भोटेकोशी बाढी प्रभावीत क्षेत्र
काठमाडौँ । रसुवाको रसुवागढी सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीका कारण सिर्जित विपद्मा नेपाल आयल निगमले खोज, उद्धार र राहतका लागि ३८२ ग्यास सिलिण्डर र ४० हजार इन्धन सहयोग गरेको छ । बाढीका कारण भएको धनजनको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै निगमले प्रभावितहरुको सहयोगका लागि इन्धन र खाना पकाउने ग्यासको उपलब्ध हो ।
सरकारको निकायहरूको निर्देशन र समन्वयमा विपद्कै दिनदेखि निगमले उद्धार र राहत कार्यमा निरन्तर सहयोग पु¥याउँदै आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा संलग्न हेलिकप्टरहरुको सहज उडानका लागि निगमले विशेष व्यवस्था मिलाएको छ । नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सैनिक ब्यारेकबाट रिफ्युलिङ सेवा उपलब्ध गराई भदौ १३ गतेसम्ममा कुल ४० हजार ८ सय ४० लिटर हवाई इन्धन आपूर्ति गरेको छ । भदौ १० गते ट्याङ्करमार्फत १२ हजार लिटर, भदौ ११ गते ट्याङ्करमार्फत ९ हजार लिटर र हेलिकप्टरमार्फत १ हजार ८ सय ४० लिटर हवाई इन्धन पठाइएको थियो ।
त्यसैगरी, भदौ १२ र १३ गते दैनिक ९–९ हजार लिटर हवाई इन्धन उपलब्ध गराइएको छ र यो सेवा हाल नियमित रूपमा सञ्चालन भइरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । प्रवक्ता ठाकुरका अनुसार निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत सो क्षेत्रमा हाल सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई भदौ १३ गतेसम्ममा ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको छ ।
सार्वजनिक बिदाका दिनमा समेत पम्पहरू खुला राखी पेट्रोल र डिजेलको बिक्री वितरणलाई नियमित र सहज बनाइएको प्रवक्ता ठाकुरले जानकारी दिए । प्रवक्ता ठाकुरका अनुसार बाढीका कारण विस्थापित भई विभिन्न अस्थायी आश्रयस्थलहरूमा बसिरहेका प्रभावित नागरिकहरूका लागि निगमले ग्यास आपूर्तिमा समेत सहजीकरण गरेको छ । भदौ १० गते निगमको समन्वयमा बालाजुस्थित नेपाल ग्यास उद्योग प्रा.लि. मार्फत नुवाकोटका बाढीपीडितका लागि २३२ थान भरी ग्यास सिलिण्डर पठाइएको छ ।
यसैगरी, नुवाकोट र रसुवा जिल्लाका अन्य प्रभावितहरूका लागि एलपी ग्यास उद्योग संघ नेपालसँगको समन्वयमा भदौ १० र १३ गते गरी थप १५० थान भरी ग्यास सिलिण्डर राहत स्वरूप पठाइएको छ । राष्ट्रिय विपद् तथा अप्ठ्यारो परिस्थितिहरूमा सदैव आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि यस्ता सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया