काठमाडौं । सरकारले उखुको अनुदान रकम कटौती गरेको भन्दै विभिन्न जिल्लाबाट काठमाडौंमा विरोध गर्न आएका उखु किसान शनिबार घर फर्किएका छन् । राजधानीमा आफ्ना माग नसुनिएपछि किसानले भदौ २५ देखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने नयाँ रणनीति बनाएका छन् ।
गत आर्थिक वर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने सरकारले गरेको निर्णय यथावत् राख्नुपर्ने माग राख्दै उखु किसान भदौ ८ देखि काठमाडौंमा आन्दोलित थिए ।
सरकारले बेवास्ता गरेपछि शनिबार पत्रकार सम्मेलन गरी किसानहरुले भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अनिश्चितकालिन अवरुद्ध गर्ने घोषणा गरेका छन् । उखु उत्पादन महासंघका अध्यक्ष श्यामबाबु रायले सरकारसँग वार्तामा बसे पनि परिणाम नआएपछि दबाबस्वरुप राष्ट्रिय राजमार्ग ठप्प गर्ने घोषणासहित काठमाडौं छाडेर घर फर्किएको जानकारी दिए ।
अध्यक्ष रायका अनुसार काठमाडौंमा एक साताको लागि आन्दोलन गर्ने कार्यक्रम थियो । तर किसानहरु पनि बिरामी हुन थालेपछि राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने निर्णय गरेर सबै जिल्ला फर्केको उनले बताए । उनले भने, ‘शुक्रबार सरकारसँग भएको वार्ताबाट कुनै पनि परिणाम आएन । तर, सरकारले हाम्रो माग सम्बोधन नगरेसम्म आन्दोलन जारी नै राख्नेछौं ।’
वार्ताका क्रममा कृषिमन्त्री रामनाथ अधिकारीले अर्थ मन्त्रालयले बजेट नदिएको बताएको अध्यक्ष रायले जानकारी दिए । कृषि मन्त्रालयको वार्षिक बजेटमा उखु किसानका लागि दुई अर्ब अनुदान छुट्याइए अर्थ मन्त्रालयले बजेट रोकेको आरोप उनको छ ।
कृषि मन्त्रालयका अनुसार गत वर्षको बाँकी अनुदान रकम ७५ करोड ४९ लाख रुपैयाँ निकासा भएको छ । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यलयमार्फत किसानको बैंक खातामा भुक्तानी हुनेछ । यस्तै, गत असार २३ मा मन्त्रिपरिषद् बैठकले यस वर्ष उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । सोहीअनुसार नै किसानको खातामा रकम जानेछ ।
यसअघि उखु किसानले प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन स्वरुप पाउँदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानका लागि यही रकमको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको भए पनि ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।
प्रतिक्रिया