(Wednesday , 10 December,2025)

फागुनसम्म चामल आयात घट्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । मुलुकभित्र प्रत्येक वर्षजसो बढ्दै आएको चामल आयात यस वर्ष ४२ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा आएको चामल गत आवको आयातसँग तुलना गर्दा ४२ प्रतिशतले घटेको हो । विभागका अनुसार यो वर्षको साउनदेखि फागुनसम्म १५ अर्ब रुपैयाँबराबरको चामल आयात गरिएको छ ।

गत वर्ष फागुनसम्ममा २६ अर्ब रुपैयाँको चामल आयात भएको थियो । यो वर्ष गतभन्दा ११ अर्ब रुपैयाँले कमको चामल खरिद गरिएको छ । यसलाई प्रतिशतमा हेर्दा ४२.३० प्रतिशतले कमी हुन आउँछ । यो वर्ष कुल चामल आयातको परिमाण पनि घटेको छ । गत वर्ष ५ लाख ७५ हजार टन चामल आयात गरिएको थियो । यो वर्ष घटेर २ लाख ९० हजार टनमा झरेको छ ।

गत आवमा भन्दा यो वर्ष २ लाख ८५ हजार टन चामल कम आएको हो । यो वर्ष चामल आयात झन्डै आधाले कमी आउनुमा विभिन्न कारण रहेको बताइन्छ । नेपालमा मुख्य गरी भारतीय चामल आउने गरेको छ । भारतबाट आउने कुल चामलको परिमाणमध्ये सबैभन्दा धेरै मसिनो र केही महँगो खालको चामल छ । भारतले गत वर्ष नेपालमा आयात हुने किसिमको चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतमा धान उत्पादनमा कमी आएको र आन्तरिक माग धान्न नसक्ने अवस्था आएपछि निकासीमा प्रतिबन्ध लगाइएको थियो । यसको सीधा असर नेपालमा परेको हो । वर्षौंदेखि चामलको व्यापार गर्ने व्यवसायीहरूका अनुसार भारतले चामल निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा चोरीपैठारी भएर चामल आएको हो । भन्सार बिन्दुबाट चामल आउन नसक्ने अवस्थामा खुला सीमाको फाइदा उठाएर चोरीपैठारी भएर चामल आएको व्यवसायीहरूको भनाइ छ ।

यही कारण सरकारी तथ्यांकमा चामल आयातको परिमाण कमी देखिएको छ । भारतले चामल निकासीमा प्रतिबन्ध लगाएको र वैध आयातमा करिब आधाले कमी आउँदा पनि नेपाली बजारमा चामलको कहिल्यै अभाव सिर्जना भएको थिएन । भारतीय नीतिलाई देखाएर केही समय व्यापारीहरूले चामलको मूल्य भने बढाएका थिए । अभाव कहिल्यै देखाइएको थिएन ।

कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी चामल आयातमा कमी हुनुमा नेपालीहरूको खानपानमा आएको परिवर्तन, युवाहरूको विदेश पलायन र चामलको मूल्य वृद्धिलाई कारण मान्छन् । तर, रेग्मीले देखाएका कारणलाई मान्ने हो भने एकै वर्षमा ४२ प्रतिशतले चामल आयात घट्न सक्दैन । नेपालीहरूले एकै वर्षमा व्यापक रूपमा चामल खान छोडेको देखिँदैन ।

त्यस्तै युवा विदेश पलायनको तथ्यांक पनि गत वर्षभन्दा अहिले बढेको छैन । रेग्मीले भनेजस्तै यो वर्ष चामलको मूल्य पनि अकासिएको छैन । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा केही समय चामलको मूल्य कृत्रिम रूपमा बढाइएको थियो । अहिले लगभग पुरानै मूल्यमा आएको छ । चामल आयातमा कमी आउनुको एउटा सानो कारण भने धान उत्पादन बढ्नु हो ।

गत वर्षको भन्दा यो वर्ष धान उत्पादन केही बढेको छ । रेग्मी आफैंले ठूलो परिमाणमा चामल आयात कम हुने गरी धान उत्पादनमा वृद्धि नभएको बताए । आव २०७७/७८ मा ५६ लाख २१ हजार टन धान उत्पादन हुँदा ५० अर्ब ७७ करोड मूल्यबराबरको धान चामल आयात भएको थियो ।

मन्त्रालयको तथ्यांकअनुसार चालु आवमा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४ सय ७२ टन उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष २ लाख ३७ हजार टन मात्र धान बढी फलेको देखिन्छ । तर, चामल आयात गत वर्षभन्दा २ लाख ८५ हजार टन कम भएको छ ।

सरकारले चामल आयातमा कृषि सुधार शुल्क बढाएको छ । विगतमा ५ प्रतिशत रहेको यस्तो शुल्क अहिले ९ प्रतिशत पुगेको छ । यसले आयातमा केही कम आएको हुन सक्ने रेग्मीको भनाइ छ । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले चामल आयातमा कमी आए पनि बजारमा अभाव नदेखिएको जानकारी दिए ।

पछिल्लो समय सबै खाद्यवस्तुको कारोबारमा करिब २० प्रतिशत कमी आएको उनको भनाइ छ, ‘विगतका तुलनामा अन्य वस्तुको कारोबारमा कमी आए पनि खाद्यान्नमा कमी नहुनुपर्ने हो । तर, घटेको छ । सडकपेटीमा व्यापार गर्ने सबै साना व्यापारी गाउँ पलायन भइरहेका छन् । आर्थिक मन्दी पनि छ, यिनै कारण चामल कारोबारमा मात्र नभएर सम्पूर्ण खाद्य वस्तुको कारोबार घटेको छ ।’

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल चामल आयातमा कमी आउनुमा भारतीय प्रतिबन्धलाई प्रमुख कारण मान्छन् । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा यसको आयात घटेको हुन सक्ने उनले बताए । उनका अनुसार चामल आयात के कारणले घटेको हो, सरकारले त्यसको वास्तविकता थाहा पाउने गरी तथ्यांक विश्लेषण गरेको छैन ।

पौडेलले चोरीपैठारीको माध्यमबाट चामल आयात भए/नभएको आफूसँग जानकारी नभएको बताए । उनका अनुसार भारतले जुन किसिमका चामल निकासीमा प्रतिबन्ध लगाएको थियो, त्यस्ता चामल प्रतिबन्ध लगाएको समय अवधिभरमा ठूला भन्सार नाकाहरूबाट आयात भएको तथ्यांक छैन । भारतले प्रतिबन्ध लगाएका बेला कसैले खुला सीमाको फाइदा उठाएर अवैध आयात गर्न सक्ने उनले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal