(Wednesday , 10 December,2025)

घट्दै छ माटोको उर्वरा शक्ति

mountainejournal.com

mountainejournal.com

काठमाडौं । मुलुकको खेती योग्य जमिनको उर्वरा शक्ति  ह्रास हुँदै गएको छ ।  पछिल्लो समय गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुँदा खेती योग्य जमिनको उर्वरा शक्तिमा ह्रास आएको कृषि विभागको एक अध्ययनले देखिएको छ । रासायनिक मलको असन्तुलित प्रयोग र विषादीको प्रयोग बढ्दै माटोको उर्वरा  शक्तिमा ह्रास आएको विभागको  निष्कर्ष  छ ।   

विभागका अनुसार  नेपालको खेतियोग्य जमिनको ५०÷५५ प्रतिशत माटो अम्लिय प्रकृतिको रहेको छ । यस्तै, ४÷५ प्रतिशत क्षारिय र ४०÷४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको पाइएको छ । धेरै जसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ । 

विभागको महानिर्देशक डा. रेवती रमण पौडेलले देशका विभिन्न भागबाट लिइएको माटोको नमूना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०÷४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको जानकारी दिए । यसैगरी उनले  ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा अधिक रहेको पाइएको बताए । विभागले गरेको अध्ययन अनुसार  प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३÷५ प्रतिशत हुनु आवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा १ दशमलव ९६ प्रतिशतबाट ४ प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ । 

नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशतमा नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको छ । फस्फोरस तत्व तुलनात्मक रूपमा राम्रो पाइएको छ जसमा ४२ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ३१ प्रतिशतमा अधिक रहेको छ । त्यसैगरी पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ५० प्रतिशतमा न्यून, २६ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा अधिक पाईएको छ । बाली विरूवाको लागि आवश्यक हुने शुक्ष्म खाद्यतत्वहरू मोलिब्डेनम, र बोरनको मात्रा पनि न्यून देखिएको छ ।

माटोको पोषक तत्व न्यून हुँदै जानु मुलुका लागि चिन्ताको विषय हो । माटोको उर्वरापन ह्रास हुँदै जाने क्रमनिरन्तर जारी रहेमा यसको प्रत्यक्ष असर उत्पादनमा पर्छ । कृषि उत्पादनमा कमी आई समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने खतरा छ ।  सरकारी निकायले गरेको अध्यनले नै माटोको उर्वरा शक्ति घटेको तथ्याङ्क आउँदा उत्पादनमा पर्न जोखिम प्रति राज्यका सरोकारवाला निकाय सचेत हुनु अति आवश्यक देखिएको अध्ययनको  निष्कर्ष छ । 
विभागले गरेको अध्ययन माटोमा ह्रास आउनुका मुख्य कारण  गोबर÷कम्पोस्ट मल, हरियो मल आदिको प्रयोग न्यून हुनु हो । बाली चक्रका आधारमा खेती नगरिनु र बाली चक्रमा कोसे बालीको प्रयोग घट्दै जाँदा पनि माटोको उर्वरा शक्ति कम भएको हो । त्यस्तै, अवैज्ञानिक तरिकाबाट सघन खेती, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनबाट पूर्ण रूपमा हटाउनु वा जलाइनु, भूक्षय निरन्तर भइरहँदा पनि उर्वरा शक्ति घटेको हो । त्यस्तै, औद्योगिक प्रदूषणको मात्रा बढ्नु, कृषि औजार÷यन्त्रको अधिकतम प्रयोगले माटो कडा बन्दै जानु हो ।  

माटोको गुणस्तर सुधार गर्नु पर्ने कदमहरू 

समय, समयमा आफ्नो खेत, बारीको माटोको परीक्षण गराउने, प्रयोगशालाले परीक्षणको आधारमा सिफारिस गरेको मात्रामा कृषि चुन (माटो धेरै अम्लिय भएमा),  प्राङ्गारिक पदार्थ र अन्य पदार्थहरुको प्रयोग गरी उपयुक्त प्रविधि अनुसार माटो व्यवस्थापन गर्ने,प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थको उपयोग जस्तै राम्ररी पाकेको गोबर मल, कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग गर्नुपर्ने छ । 

यस्तै,  रासायनिक मलको सन्तुलित प्रयोग, बाली र माटोको अवस्था अनुसारको सिफारिस मात्रामा प्रयोग गर्नु पर्ने ,बालीचक्रको आधारमा खेती गरिनु पर्ने र बालीचक्रमा कोशेबालीको प्रयोग गर्नु पर्ने, माटो अनुसार उपयुक्त बालीहरु छनोट गरी वैज्ञानिक तरिकाबाट व्यवस्थित सघन खेती गरिनु पर्ने, बाली काटिसकेपछि बाँकी रहेका अवशेषहरू जमिनमा मिसाउने,भू–क्षय रोक्ने प्रविधि अपनाउनु पर्ने र पानीको निकास गरी खेत, बारीमा बाढी बग्न नदिने,औद्योगिक प्रदूषणको मात्रा न्यूनिकरण गर्नु पर्ने र नकुहिने फोहोरहरू नफाल्ने, कृषि औजार÷यन्त्रको वैज्ञानिक प्रयोग गर्ने र अधिक प्रयोग घटाई माटो कडा हुन नदिने विभागको सुझाव छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal