नोक्सानी भएको जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal