(Wednesday , 10 December,2025)

किसान–२ परियोजनाबाट २ लाख ७० हजार किसान लाभान्वित

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । यूएसएआईडीको किसान– २ परियोजनाबाट २ लाख ७० हजार किसान लाभान्वित भएका छन् । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोगको सहयोगमा २०१७ जुलाईमा यो परियोजना सञ्चालन भएको थियो । २०१७ जुलाईदेखि २०२४ जुलाईसम्म किसान २ परियोजनाले ७३ प्रतिशत महिला र ६३ प्रतिशत सीमान्तकृत समूहका गरी २ लाख ७० हजारभन्दा बढी किसानहरुलाई सहयोग गरेको परियोजना प्रमुख प्रवीण वैद्यले जानकारी दिए ।

२०१७ जुलाईदेखि सञ्चालन भएको कृषि क्षेत्रको प्रवर्द्धन गर्न यूएसएआईडीको किसान– २ परियोजना सम्पन्न कार्यक्रममा उनले परियोजनाबाट सरकार र निजी क्षेत्रबीचको बलियो साझेदारीले नेपालका २५ जिल्लामा कृषि उत्पादकत्व र बिक्रीमा उल्लेखनीय वृद्धि भएको बताए । परियोजनाका प्रमुख वैद्यका अनुसार कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आय वृद्धि भएको छ ।

यो परियोजनाले १७७ फर्महरूसँग साझेदारी गरी लगभग ६ सय कृषि सल्लाहकार, किसानहरुलाई बजार र वित्तमा पहुँच पाउन र थप प्रतिस्पर्धी बन्न मद्दत पुर्‍याउनुका साथै ३५ हजारभन्दा बढी कृषक परिवारलाई सिँचाइ प्रणाली उपलब्ध गराएको छ । यसको सहयोगले उत्पादन १३९ प्रतिशतले बढाउन र ४७ करोड ६० लाख अमेरिकी डलरबराबरको कृषिजन्य उत्पादन बिक्री गर्न मद्दत गरेको वैद्यको भनाइ छ ।

परियोजना प्रमुख वैद्यका अनुसार किसान २ परियोजना सञ्चालन हुँदा तरकारीको उत्पादन १७६ प्रतिशत वृद्धि भएको छ । यस्तै, मकै ११५ प्रतिशत र प्रतिहेक्टरमा ४.२१ टन, दालमा ८८ प्रतिशत र उत्पादन प्रतिहेक्टर १.०३ टन एवं धान ५० प्रतिशत अर्थात प्रतिहेक्टरमा ५.२५ टन उत्पादन वृद्धि भएको वैद्यको भनाइ छ । जलवायुका दृष्टिले उपयुक्त कृषि अभ्यासहरू र नयाँ डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै यूएसएआईडीले किसानहरूलाई जलवायु परिवर्तनका प्रभावहरूको राम्रोसँग सामना गर्नसक्ने गरी सशक्त बनाएको उनले जानकारी दिए ।

अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली किसानहरूलाई उनीहरूको आय वृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरूको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्य सुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपालको कृषि सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा गौरवान्वित भएको बताइन् ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले यो परियोजनाले राइस मिल मोडेल र मेज एग्रिगेसन मोडेल प्रस्तुत गरेको बताइन् । यसबाट मिलवाला र संकलक किसानलाई सहयोग गर्न र उचित मूल्यमा उत्पादन खरिद गर्न मद्दत गर्ने उनको भनाइ थियो । मन्त्री साहले भनिन्, ‘राइस मिल मोडेलको सफलताका कारण यसलाई सरकारी निकायहरूले अपनाएका छन् ।’

किसान २ ले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍याउँदै संयुक्त क्षेत्र समीक्षामा यो मोडालिटीले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले सरकारले अहिले दीर्घकालीन प्रयोगका लागि समीक्षा संयन्त्रलाई संस्थागत गरिरहेको बताइन् । मन्त्री साहले यसले कृषिमा निजी क्षेत्रको भूमिका विस्तार गर्न, लगानी आकर्षित गर्न सहयोग पुग्ने बताइन् ।

त्यसैगरी कृषि उत्पादन तथा आर्थिक समृद्धि बढाउन मद्दत गर्ने उनको भनाइ थियो । परियोजनाका अनुसार सन् २०११ देखि अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले ८ लाखभन्दा बढी नेपाली किसानहरूलाई कृषि उत्पादकत्वमा सुधार र बिक्री वृद्धिमार्फत आय बढाउन मद्दत गर्न १८ करोड १० लाख अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal