(Wednesday , 10 December,2025)

नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीद्धारा संयुक्तरुपमा नार्कको अवलोकन

संवाददाता

संवाददाता

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कृषि अनुसन्धान लगायतका गतिविधि बारेमा नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीले अवलोकन गरेका छन् । नार्कको केन्द्रीय कार्यालय खुमलटार ललिपुरमा आज नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामिण सुरक्षामन्त्री चुङ्ग हवानकेउनले नार्कको कार्यालयमा पुगेर अवलोकन गरेका छन् । 

कृषि मन्त्री भुसालले सो क्रममा नेपाल र दक्षिण कोरिया सरकारका बीचमा कृषि अनुन्धान, अध्ययन तथा पुर्वाधार विकासमा सहाकार्य हुने र त्यसका लागि कोरिया सरकारको सकारात्मक धारणा एवं पहलका लागि धन्यावाद दिएका छन् । नेपालको कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको र आउँने दिनमा समेत सहयोग रहने प्रतिबद्धता आएकोमा नेपालले त्यसलाई सदुपयोग गर्नेछ’ कृषि मन्त्री भसालले भने, ‘हिजो  मात्रै हामीले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छौं ।

त्यसले नेपालको कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।’ दक्षिण कोरियाका कृषि मन्त्री हवानकेउनले नेपालमा धान, तरकारी, दुग्ध उत्पादन वृद्धि र कृषि उपजमा सहकार्य हुने बताए । नेपाल र दक्षिण कोरियाको मौसम पनि एकै किसिमको रहेको बताउँदै उनले नेपालको कृषि अनुसन्धान र दक्षिण कोरियाको कृषि अनुसन्धानबाट दुबै देशका कृषक लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘हामी कृषि अनुसन्धान, यहाँको धान, तरकारी, दुग्ध लगायतको उत्पादन बृद्धिमा सहकार्य गर्दै अगाडी बढनेछौं ।

नेपालसंग सहकार्य गर्न पाउँदा हामी खुशी छौं’ मन्त्री हवानकेउनले भने, ‘दुबै देशको मौसम पनि एकै किसिमको छ । यहाँको बिउँको संचितिकरण र त्यसको जर्गेनामा समेत हामी सहकार्य गर्न चाहन्छौं ।’ बिहिबार मात्रै नेपाल र दक्षिण कोरियाबीच कृषि क्षेत्रमा सहकार्यसम्बन्धी द्विपक्षीय समझदारी भएको छ । नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीका बीच समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ ।

त्यसबाट नेपालको कृषि अनुसन्धानमा फाईदा पुग्ने विश्वास लिईएको छ । कृषि क्षेत्रको अध्ययन, अनुसन्धान तथा पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी भएको हो । शुक्रबार खुमलटार पुगेको टोलीलाई नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले नार्कबाट हुने कृषि अनुसन्धानका साथै विविध पक्ष बारेमा जानकारी गराएका छन् । नेपालमा नार्कले कृषि अनुसन्धान क्षेत्रमा गरिरहेको अनुसन्धानले कृषकहरु लाभान्वित भएको बताउँदै उनले दक्षिण कोरिया सरकारबाट हुने थप सहयोगले यहाँको कृषि अनुसन्धानमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

राष्ट्रिय जीनबैंकका प्रमुख डा.बालकृष्ण जोशीले नेपालको जैविक विविधता एवं बिउँविजनको संचितिकरणको बारेमा जानकारी गराए । धान, गहुँ, मकै, कोदो लगायतका बिउँविजनको कसरी जीनबैंकले जोगाउँदै आएको र नयाँ जातका बिउँ लगायतका बारेमा जोशीले जानकारी दिए । सोही अवसरमा दक्षिण कोरिया सरकारको सहयोगमा उन्नत जातको गाई, नेपालका बिभिन्न प्रजातिका गाईको समेत दुबै मन्त्रीले अवलोकन गरेका छन् ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले हालैका दशकहरूमा दक्षिण कोरियाले कृषि अनुसन्धान र विकासमा गरेको प्रगतिबाट नेपालले सिक्नुसक्ने थुप्रै बिषय रहेको र नेपालमा रहेको कृषि जैविक विविधताको उपयोगबाट कोरियाले पनि लाभ लिनसक्ने हुनाले दुई देशका कृषि मन्त्रीहरूको यो अवलोकन महत्वपूर्ण रहेको बताए ।

अवसरमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङ, कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल, नार्कका अनुसन्धानकर्ता, अधिकारीहरु, हेफर ईन्टरनेशनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal