(Wednesday , 05 August,2026)

कोदो माग बढ्यो, उत्पादन घट्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौं– कोदोको माग पछिल्ला वर्षमा बढ्दै गए पनि उत्पादन भने लगातार घटिरहेको छ । पौष्टिक गुणका कारण सहरी क्षेत्रमा कोदोको उपभोग बढे पनि गाउँघरमा खेती घट्दा उत्पादनमा गिरावट आएको हो । सरकारले धान, गहुँ र मकैपछि कोदोलाई प्रमुख खाद्यान्न बालीका रूपमा सूचीकृत गरेको छ । विगतमा गरिब परिवारको खाद्यान्न मानिने कोदो अहिले स्वास्थ्यप्रति सचेत तथा आर्थिक रूपमा सम्पन्न वर्गको रोजाइ बन्दै गएको छ ।

चामलभन्दा बढी पौष्टिक तत्व पाइने पुष्टि भएपछि यसको माग बढेको हो । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले मागसँगै उत्पादन बढ्न नसकेको देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा ३ लाख २६ हजार टन उत्पादन भएको कोदो पाँच वर्षपछि आव २०८१/८२ मा घटेर २ लाख ८४ हजार ३५२ टनमा सीमित भएको छ । पाँच वर्षको अवधिमा उत्पादन करिब ४२ हजार टनले घटेको हो ।

मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३ लाख ३९ हजार टन उत्पादन भएको कोदो आव २०७९/८० मा ३ लाख १० हजार टनमा झरेको थियो । आव २०८०/८१ मा उत्पादन करिब ३ लाख ७३२ टन रह्यो भने पछिल्लो आवमा थप घटेको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी केशव देवकोटाका अनुसार गाउँमा कोदो खेती गर्ने किसानको संख्या घट्दै जाँदा उत्पादनमा कमी आएको हो ।

उनका अनुसार सडक सञ्जाल विस्तारसँगै गाउँसम्म सहज रूपमा चामल पुग्न थालेपछि किसानले कोदो खेती छाड्दै गएका छन् । अन्य बालीको तुलनामा कोदोमा कम स्याहार हुने भएकाले यसको उत्पादकत्व पनि कम रहेको उनले बताए । हाल कोदोजन्य बालीको औसत उत्पादकत्व प्रतिहेक्टर १.३३ टन छ । देशको कुल खाद्य उत्पादनमा कोदोको योगदान ७.७ प्रतिशत रहेको छ भने कुल उत्पादनको करिब ९५ प्रतिशत पहाडी क्षेत्रमा हुन्छ । समुद्री सतहदेखि करिब ३ हजार १०० मिटर उचाइसम्म कोदो खेती गरिन्छ ।

देवकोटाका अनुसार सरकारले कोदो उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरे पनि खेती हुने जमिन र उत्पादन दुवै घटिरहेका छन् । यसको मुख्य कारण गाउँबाट बसाइँसराइ, खेतीयोग्य जमिन बाँझो रहनु तथा सडक विस्तारसँगै चामलको उपभोग बढ्नु हो । विगतमा कोदोको ढिँडो, रोटी, मदिरा तथा पशु आहाराका रूपमा व्यापक प्रयोग हुन्थ्यो । तर गाउँघरमा परम्परागत परिकार र घरेलु मदिराको प्रयोग घट्दै जाँदा कोदोको बजार पनि कमजोर भएको उनले बताए । स्थानीय उत्पादनले उचित मूल्य नपाउँदा किसान खेतीबाट विमुख भएको उनको भनाइ छ ।

‘पहिले कडा श्रम गर्ने समुदायको मुख्य खाना कोदोको ढिँडो थियो । चाडपर्व, पूजा र अतिथि सत्कारमा पनि कोदोको मदिरा प्रयोग हुन्थ्यो,’ देवकोटाले भने,‘अहिले सहरी क्षेत्रमा यसको माग बढे पनि गाउँमा उत्पादन भने घटिरहेको छ ।’ पोषणका दृष्टिले कोदो अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यसमा क्याल्सियम र फस्फोरस प्रशस्त पाइने भएकाले गर्भवती महिलाका लागि लाभदायक मानिन्छ । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, कब्जियतलगायत समस्यामा पनि कोदो उपयोगी हुने विभिन्न अध्ययनले देखाएका छन् ।

कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार कोदोमा चामल र मकैभन्दा ३५ गुणासम्म तथा गहुँभन्दा ८.८ गुणा बढी क्याल्सियम पाइन्छ । फलामको मात्रा पनि चामलभन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढी रहेको अध्ययनले देखाएको छ । १०० ग्राम कोदोमा औसत ७६.३ ग्राम कार्बोहाइड्रेट, ९.२ ग्राम प्रोटिन, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३६० मिलिग्राम क्याल्सियम, २५४ मिलिग्राम फस्फोरस, ७.४ मिलिग्राम फलाम तथा ३३३ क्यालोरी ऊर्जा पाइन्छ । दूधमा पाइने मिथियोनिनजस्ता आवश्यक एमिनो एसिडसमेत कोदोमा हुने भएकाले यसलाई उच्च पोषणयुक्त खाद्यान्न मानिन्छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal