(Sunday , 30 August,2026)

भोटेकोशी बाढी

शनिबार बेलुकासम्म ६७५ शव फेला

mountainejournal.com

mountainejournal.com

काठमाडौं । भोटेकोशी बाढी गएको चौथो दिन शनिबार पनि सरकारले दिनभर खोजी, उद्धार र राहतलाई निरन्तरता दिएको छ । शनिबार बेलुका ९ बजेसम्म प्राप्त विवरणअनुसार ६७५ शव फेला परेका छन् । करिब २५ सय मानिस अझै सम्पर्कविहीन छन् । यसैगरी ७ हजार ५१४ जनाको उद्धार गरिएको छ ।

सम्पर्कविहीनमध्ये जलविद्युत आयोजनाको सुरुङमा मात्र ९३३ जना छन् । मकवानपुरका ६५, नुवाकोटका ११५, रसुवाका ५६२, विदेशी नागरिक ५८९ जना सम्पर्कविहीन छन् । विदेशी पर्यटकसँग घुम्न गएका नेपाली १२७ छन् भने प्रहरी, सेना, भन्सार र अध्यागमन कार्यालयका १०४ जना रहेका छन् । लाङटाङ निकुञ्जका ३ जना पनि सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २१९ जना उपचार र केही डिस्चार्ज गरिएको छ । प्रभावित क्षेत्रमा १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले बाढी प्रभावित क्षेत्रबाट शनिबार साँझसम्म ७ हजार ५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सुरक्षित स्थानमा पुर्‍याएको छ । जसमध्ये विभिन्न जलविद्युत आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ । उद्धारमा नेपाली सेनासहित भारतीय र चिनियाँ विज्ञहरु सेनासँगको समन्वयमा खटिएका छन् । प्रभावित क्षेत्रमा १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भएका छन् ।

राहतको रुपमा सरकारले रसुवा र नुवाकोटमा १–१ करोड रुपैयाँ र धादिङमा ५० लाख रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ ।

राहत सामग्रीको रुपमा ३७ ट्रक खाद्य र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हेलिकप्टरबाट ७ वटा उडान गरी खाद्य र गैरखाद्य सामग्री पठाइएको हो । त्यस्तै, सञ्चार सेटहरु पनि पठाइएको छ । पीडितका लागि काठमाडौंका विभिन्न चार स्थानमा राहत सामग्री संकलन गरी हवाई तथा स्थलमार्गबाट नुवाकोटको मैथिल ब्यारेक र रसुवाको उत्तरगया पुर्‍याइएको छ । त्यहाँबाट धादिङको बैरेनी र रसुवाको धुन्चे हुँदै जिल्ला प्रशासन कार्यालयको टोलीले प्रभावित क्षेत्रमा वितरण गरिरहेको छ । बाढीका कारण अवरुद्ध भएका नेपाल टेलिकमका ३८ र एनसेलका २७ बिटिएस टावरमध्ये हालसम्म क्रमशः ९० र ७१ वटा टावर पुनः सञ्चालनमा आइसकेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब जम्मा
प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत हालसम्म स्वदेश तथा विदेशबाट ५ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र थप १८ लाख ८ हजार अमेरिकी डलर जम्मा भएको छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । सरकारले सम्भावित वित्तीय ठगीबाट बच्न आधिकारिक क्युआर कोड र कोषको नाममा मात्र सहयोग गर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सहायता र पूर्वाधार पुनर्स्थापना
विपद् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय निकाय तथा मित्रराष्ट्रबाट सहयोग प्राप्त हुने क्रम जारी छ । एसियाली विकास बैंक (एडीबी) बाट ५ मिलियन अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख डलर, अस्ट्रेलियाबाट १ मिलियन डलर र स्विट्जरल्यान्डबाट १ मिलियन स्विस फ्रयांक प्रतिबद्धता आएको छ । भौतिक तथा मानवीय सहयोगमा भारतबाट ५७.५ टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ । भारत र चीनबाट २–२ हजार शव व्यवस्थापन ब्याग प्राप्त भएको छ भने चीनसँग ३० वटा बेलीब्रिज माग गरिएको छ ।

पहिचान नभएका शव व्यवस्थापन शुरु
विपद्का कारण रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा र नवलपरासीका विभिन्न स्थानमा हालसम्म ६७५ वटा शव फेला परेका छन् । प्राप्त शवहरूलाई ‘एयर टाइट ब्याग’ मा राखेर ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । परिवारले पहिचान गरेका शव सम्बन्धित आफन्तलाई बुझाइँदैछ भने पहिचान हुन नसकेका शवको डिएनए र आवश्यक विवरण सुरक्षित राखेर सरकार आफैँले व्यवस्थापन गर्ने भएको छ । सरकारले शव व्यवस्थापनका विषयमा कुनै पनि भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।

विस्थापित भएका ३५ सय जनालाई अस्थायी आवास
प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रसुवामा ३, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ । यी शिविरहरूका लागि संघीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको जनाएको छ । त्यसको लागि नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रहरू समेत परिचालित छन् । बाढीबाट विस्थापित करिब ३ हजार ५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक-सामुदायिक भवनहरूमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ ।

२६१ विदेशी पर्यटकको सुरक्षित उद्धार
भोटेकोशी नदीमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूबाट विदेशी नागरिकको उद्धार कार्य तीव्र पारिएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको अद्यावधिक तथ्यांकअनुसार हालसम्म विभिन्न देशका २६१ जना विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ । ३२० जना अझै सम्पर्कविहीन रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा उद्धार तथा राहत कार्य निरन्तर जारी राखेका छन् ।

पर्यटक प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामा सबैभन्दा बढी भारतीय नागरिक रहेका छन् । उद्धार गरिएका पर्यटकमा भारतका १६७, चीनका ४०, युक्रेनका ८ र अमेरिकाका ३ जना छन् । अन्य देशका नागरिकमा बेल्जियम, बुल्गेरिया, जर्मनी, इटाली, माल्टा, ओमान, पोर्चुगल, रुस, स्पेन, स्विट्जरल्याण्ड र टर्कीका नागरिक छन् । त्यस्तै, बाँकी २१ जनाको परिचय खुल्न बाँकी रहेको छ । बेपत्ता विदेशी नागरिकको खोजी र समन्वयका लागि परराष्ट्र मन्त्रालयमा छुट्टै आपतकालीन नियन्त्रण कक्ष स्थापना गरिएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal