(Wednesday , 10 December,2025)

कोदोको महत्व बढ्यो,बढेन उत्पादन

mountainejournal.com

mountainejournal.com

 काठमाडौँ । सरकारले खाद्यान्न बाली मध्येको मुख्य चौथो स्थानमा राखेको कोदो पछिल्लो समय उपभोगको महत्व बढ्दै गएको छ । विगतमा यो वस्तु गरिबी परिवारले खाने अन्नको रुपमा परिचित थियो । अहिले मानिसहरुमा चामल भन्दा कोदोमा धेरै पौष्टिक खाद्यतत्व पाइने थाहा पाएपछि यसको महत्व बढ्न थालेको हो । 

गरिबी परिवारले खाने अन्न अहिले अहिले आर्थिक रुपमा सम्पन्न व्यक्तिले खाने अन्नका रुपमा परिणत भएको छ । साथै यसको सहरमा खपत पनि बढ्दै गएको देखिन्छ । विडम्बना ! तर, अन्य बाली भन्दा कोदो उत्पादन सहज र सुक्का ठाउँमा पनि उत्पादन गर्न सकिने भएता पनि यता आन्तरिक उत्पादन भने बढ्न सकेको देखिन्छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको विगत पाँच वर्षको तथ्यांक हेर्दा कोदो बालीको महत्व बढ्दै गएको भएता पनि उत्पादन भने बढेको देखिन्दैन । कोदोको उत्पादनको तथ्यांक हेर्दा विगतको भन्दा पछिल्लो समय घटेको छ । 

मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७।७८ मा ३ लाख २६ हजार टन उत्पादन भएको थियो । पछिल्लो पाँच वर्ष अर्थात आव २०८१÷८२ मा आइपुग्दा कोदोको उत्पादन घटेर ३ लाख १५ हजार टनमा झरेको छ । अघिल्लो पाँच वर्षको उत्पादनसँग तुलना गर्दा यो ११ हजार टन उत्पादन कम हो । यसैगरी आव २०७८।७९ मा ३ लाख ३९ हजार टन कोदो उत्पादन भएको थियो । यस्तै २०७९।८० मा घटेर ३ लाख १० हजार टनमा सिमित भयो । यस्तै आव २०८०।८१ मा फेरी उत्पादन घटेर ३ लाख टनमा झर्याे ।   

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका केशव देबकोटा गाउँमा कोदो उत्पादन गर्ने मानिस नै नभएपछि कोदोको महत्व बढ्दै गएता आन्तरिक  उत्पादन घट्दै गएको बताउँछन् । पछिल्लो समय गाउँमा गाउँमा सडक पुग्दा मानिसहरुले कोदो उत्पादन गर्ने छोडेर सहज रुपमा चामल किनेर खान पाइने भएपछि उत्पादन घट्न थालेको उनको भनाइ छ । 

स्थानीय बाली कोदोको उत्पादन बढाउन राज्यले कृषकलाई प्रोत्साहित गर्दै गएको भएता पनि अहिले उत्पादन र जमिन दुबै घट्दै गएको उनले जानकारी दिए । मुख्य कोदोको उत्पादन र जमिन घट्नुको कारण गाउँ घरमा मानिसको बसोबास घट्नु र सबै ठाउँमा सडक पूर्वाधार जोडिदा चामल बढी उपभोग गर्ने बानी उनको भनाइ छ । 

केन्द्रका प्रमुख देवकोटाका अनुसार विगतमा कोदोको  हिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग हुथ्ये । अहिले गाउँमा रोटी रक्सी समेत बनाउन छोड्दा कृषकले उत्पादन गरेको कोदोले मूल्य नपाउने भएपछि उत्पादन पनि घटेको हो । सडक पुगेपछि मानिसहरुले गाउँको कोदोबाट बनेको रक्सी भन्दा सस्तो सानो सिसीको रक्सी खान थाले सोही कारण पनि गाउँमा कोदोको उत्पादन छैन । सहरमा त्यसको महत्व बढ्दा खपत बढेको छ । आयात बढेको छ उत्पादन छैन ।

उनले भने,‘ विगतमा कोदोको हिँडो कडा परिश्रम गर्ने श्रमजीवीहरूको पहिलो रोजाईको खाना हो । चाडपर्व तथा पुजाआजामा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग हुन्थ्यो । खेती गर्न सजिलो हुनुका साथै कोदो ज्यादै पौष्टिक खाद्यान्न हो ।’अहिले गाउँमा मानिस नै बस्ने नभएपछि उत्पादन स्वतह घट्न गएको उनको भनाइ छ । उनका अनुसार कोदोका धेरै फाइदा छन् । कोदो क्याल्सियम र फस्फोरसको धनी स्रोत भएकाले गर्भवती महिलाहरूका लागि कोदो उत्तम भोजन मानिन्छ ।  

कोदो मधुमेह रोगीहरूका लागि पनि फाइदाजनक हुन्छ । कोदोको पौष्टिक महत्व उच्च भएकाले यसबाट बन्ने विभिन्न परिकारहरू होटेल तथा रेस्टुराँहरूमा लोकप्रिय भइरहेका छन् । कोदोबाट निकालिएको इन्जाइमको रस छालाबाट रौं हटाउन प्रयोग गरिन्छ । मधुमेह, रक्तचाप, यूरिक एसिड, दम, रुघा, खोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडापखालाका रोगीहरूको लागि पनि यो अति राम्रो मानिन्छ । 

यसैगरी कृषि जैविक विविधता संरक्षण केन्द्रले सार्वजनिक गरेको एक अध्ययन अनुसार कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.८ गुणा बढी क्याल्सियम पाइन्छ भने चामलभन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढी फलाम पाइन्छ । १०० ग्राम कोदोबाट औसतमा ७६.३ ग्राम कार्वोहाइड्रेट, ९.२ ग्राम प्रोटीन, २.२ ग्राम खरानी, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३६० मिलिग्राम क्याल्सियम, २५४ मिलिग्राम फस्फोरस, ७.४ मिलिग्राम फलाम, र ३३३ क्यालोरी उर्जा प्राप्त हुन्छ ।

कोदोमा पाइने प्रोटिनमा दूधमा जस्तै मिथायोनिन र सल्फरयुक्त एमिनो एसिड पाइन्छन् । कोदोका परिकारहरू एकल रुपमा उपभोग नगरी अन्य खाद्य परिकार वा तरकारीहरूसँग उपभोग गर्नु उचित मानिन्छ । यसैगरी कोदो नेपालमा कोदो उत्पादन हुने क्षेत्रफल साढे २ लाख हेक्टर छ ।

वर्षमा करिब ३ लाख टन कोदो उत्पादन हुन्छ । तराईमा कम र पहाडी तथा मध्य पहाडी जिल्लामा बढी कोदो उत्पादन हुन्छ । देशको कुल खाद्य उत्पादनको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ । ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुन्द्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ ।

  
 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal