(Wednesday , 10 December,2025)

धान खरिदमा खाद्यको लक्ष्य अधुरै

mountainejournal.com

mountainejournal.com

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष १ लाख २० हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले करिब तीन  महिना विभिन्न जिल्लाबाट यो परिमाणमा धान खरिद गरेको हो । यो वर्ष कम्पनीले धान खरिदका लागि २ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको छ भने ७३ हजार ६ सय २० टन धान खरिद गर्ने लक्ष्य लिएको छ । पुस २० सम्म विभिन्न जिल्लाबाट १ लाख २० हजार क्विन्टल धान खरिद भएको कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अनन्तराज पौडेलले जानकारी दिए ।

उनका अनुसार कम्पनीले सुदूरपश्चिम प्रदेशबाट कात्तिक २१ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो । कात्तिक २१ देखि पुस २० सम्ममा १ लाख २० हजार क्विन्टल धान खरिद भएको उनले बताए । फागुन पहिलो हप्तासम्म कम्पनीले धान खरिद कार्यक्रमलाई निरन्तरता दिनेछ । सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा धेरै व्यवसायीले दिएको हुँदा झापा, मोरङ र रुपन्देहीमा कम्पनीले अहिले धान खरिद गर्न सकेको छैन । खरिदका लागि पहल भइरहेको पौडेलले जानकारी दिए ।

सरकारले चालु आवका लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ मूल्य निर्धारण गरेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ तोकिएको छ । प्रमुख पौडेलले भने, ‘ठूलो धान मिल भएको क्षेत्रमा किसानले सरकारको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल १५० रुपैयाँ बढी पाएपछि व्यापारीलाई बिक्री गरे । कम्पनीले कैलाली–कञ्चपुरबाट राम्रै धान खरिद गरेको छ, तर पूर्व क्षेत्रमा खरिद गर्न सकेको छैन । अहिलेसम्मको अवस्था हेर्दा कम्पनीले यो वर्ष पनि लिएको लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ ।

’ कम्पनीले ७ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको भए पनि अन्तिमसम्ममा करिब ३ लाख क्विन्टल खरिद हुने उनको भनाइ छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ र मोटा धानको ३ हजार १ सय ९८ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । गत वर्ष पनि सरकारले निर्धारण गरेको मूल्यभन्दा व्यापारीले धेरै दिएका थिए । यही कारण कम्पनीले धान खरिद गर्न सकेको थिएन । यस पटक पनि सोही समस्या दोहोरिएको छ ।

खरिद व्यवस्थापन शाखा प्रमुख पौडेलका अनुसार यो वर्ष २४ जिल्लामा धान खरिद गर्ने कम्पनीको योजना छ । कैलाली र कञ्चपुरमा धान खरिद अन्तिम चरणमा छ । केही जिल्लामा सुरु भएको छ भने मोरङ, झापा र रुपन्देहीमा खरिद नै हुन सकेको छैन । कम्पनीले धनगढीमा ३५ हजार क्विन्टल धान खरिद गरेको छ भने नेपालगञ्जमा २५ हजार क्विन्टल, महेन्द्रनगरमा ३ हजार २ सय क्विन्टल, जनकपुरमा ३५ हजार क्विन्टल र राजपुरमा ३८ हजार क्विन्टन खरिद गरेको छ ।

दाङमा १६ हजार क्विन्टल र पोखरामा १० क्विन्टल खरिद भएको छ । किसानलाई व्यापारीले बढी मूल्य दिएपछि आफ्नो सहजताअनुसार धान बिक्री गरिरहेको प्रमुख पौडेलले बताए । उनले भने, ‘गत वर्ष सरकारले सहकारीलाई धान खरिदका लागि केही अनुदान दिएको हुँदा किसानबाट संकलन गरी सहकारीले खाद्य कम्पनीलाई धान बिक्री गरेका थिए । यो वर्ष अनुदान नदिएको हुँदा सहकारीले धान नल्याउँदा संकलनमा केही कमी देखिएको हो । यद्यपि, कम्पनीले आफ्नो योजनाअनुसार धान खरिद गरिरहेको छ ।’

यो वर्ष पहिलो पटक कम्पनीले पोखराबाट जेठोबूढो बासमती धान १० क्विन्टल खरिद गरेको छ । यो धान धेरै उत्पादन हुँदैन, किसानले आफ्नो लागि मात्र लगाउँछन् । व्यापारीले किसानलाई प्रतिकिलो ९५ रुपैयाँ दिइरहेकोमा कम्पनीले १०० रुपैयाँमा यो धान खरिद गरेको पौडेलले बताए ।

गत वर्ष कम्पनीले १ अर्ब ७४ हजार बजेटमा ५० हजार २ सय टन धान खरिद गर्ने लक्ष्य लिएकोमा करिब ४ हजार ५ सय टनमात्र खरिद गर्न सकेको थियो । यो वर्ष खरिदको परिमाण र बजेट दुवै बढाइएको छ । कम्पनीले गत वर्षको तुलनामा धान खरिद गर्ने लक्ष्य २३ हजार ४ सय २० टन बढाएको छ भने बजेट पनि ९१ करोड रुपैयाँ बढी छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal