(Wednesday , 10 December,2025)

कोदो आयातमा ११ महिनामा ७१ करोड ६ वर्षमा ४ अर्ब रुपैयाँ बाहिरियो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । पाखा बारीमा सजिलै उत्पादन गर्ने सकिने विगतमा हेपिएको राष्ट्रिय बाली मध्येको चौथो स्थानमा रहेको कोदोको पछिल्लो समय महत्व बढ्दै छ । कोदोको महत्व बढ्दै गएपछि सरकारले पनि उक्तबालीलाई महत्वदिदै प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ । 
विगतमा हेपिएको गरिबले खाने अन्न भनेर चिनिएको कोदो उत्पादन र उपभोग महत्व बढ्दै जाँदा उत्पादन होइन आयात बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १४ हजार ३ सय ५५ टनको कोदो आयात भएको छ ।  
पछिल्लो छ वर्षमा ४ अर्ब २३ कारोड ९० लाख ३५ हजार रुपैयाँबराबरको १ लाख ९ हजार १९३ टन कोदो आयात भएको छ । 

सरकारले मुख्य खाद्यान्न बालीमा चौथो स्थान (धान, गहुँ, मकै र कोदो) मा कोदोलाई राखेको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो छ वर्षम ४ अर्ब २३ कारोड ९० लाख ३५ हजार रुपैयाँबराबरको १ लाख ९ हजार १९३ टन कोदो आयात भएको हो । विभागका अनुसार आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा महिनामा मात्र ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १४ हजार ३ सय ५५ टनको कोदो आयात भएको छ ।  

विभागका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ७५ करोड ४४ लाखको कोदो आयात भएको थियो । आर्थिक वर्ष २०७९–८० मा ७३ करोड २० लाखको कोदो आयात भएको थियो । पछिल्लो समय सहरी क्षेत्रमा कोदो उपभोग गर्ने बढ्दै गएका कारण आयात बढेको कृषि मन्त्रालयका बरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।  

रेग्मीका अनुसार विगतमा कोदोप्रति मानिसहरुको धारणा फरक थियो । अहिले राम्रो हुँदै गएको छ । यसका कारण पनि कोदोको खपत बढेको हो । पछिल्लो समय कोदोको खपत र आयात बढेछ । आन्तरिक स्थानिय उत्पादन नहुँदा भन्दा व्यवसायीहरुलाई गाउँघरको कोदो सहरमा ल्याएर विक्री गर्न भन्दा आयात गर्न सहज हुने हुँदा आयात बढेको उनको भनाइ छ ।  पहाडी क्षेत्रमा कोदोको उत्पादन धेरै हुने तर बजारमा नपुग्ने उनले बताए । कोदोको उत्पादन  ३ लाख टन भन्दा बढी हुने गरेको उनले जानकारी दिए । 

रेग्मीका अनुसार आन्तरिक उत्पादन बढाउन पछिल्लो समय सरकारले विभिन्न कार्यक्रम गरिरहेको छ । रैथाने बालीको उत्पादन वृद्धिका लागि स्थानीय तहमा किसानलाई प्रोत्साहित गर्न अनुदान कार्यक्रम समेत सञ्चालन गरेका छन् । अघिल्लो वर्ष भन्दा उत्पादन पनि बढेको छ । उत्पादन भएको कोदो सहरमा ल्याउन समस्या छ । व्यापारीलाई आयात गर्ने सहज हुनेहुँदा स्थानीय कोदो विक्री सहरमा पुग्दैन ।  

स्वास्थ्यका लागि कोदो धेरै उपयुक्त मानिएपनि राम्रो मूल्य नपाउने हुँदा कोदो उत्पादनमा कृषक खासै उत्साहित नभएको कृषक समूह महासंघ नेपालका पुर्व अध्यक्ष तथा खाद्यका लागि कृषि अभियन्ता उद्धव अधिकारीले बताए । आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन गर्न सरकारले कोदोको लागतअनुसार मूल्य निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, किसानले उत्पादन गरेको कोदो बजारमा बिक्री नहुँदा सरकारले नै खरिद गर्नुपर्ने उनले बताए । कोदो उत्पादन सजिलै देशभर नै भए पनि सही मूल्य नपाउँदा किसानले आवश्यकताभन्दा बढी उत्पादन नगर्ने अधिकारी बताउँछन् ।‘अन्य बालीभन्दा कोदो भण्डार गर्न पनि सहज हुने हुँदा सरकारले चामलजस्तै खाद्य सुरक्षाको भण्डारण गरेर राख्नुपर्छ,’ उनले भने, ‘विगतमा धेरैजस्तो रक्सी बनाउन बढी प्रयोग हुने भए पनि आजभोलि खाद्यान्नको रुपमा पनि उपभोग बढेको छ ।’

कृषि मन्त्रालयका अनुसार नेपालमा कोदो उत्पादन हुने क्षेत्रफल साढे २ लाख हेक्टर छ । वर्षमा करिब ३ लाख टन कोदो उत्पादन हुन्छ । तराईमा कम र पहाडी तथा मध्य पहाडी जिल्लामा बढी कोदो उत्पादन हुन्छ । देशको कुल खाद्य उत्पादनको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ । ९५ प्रतिशत कोदो पहाडमा उत्पादन हुन्छ । समुन्द्र सतहबाट ३१ सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाइन्छ ।
राष्ट्रिय कोदो दिवस

सरकारले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय हो । यस अघि कृषि अभियन्ताहरुले साउन १५ गतेलाई अन्तर्राष्ट्रिय कोदो दिवस मनाउदै आएका थिए ।  २०७७ सालबाट यो दिवस मनाउन थालिएको हो । कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न दिवस मनाउन थालिएको सरोकारवालाहरुको भनाइ छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal