(Tuesday , 14 July,2026)

अप्टिकल व्यवसायलाई व्यवस्थित बनाउन महानगरको प्रतिबद्धता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले अप्टिकल क्षेत्रलाई अन्य सामान्य व्यवसाय सरह नभई विशिष्ट र संवेदनशील स्वास्थ्य सेवाका रूपमा हेरिनुपर्ने बताएकी छिन् । दोस्रो राष्ट्रिय अप्टिकल दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले यो क्षेत्र उपभोक्तासँग प्रत्यक्ष जोडिएको र अत्यन्तै संवेदनशील भएकाले यसको प्रवद्र्धन र नियमनमा महानगरले विशेष ध्यान दिने बताएकी हुन् । 

उपप्रमुख डङ्गोलले हाल बालबालिकामा बढ्दो ’ड्राइ आई’ (आँखा सुख्खा हुने) समस्याप्रति गम्भीर चिन्ता व्यक्त गरिन् ।  पहिले सामान्यतया ४०–५० वर्षको उमेरपछि देखिने यस्तो समस्या अहिले सानै उमेरका बालबालिकामा देखिनु ’अलार्मिक सिचुएसन’ (डरलाग्दो स्थिति) भएको उनले उल्लेख गरिन् । बढ्दो ’स्क्रिन टाइम’ का कारण आँखाको स्वास्थ्यमा गम्भीर असर परिरहेको र धेरै विद्यार्थीहरूमा चस्मा लगाउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो । कतिपय अवस्थामा अभिभावकमा चेतना नहुँदा बालबालिकाले दृष्टि गुमाउनुपर्ने र शल्यक्रिया नै गर्नुपर्ने अवस्थासम्म पुगेको उनले बताइन् । 

काठमाडौँ महानगरपालिकाले आँखा स्वास्थ्यका लागि विभिन्न अस्पतालहरूसँगको सहकार्यमा विद्यालय तथा टोल–टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् । विशेषगरी ज्येष्ठ नागरिकका लागि मोतियाविन्दुको शल्यक्रिया र विद्यार्थीहरूको नियमित आँखा परीक्षणलाई महानगरले प्राथमिकतामा राखेको उनले स्पष्ट पारिन् । 

अप्टिकल व्यवसायीहरूले भोग्दै आएका नीतिगत समस्याका बारेमा चर्चा गर्दै डङ्गोलले भनिन्, “अप्टिकल व्यवसायलाई मोबाइल पसल जस्तै सामान्य श्रेणीमा राखेर दर्ता गर्ने प्रक्रियामा सुधार आवश्यक छ । यस्तो क्रिटिकल विषयलाई अरू सामग्रीसँग एउटै बास्केटमा राख्नु हुँदैन“। उनले यस क्षेत्रका समस्याहरूलाई कानुन निर्माण गर्ने तहसम्म पु¥याउन आफूले पहल गर्ने र ’अन–स्किल’ (अदक्ष) व्यक्तिहरूले यस क्षेत्रमा काम गर्दा प्रोफेसनलहरूलाई परिरहेको मर्का कम गर्न अनुगमनलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरिन् । नेपालको आँखा स्वास्थ्य सेवा विश्वभर नै ख्यातिप्राप्त रहेको चर्चा गर्दै उपप्रमुख डङ्गोलले उपभोक्ताको हित र स्वस्थ आँखा अभियानका लागि व्यवसायीहरूसँग सहकार्य गर्न महानगर सधैँ तयार रहेको बताइन् 

संघका प्रवक्ता मनोज धिमालले चस्माजस्तो जनस्वास्थ्यसँग सम्बन्धित संवेदनशील व्यवसायलाई मोबाइल, टिभी, घडीलगायतको सूचीमा राखिनु समग्र अप्टिकल क्षेत्रकै अपमान भएको बताए । साथै उनले अप्टिकल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नीतिगत सुधारसँगै अनुगमन र नियमनको आवश्यकतासमेत औंल्याए । अनुगमन र नियमन नहुँदा अप्टिकल व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढेको र व्यवसायीसँगै उपभोक्तासमेत मर्कामा परेको धिमालको भनाइ थियो ।

संघका सल्लाहकार तथा टेक्सास इन्टरनेसनल कलेजका प्रबन्ध निर्देशक जितेन्द्रकुमार बाखुले पनि अप्टिकल व्यवसाय संवेदनशील व्यवसाय भएकाले व्यवसायीले मुनाफामात्रै हेर्नु नहुने बताए । नेपालमा अप्टिकल व्यवसाय सञ्चालन गर्न आँखा स्वास्थ्य वा अप्टोमेट्रीसम्बन्धी प्राविधिक ज्ञान, तोकिएको शैक्षिक योग्यता र नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ अनुसार लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको छ । तर, लाइसेन्सबिना नै अप्टिकल व्यवसाय गर्नेहरू पनि धेरै रहेको बताइन्छ । 

अप्टिकल व्यवसायी संघ नेपालका अध्यक्ष उमेशकुमार तुलाधरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चिकित्सक, अप्टिकल तथा अप्टिकलजन्य मेडिकल सामग्री आयातकर्ता, अप्टिकल उद्योगीलगायतको सहभागिता रहेको थियो । सो अवसरमा संघले आँखा स्वास्थ्य र अप्टिकल क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वलाई प्रशंसापत्र पनि प्रदान गरेको थियो ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपाल सहकारी ऐन, २०४८ लागु भएपछि देशभर स्थापित सबै दुग्ध उत्पादक सहकारी संस्थाहरूको केन्द्रीय निकायको रूपमा स्थापित छाता संगठन हो । संघले देशका ६४ जिल्लामा रहेका १ हजार ७ सय भन्दाबढी दुग्ध उत्पादक सहकारी संस्थाहरू र ३७ वटा जिल्ला दुग्ध उत्पादक सहकारी संघहरूको प्रतिनिधित्व गर्दछ । एक घर एक सदस्यको आधारमा, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालमा ६ लाख घरपरिवार संघमा प्रत्यक्ष रूपमा आवद्ध छन् । वि.सं. २०४९ साल चैत्र २० गते (सहकारी दिवस) का दिन स्थापना  भएकाे थियाे । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal