(Thursday , 05 March,2026)

गुणस्तरहीन र दूषित खाद्यवस्तु बेच्ने ६२ उद्योगमाथि मुद्दा

mountainejournal.com

mountainejournal.com

काठमाडौं । सरकारले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योगी र व्यवसायीहरूमाथि कारबाही गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालुु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा न्यून गुणस्तर, दूषित र लेबल नभएका खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने ६२ वटा उद्योग र व्यवसायी विरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले सार्वजनिक गरेको अर्ध–वार्षिक प्रगति प्रतिवेदनअनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभर गरिएका अनुगमन र नमुुना संकलनका आधारमा ती उद्योगहरू विरुद्ध विभिन्न जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतहरूमा मुद्दा चलाइएको हो । मुद्दा दायर गरिएका क्षेत्र र वस्तुहरूका कुल ६२ मुद्दामध्ये सबैभन्दा बढी न्यून गुणस्तरका खाद्य पदार्थसँग सम्बन्धित ३४ वटा रहेका छन् ।

यस्तै, २० वटा मुद्दा दूषित खाद्य पदार्थ उत्पादन गरेको कसुुरमा चलाइएका छन् भने ४ वटा लेबलसम्बन्धी र ४ वटा ऐन विपरीतका छन् । वस्तुगत आधारमा हेर्दा, सबैभन्दा बढी गुलियो पदार्थ (मिठाई आदि) सँग सम्बन्धित २० वटा मुद्दा दर्ता भएका छन् । यसपछि तेल तथा घिउजन्य पदार्थका १३ वटा, खाद्यान्न तथा दलहनका ९ वटा, प्रशोधित पिउने पानीका ५ वटा, दूध तथा दुग्ध पदार्थका ६ वटा र फलफूल तथा सागपातका ४ वटा मुद्दा रहेका छन् । साथै मसला, चिया/कफी र नुुनसँग सम्बन्धित उद्योगहरूलाई पनि कानुनी दायरामा ल्याइएको विभागले जनाएको छ ।

अनुगमन र प्रयोगशाला परीक्षणको नतिजा विभाग र यसका मातहतका ४३ वटा कार्यालयहरूले ६ महिनाको अवधिमा ५ हजार ९ सय ६ पटक खाद्य र दाना उद्योग, होटल, रेस्टुरेन्ट तथा बजारको निरीक्षण गरेका थिए । यस क्रममा संकलन गरिएका १ हजार ४ सय ५२ वटा नमुुनाहरूमध्ये ९ सय ९९ वटाको विश्लेषण गर्दा २६ वटा नमुुना (२.६ प्रतिशत) प्रतिकूल वा मापदण्ड विपरीत पाइएको थियो । परीक्षण गरिएका दूध, पानी, तेल, मसला र खाद्यान्नका नमुुनाहरूमा कैफियत देखिएपछि ती उपर थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

२९ लाखको अखाद्य वस्तु नष्ट
खाद्य विभागका अनुसार, बजार अनुगमन र नियमनका क्रममा कैफियत देखिएका करिब २९ लाख ४ हजार रुपैयाँबराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । जफत गरिएका वस्तुहरूमा उपभोग्य मिति समाप्त भएका पेय पदार्थ, मिठाइ, तेल, मसला र कृत्रिम रंग मिसाइएका खाद्य वस्तुहरू रहेका छन् । ६ महिनाको अवधिमा मापदण्ड नपुगेका २ सय २९ वटा खाद्य कन्साइनमेन्टहरूको आयात अनुमति अस्वीकृत गरिएको छ ।

त्यस्तै, नाकाहरूमा ३४ हजार ८ सय ५५ वटा तरकारी र फलफूलको नमुुना परीक्षण गर्दा १९ वटामा विषादीको मात्रा बढी पाइएको थियो । आन्तरिक बजारमा गरिएको ३ हजार ६ सय १०८ परीक्षणमध्ये काठमाडौंको सीतापाइलामा संकलन गरिएको रायोको सागको नमुुनामा मात्र विषादीको अवशेष मापदण्डभन्दा बढी भेटिएको प्रतिवेदनमा उल्लेख छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम यी सामग्रीहरू बजारबाट हटाउन लगाइएको हो । नाकामा कडाइ र विषादी परीक्षण आयात–निर्यात नियमनतर्फ पनि विभागले सक्रियता देखाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal