काटमाडौँ । सरकारले विगतमा दिदै आएको उखुको अनुदान कटौती गरेपछि किसानले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् । सरकारले बजेट अभाव भएको कारण देखाउँदै असार २३ मा उखु किसानालाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा नै कटौती गरी ३५ रुपैयाँमा झारेको थियो । उखु किसानले दिदै आएको अनुदान कटौती गर्न माग गर्दै आइतबारबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा विभिन्न आठ जिल्ला किसान काठमाडौँ आएर आइतबार गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डलामा केही समय धर्ना सकेको थिए ।
किसानको सरकारसँग प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग रहेको छ । उखु उत्पादन महासंघका अध्यक्ष श्यामबाबु रायले सरकारले किसानलाई दिदै आएको अनुदान कटौती गरेपछि विभिन्न आठ जिल्लाका किसान काठमाडौँमा आन्दोलन गर्ने आएको जानकारी दिए । यस अघि सरकारले आफै प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिइने निर्णय अहिले बजेटका बाहना किसानको अनुदान कटौती गर्न नपाइने उनको भनाइ छ ।
अध्यक्ष रायले भने,‘ सरकारले उखु किसानको अनुदानको रकम कटौती गर्दा असार २६ गते नै अर्थमन्त्री विष्णप्रसद पौडेल लगायत सम्बन्धित मन्त्रालयका मन्त्री जिल्ला सांसद सबैलाई भेटेर अनुदान कटौती गर्ने माग राख्दै ज्ञापन पत्र समेत बुझाएको हो । उहाँहरुले हाम्रो कुरा सुन्न भएन ।
किसानको अनुदान कटौती नगर्ने पटक पटक सरकारलाई आग्रह गर्दा नसुने पछि आन्दोलन गर्ने पर्ने बाध्यता हो ।
प्रधानमन्त्रीलाई समेत भेटेर ज्ञापन पत्र बुझाउन जोज्दा उहाँले समय नदिएपछि हामीले गत साउन १० जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई हाम्रा माग सम्बोधनका लागि ज्ञापन पत्र बुझाएका थियौँ । माग सम्बोधन नभए भदौ ८ देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने सहि समयमा सरकारलाई जानकारी गराएको अध्यक्ष रायले बताए ।
अध्यक्ष रायका अनुसार चिनी उद्योगले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेका छन् । सरकारले दिनु पर्ने अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ दिएको छैन् । सरकारले अझै पनि किसानका माग सम्बोधन नगरे आन्दोलन जारी हुनेछ । सरकारले जसरी भएपनि किसानलाई अनुदान रकम तत्काल लिनुपर्छन उखु किसानको माग छ ।
अध्यक्ष रायले भने,‘ तत्कालका लागि भदौ १५ सम्म आन्दोलन कार्यक्रम घोषणा गरेको छ । यदि सरकारले हाम्रो माग आजै पूरा गर्छ भने हामी आन्दोलन आज नै फिर्ता लिन तयार छौँ । यदि हाम्रो माग पूरा भएन भने हामी अर्काे चरणको कार्यक्रम घोषणा गर्छौं । जबसम्म माग पूरा हुँदैन त्यो दिनसम्म आन्दोलन जारी नै राख्ने उनले जानकारी दिए ।
उनका अनुसार ८ जिल्लाबाट आन्दोलनमा सहभागी हुन किसान आएका छन् कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार सरकार बजेट अभाव भएको भन्दै गत असार २३ को मन्त्रीपरिषद्को निर्णयबाट उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ दिने निर्णय भएको थियो । गत वर्ष उखु उत्पादन २ करोड १८ लाख क्विन्टल भएको हो । प्रतिक्विन्टल ३५ रुपैयाँका दरले प्रतिक्विन्टल उखुको अनुदान दिइदा ७८ करोड १३ लाख बजेट अनुदान दिन बाँकी छ । समयमा मन्त्रीपरिषद्बाट निर्णय नहुँदा गत आर्थिक वर्षको अनुदान दिन ढिलो भएको कृषि मन्त्रालयका प्रवक्ता डा. जानुका पण्डितले जानकारी दिइन् ।
मन्त्रीपरिषद्ले गरेको निर्णय अनुसार नै मन्त्रालयले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले किसानलाई अनुदान दिन प्रक्रिया अघि बढि रहेको उनले बताइन् । उनका अनुसार सबै प्रक्रिया पुरा गरी अनुदान रकम स्वीकृतका लागि अर्थ मन्त्रालय पठाउन कृषि मन्त्रालय काम गरी रहेको छ । अर्थबाट स्वीकृत भएपछि सबै कोलेनिकाबाट सबै कृषकको खातामा अनुदान रकम जानेछ ।
सरकारले गत आर्थिक वर्षका लागि सरकारले गत मंसिरमा उखुको समर्थन मूल्य २० रुपैयाँ वृद्धि गरी प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । तर, पछि असार २३ मा बजेट अभाव भएको भन्दै ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेको हो । आर्थिक वर्ष २०८०÷८१ मा सरकारले २०७९÷८० भन्दा प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर उखुको मूल्य तोकेको थियो । अघिल्लो वर्ष चिनी उद्योगले प्रतिक्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्ने निर्णय भएको थियो । सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिएको थियो ।
किसानले अनुदानसहित पाउने मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण भएको थियो । आर्थिक वर्ष २०७९÷८० मा सरकारले अनुदानसहित प्रतिक्विन्टल उखुको मूल्य ६१० रुपैयाँ निर्धारण गरेको थियो । यसमा उद्योगले दिने ५४० र सरकारी अनुदान ७० रुपैयाँ थियो । त्यसअघि आव २०७८–७९ मा ५९० र २०७७–७८ मा ५४४ रुपैयाँ मूल्य तोकिएको थियो ।
प्रतिक्रिया