काठमाडौं । जलवायु मैत्री स्मार्ट गाईपालान अभ्यासले डेरी क्षेत्र बदलिएको छ । हेफर इन्टरनेशनलले नेपालद्वारा एजिसिओ एग्रीकल्चर फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले सार्वजनिक गरेको एक अध्ययन अनुसार जलवायु अनुकूलित दुग्ध खेती निकै प्रभावकारी भएको देखाएको हो । अध्ययन अनुसार जलवायुमैत्री तथा दिगो डेरी फार्मिङ्ग अभ्यासले नेपाली किसानहरूको जीवनस्तर उकास्नुका महत्वपूर्ण योगदान पुराएको अध्ययनले देखिएको छ ।
प्रतिवेदन अनुसार, नेपालमा भैंसीको दुध उत्पादन सन् २०१९ मा ७ लाख ९५ हजार ५ सय ३० मेट्रिक टन रहेकोमा सन् २०२३ मा बढेर १३ लाख ९९ हजार ७ सय ९७ मेट्रिक टन पुगेको छ । यसैगरी, गाईको दुध उत्पादन सन् २०१९ मा १२ लाख १४ हजार ४६ मेट्रिक टनबाट बढेर सन् २०२३ मा १३ लाख ७२ हजार ९ सय ५ मेट्रिक टन पुगेको छ । समग्रमा, सन् २०१९ मा २० लाख ९ हजार ५ सय ७६ मेट्रिक टन रहेको कुल दुध उत्पादन सन् २०२३ मा २७ लाख ७२ हजार ७ सय २ मेट्रिक टन पुगेको छ । जुन करिब ३८ प्रतिशत उल्लेखनीय वृद्धि हो ।
यस्तै उत्पादन वृद्धिका साथै, प्रति पशु दुध उत्पादकत्वमा पनि ठूलो सुधार देखिएको छ । भैंसीको उत्पादकत्व प्रति वर्ष ८८० केजीबाट बढेर १ हजार ६४४ केजी पुगेको छ भने गाईको ७३७ केजीबाट बढेर १ हजार ३२५ केजी पुगेको छ । यो सुधारले पशुहरूको स्वास्थ्य, आहार व्यवस्थापन र नस्ल सुधारमा गरिएको लगानीको सकारात्मक परिणाम स्पष्ट पारेको अध्ययनले देखाएको छ ।
दुग्धको जिडिपीमा योगदान
डेरी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनमा ३ देखि ४ प्रतिशत योगदान पुराएको छ । ५ लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दछ । हेफरको पहलमा व्यवसायिक कारोबारमा उल्लेख्य वृद्धि भएको छ । जसअनुसार आर्थिक वर्ष २०२० मा ५.७ अर्ब रहेकोमा आर्थिक वर्ष २०२४ मा १९.५ अर्ब पुगेको छ । सहकारी कोष पनि २.३ अर्बबाट ५.९ अर्ब पुगेको छ । यस कार्यमा ४ लाखभन्दा बढी परिवार, १८ हजारभन्दा बढी स्वयं सहायता समूह र ३ सय भन्दा बढी महिला नेतृत्वका सहकारीहरू संलग्न छन् ।
दाना र चारामा आत्मनिर्भरता
१६ हजार हेक्टरभन्दा बढी जमिनमा ३६ भन्दा बढी प्रजातिका डालेघाँस तथा उन्नत घाँसको खेती विस्तार गरिएको छ । यसले पशुहरूका लागि पोषणयुक्त दानाको उपलब्धता सुनिश्चित गरी उनीहरूको उत्पादन क्षमता बढाएको छ । सुधारिएको पशु व्यवस्थापन र नश्ल सुधार २ लाखभन्दा बढी पशु गोठहरू निर्माण तथा सुधार गरिएका छन । जसले पशुको स्वास्थ्य र आराममा सुधार ल्याएको छ । स्टाल फिडिङ (गोठमै दाना खुवाउने) प्रणालीको प्रवद्र्धन, उन्नत नश्ल सुधार (डेरी गाई र बाख्रा दुवैमा), तथा सुधारिएको आहार र स्वास्थ्य व्यवस्थापन जस्ता कार्यहरूले दुध उत्पादनमा सीधा सकारात्मक प्रभाव पारेको छ ।
जलवायुमैत्री प्रविधिहरूको प्रयोग
युरिया मोलासेस मिनरल ब्लकको प्रयोगले पशुहरूमा मिथेन उत्सर्जन घटाउनुका साथै दुध उत्पादन बढाउन सहयोग गरेको छ । बायो–फर्मेंटेड तथा पोषक तत्वयुक्त परालको प्रयोग, साइलेज मेसिनको व्यवस्था, र दुध संकलन केन्द्रहरूमा सौर्य ऊर्जाबाट चल्ने पानी तताउने हीटर जडानजस्ता प्रविधिहरूले दिगोपनलाई बढावा दिएका छन् । मिथेन उत्सर्जन न्यूनीकरण अध्ययन प्रतिवेदन अनुसार पशुहरूको आहारा व्यवस्थापनमा सुधार गरी इन्टेरिक मिथेन उत्सर्जन घटाउनमा परियोजनाले ध्यान केन्द्रित गरेको छ । युरिया मोलासेस मिनरल ब्लक जस्ता जलवायु–मैत्री प्रविधिहरूको प्रयोग बढाइएको छ । जसले मिथेन उत्सर्जन घटाउन मद्दत गर्छ ।
यसैगरी बायोग्यास प्रविधिको विस्तार १८ हजारभन्दा बढी बायोग्यास प्लान्टहरू स्थापना गरिएका छन् । यसले पशुजन्य फोहोरलाई स्वच्छ ऊर्जामा परिणत गरी प्रति परिवार मासिक करिब २ हजार रुपैयाँ (एक एलपी ग्यास सिलिन्डर बराबर) बचत गर्न मद्दत गरेको छ र ग्रामीण स्वास्थ्यमा पनि सुधार ल्याएको छ ।
फोहोर व्यवस्थापन र हरित ऊर्जा
पशुको फोहोरलाई बायोग्यास जस्ता हरित ऊर्जाको स्रोतको रूपमा पुनः प्रयोग गर्न सक्रिय रूपमा प्रोत्साहन गरिएको छ । १८ हजार भन्दा बढी बायोग्यास प्रणालीहरू जडान गरिएका छन् । यसबाट प्रति घरधुरी प्रति महिना करिब २ हजार रुपैयाँ बचत भएको छ । दुग्ध संकलन गर्ने सहकारीहरूमा आठवटा सोलार वाटर हिटर जडान गरिएका छन् । जसले भाँडाहरू र संकलन क्षेत्रहरू सफा गर्न मद्दत गर्छन्
क्षमता अभिवृद्धि र ज्ञान हस्तान्तरण
किसानहरू र अग्रपंक्तिका विस्तार कार्यकर्ताहरूलाई असल पशुपालन अभ्यास र जलवायुमैत्री डेरी फार्मिंग सम्बन्धी तालिमहरू प्रदान गरिएका छन् । यसका अतिरिक्त, नेपाल कृषि अनुसन्धान परिषद, अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान, कृषि तथा वन विश्वविद्यालय लगायतका प्राविधिक निकायहरूसँगको साझेदारीले अनुसन्धान र ज्ञानको आदानप्रदानमा टेवा पुगेको छ ।
यस परियोजनाले विभिन्न पहलहरूमार्फत ७५ हजार बराबर कार्बन सञ्चय गर्न योगदान पुर्याएको अध्ययनले देखिाएको छ । यस्तै यसमा १६ हजार हेक्टरभन्दा बढी जमिनमा ३६ भन्दा बढी प्रजातिका घाँसका रुख र चारा खेतीको प्रवद्र्धन समावेश छ ।
प्रतिक्रिया