♦गोमा बिष्ट -काठमाडौ
यो कथा एक महिलाले लेखकसँग गरेको कुराकानीमा आधारित छ। उहाँले आफ्नो जीवनका पीडा सुनाउँदै गर्दा भन्नुभयो—“नानी, मेरा छोराछोरीले थाहा पाउलान् भन्ने डर छ। त्यसैले मेरो कुरा बाहिर ननिकाल्नु है। म बुढी मान्छे, पीडाको भारी बोकेर हिँडिरहेकी छु। तर यो भारी बिसाउने चौतारी कतै छैन।”
उहाँको अनुरोध र गोपनीयताको सम्मान गर्दै उहाँको पहिचान खुल्न सक्ने विवरणहरू गोप्य राखिएका छन्। प्रस्तुत लेख उहाँको जीवनभोगाइको एउटा अंश मात्र हो। उहाँले भोग्नुभएका सबै पीडा र अनकही कथा यहाँ समेटिएका छैनन्। उहाँको मौनताभित्र अझै धेरै नखुलाइएका कथा छन्।
एउटी एक्ली छोरीको जीवन, जसको पीडा घरको चार भित्ताभित्र अझै सुनुवाइको प्रतीक्षामा छ
म एक्ली छोरी हुँ।
मेरो बाले दुईवटा विवाह गर्नुभयो। दुई आमाबाट जन्मिएका सन्तानमध्ये छोरी भने म मात्रै भएँ। सायद त्यही भएर होला, सानैदेखि मेरो जीवनमा छोरी हुनुको अर्थभन्दा बढी जिम्मेवारी, डर र अभावको अर्थ थपिँदै गयो।
आज मेरो उमेर ढल्किएर साठीको हाराहारीमा पुग्यो। तर कहिलेकाहीँ पछाडि फर्केर हेर्दा लाग्छ—मैले साँच्चै जीवन बाँचेँ तम स्वतन्त्र छु रे ? तर मेरो रात अझै कैद छन् ।
पन्ध्र–सोह्र वर्षसम्मको बाल्यकाल त जसोतसो बाँचेँ होला। त्यसपछि सुरु भयो अर्को जीवन। दस जना छोराछोरी जन्माउँदाको पीडा, सासूको पीडा, श्रीमान्को पीडा, घरपरिवारको बोझ, समाजको डर—यी सबैको बीचमा कतै हराएँ म।
म पनि त मान्छे थिएँ नि!
मेरो पनि त मन थियो। मेरा पनि त रहर थिए। मलाई पनि त कसैले माया गरेर सोधोस् जस्तो लाग्थ्यो—“तिमीलाई कस्तो छरु तिमी थाकेकी त छैनौरु”
तर मेरो जीवनमा प्रश्नहरू कम थिए, सहनुपर्ने पीडाहरू धेरै।
दिनको उज्यालोमा घरमा कोही पाहुना आउँदा पनि मनमा डर लाग्ने। रात पर्न थालेपछि त झन् मन काँप्ने। रात किन पर्छरु रात पर्नासाथ किन फेरि उही डर, उही व्यवहार, उही मानसिक यातना सुरु हुन्छ?
मेरा लागि रात आराम गर्ने समय कहिल्यै बनेन। रात त दिनभरि दबाएर राखेका डरहरू फेरि ब्यूँझिने समय बन्यो।
म कहिलेकाहीँ सोच्थेँ—के यो नै वैवाहिक जीवन हारु के श्रीमती हुनु भनेको आफ्नो शरीर, आफ्नो मन र आफ्नो इच्छामाथिको अधिकार गुमाउनु हो ? के विवाहपछि एउटी महिलाले आफ्नो असहमति व्यक्त गर्ने अधिकार पनि गुमाउँछ?
मलाई थाहा छैन, मेरो पीडालाई कुन शब्दले पूरा बयान गर्न सक्छ।
यौनको भोक मेटाउन मात्रै श्रीमती चाहिने हो भने, श्रीमतीको मनको भोक कसले बुझ्न?
शंका, अविश्वास, मानसिक दबाब र सम्पत्तिको कुरा—यी सबैले घरलाई घर रहन दिएनन्। म कसैसँग सामान्य कुरा गर्दा पनि शंका। कोही घरमा आउँदा पनि शंका। आफ्नै घरमा बस्दा पनि मनमा डर।
कहिलेकाहीँ त लाग्छ, म घरमा होइन, कुनै अदृश्य अदालतमा उभिएकी छु। जहाँ हरेक दिन मैले आफू निर्दोष भएको प्रमाण दिनुपर्छ।
मलाई कसैले सोध्दैन—तिमीलाई के चाहिएको छ?
मलाई कसैले सोध्दैन—तिम्रो मन किन यति थाकेको छ?
मलाई कसैले सोध्दैन—तिमीलाई पनि आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न मन लाग्दैन?
म सहँदै गएँ।
सहँदा–सहँदै कहिले आफ्नो होश हराएँ, कहिले आफ्नो आवाज। कहिले आफूलाई नै चिन्न छोडेँ। कहिलेकाहीँ त मनमा यति धेरै पीडा जम्मा हुन्थ्यो कि कहाँ जाऊँ, कसलाई सुनाऊँ, कसले बुझिदेला भन्ने केही थाहा हुँदैनथ्यो।
तर संसारले के देख्यो ?
एउटी महिला।
एउटी आमा।
दस जना छोराछोरीकी जन्मदिने आमा।
घर सम्हाल्ने महिला।
श्रीमान्को साथमा जीवन बिताएकी महिला।
समाजले मेरो सहनशीलता देख्यो। तर मेरो सहनशीलताभित्र लुकेको चिच्याहट कसैले सुनेन।
मेरो मौनतालाई मेरो सहमति ठानियो। मेरो सहनशीलतालाई मेरो खुसी ठानियो। मेरो घरमा बसेको अवस्थालाई मेरो स्वतन्त्रता ठानियो।
आज मानिसहरू भन्छन—“महिलाहरू स्वतन्त्र भइसके। महिलाहरू अगाडि बढिसके। अब महिलाहरूलाई केको दुःख?”
म सोध्न चाहन्छु—
कहाँ आयो मेरो स्वतन्त्रतारु
के स्वतन्त्रता भनेको घरको चार भित्ताभित्र सास फेर्न पाउनु मात्रै हा?
के स्वतन्त्रता भनेको आफूलाई मन नपरेको व्यवहार सहेर पनि घर नछोड्नु हो ?
के स्वतन्त्रता भनेको रात पर्नासाथ मन डरले भरिनु, बिहान भएपछि फेरि सबै कुरा सामान्य भएको अभिनय गर्नु हो रु
के स्वतन्त्रता भनेको आफ्नो शरीरमाथि आफ्नो निर्णय नहुनु हो ?
के स्वतन्त्रता भनेको साठी वर्षको उमेरमा पनि आफ्नो जीवनको शान्ति खोज्न नसक्नु हा?
सरकार ठूला–ठूला भाषण गर्छ। महिला अधिकारका कुरा गर्छ। समानताका कुरा गर्छ। महिला सशक्तीकरणका कार्यक्रम गर्छ।
तर मेरो घरको ढोकाभित्र के भइरहेको छ, कसले हेर्छ?
मेरो रात किन असुरक्षित छ, कसले सोध्छ?
मेरो मन किन थाकेको छ, कसले बुझ्छ?
म जस्ता महिलाहरूका लागि न्याय कहाँ छ?
कानुनका किताबमा छरु भाषणका मञ्चमा छरु कि कार्यक्रमका ब्यानरमा मात्रै छ?
मलाई आज पनि कहिलेकाहीँ लाग्छ—मेरो सासको अन्तिम दिन चाँडै आइदिए हुन्थ्यो। यो बोझ, यो डर, यो निरन्तरको मानसिक पीडा बोकेर बाँच्नुभन्दा सबै कुरा सकिए हुन्थ्यो।
तर फेरि मेरा छोराछोरी सम्झिन्छु।
दस जना छोराछोरी जन्माएँ। आफ्नो दुःख लुकाएर उनीहरूलाई हुर्काएँ। आफूले नपाएका अवसर उनीहरूले पाऊन् भनेर शिक्षा दिएँ। उनीहरूको भविष्यका लागि आफ्नो जीवनको कति हिस्सा खर्च गरेँ, त्यसको हिसाब मसँग छैन।
आज उनीहरू पनि आफ्नै जीवनको संघर्षमा छन्। कोही संघर्ष गर्दैछन्, कोही दुःखसँग जुध्दैछन्। उनीहरूका आँखामा पनि आँसु देख्छु।
मलाई उनीहरूलाई दोष दिन मन लाग्दैन।
म त केवल सोच्छु—यदि मैले पनि स्वतन्त्र भएर पढ्न, काम गर्न, आफ्नो इच्छा अनुसार जीवन रोज्न पाएको भए, आज म कहाँ पुग्थेँ होलारु
सायद मेरो जीवन अर्कै हुन्थ्यो।
सायद मैले आफ्नो नाममा एउटा सानो घर बनाएकी हुन्थेँ।
सायद मैले आफ्नो मनले चाहेको काम गरेकी हुन्थेँ।
सायद म पनि कसैको डरबिना हाँसेकी हुन्थेँ।
सायद मेरो रात पनि अरू महिलाहरूको जस्तै सामान्य हुन्थ्यो—थकाइपछि निदाउने, बिहान उठेर नयाँ दिन सुरु गर्ने।
तर मेरो जीवनमा ‘सायद’ धेरै भए।
अवसर कम भए।
र मेरो आवाज त झन् कतै हरायो।
मलाई थाहा छ, मेरो उमेर ढल्किसक्यो। तर के उमेर ढल्किएपछि महिलाको पीडा सानो हुन्छ? के साठी वर्ष पुगेपछि उसलाई माया चाहिँदैन? सम्मान चाहिँदैन? आफ्नो निर्णय आफैँ गर्न पाउने अधिकार चाहिँदैन?
के वृद्ध हुँदैमा एउटी महिलाले आफ्नो जीवनको बाँकी समय पनि डरमै बिताउनुपर्ने हा?
म आज पनि एउटै कुरा चाहन्छु।
मलाई कसैले ठूलो घर दिनुपर्दैन। ठूलो सम्पत्ति दिनुपर्दैन। मलाई कसैले संसार जिताइदिनुपर्दैन।
मलाई केवल शान्तिसँग बाँच्न देऊ।
रात परेपछि डराउन नपरोस्।
आफ्नै घरमा बस्दा अपमानित हुन नपरोस्।
आफ्नो शरीर र मनमाथि आफ्नो अधिकार होस्।
आफ्नो कुरा राख्दा शंका र धम्की सहन नपरोस्।
मेरो बाँकी जीवन कम्तीमा मेरो आफ्नै होस्।
म एउटी महिला हुँ। म एउटी आमा हुँ। म कसैकी श्रीमती हुँ। तर यी सबै सम्बन्धभन्दा पहिले म एउटा मान्छे हुँ।
मेरो पनि मन छ।
मेरो पनि आत्मसम्मान छ।
मेरो पनि बाँच्ने अधिकार छ।
र मेरो जीवनको बाँकी समय कसैको यातनाको हिसाब तिर्नका लागि मात्रै होइन।
आज म संसारलाई एउटा प्रश्न छोड्न चाहन्छु—
महिला स्वतन्त्र भइसकी भन्छौ, तर मेरो रात अझै किन कैद छ?
मलाई स्वतन्त्रताको भाषण सुनाउनु अघि, मेरो घरभित्रको डर सुन।
मलाई सशक्तीकरणको नारा दिनुअघि, मेरो आवाज सुन।
मलाई सहनशीलताको उदाहरण बनाउनु अघि, मैले सहनुपरेको पीडा बुझ।
किनकि म जस्ता महिलाहरूलाई सधैँ सहन सिकाइयो। तर अब कसैले हामीलाई सुरक्षित भएर बाँच्न पनि सिकाओस्।
हामीलाई केवल बाँचिरहेको देखेर खुसी नमान।
हामीलाई सम्मानका साथ बाँच्न देऊ।
मलाई अझै पनि एउटा शान्त बिहान चाहिएको छ।
एउटा यस्तो रात चाहिएको छ, जहाँ म डरले होइन, ढुक्क भएर निदाउन सकूँ।
एउटा यस्तो जीवन चाहिएको छ, जहाँ मेरो उमेर होइन, मेरो मानवीय अधिकारको सम्मान होस्।
म स्वतन्त्र छु रे!
तर मेरो मनले आज पनि सोधिरहेछ—
“यदि म साँच्चै स्वतन्त्र छु भने, आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न किन पाउँदिनँ?”
प्रतिक्रिया