काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को संरचना मोडल परिवर्तन गर्ने तयारी भएको छ । कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिव हुने गरी नार्कको संरचना मोडल परिवर्तन गर्ने तयारी भएको हो । नार्कको पुर्नसंरचना गर्नका लागि गठित सुझाव उपसमितिले प्रारम्भिक प्रतिवेदन तयारी गरी सकेको छ ।
उक्त विषयमा मंगलबार नार्कको केन्द्रीय कार्यालय खुमलटारमा भएको छलफलमा भएको छ । छलफलमा सहभागि कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले उपसमितिलाई तत्काल एवं दीर्घकालमा के–के गर्नुपर्ने, त्यसका लागि आवश्यक योजना, जनशक्ति, बजेट लगायतका विषयमा स्पष्ट खाकासहित प्रतिवेदन तयार निर्देशन दिएका छन् ।
उनले भने, ‘नार्कलाई मानित विश्वविद्यालयको रुपमा आवश्यकता र औचित्य कतिको छ ? यो किन चाहिन्छ स्पष्ट रुपमा प्रतिबेदनमा आउँनुपर्यो । यसको संरचना कस्तो हुने ?’ मन्त्री भुसालले भने, ‘यस्तै कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोग लगायतको विषयमा कुरा उठेको छ । सबै विषयमा छलफल गरी आएको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्नुपर्ला ।’
नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले नार्ककै मातहतमा रहने गरी मानित विश्वविद्यालय अहिलेको आवश्यक्ता रहेको बताए । नार्कलाई छुट्टै विश्वविद्यालयको मोडेलमा गठन नगरी नार्क अन्तरगतका प्रतिष्ठानको मातहतमा हुने गरी मानित विश्वविद्यालय गठन गर्नुपर्ने उनले बताए । यसैगरी कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोग लगायतका विषयमा समेत उनले आफ्नो धारणा राखेका छन् ।
नार्कको पुर्नसंरचनाका लागि गठन भएको सुझाव उपसमितिका संयोजक डा.टेकबहादुर गुरुङले अहिले सम्म भएको सम्पूर्ण प्रगतिको बारेमा प्रकाश पारेका थिए । छलफलमा सहभागी प्रा.डा. र्दुगामणि गौतमले नार्कमा विषय विशेषज्ञको स्थायीत्व, विषयगत अनुसन्धान केन्द्रहरुको विकेन्द्रीकरण, कार्यकारी निर्देशकलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण र विश्वविद्यालयसँग नार्कको समन्वयमा ध्यान दिनुपर्ने कुरा बताए ।
सुझाव उपसमितिका अर्का सदस्य एवं कृषि मन्त्रालयका सहसचिव सबनम सिवाकोटीले विद्यमान ऐनमा सुधार गरी अनुसन्धानको वातावरण बनाउँन र अनुसन्धानकर्ताहरुको मनोबल बढाउँन विशेष योजना सहित दिर्घकालीन रुपमा मानित विश्वविद्यालयलाई समेत नार्कमा समेटनु पर्ने बताइन् ।
यसैगरी उपसमितिका अर्का सदस्य डा.दोजराज खनालले नार्कलाई अनुसन्धान सेवा र विभाग, कार्यकारी निर्देशकलाई अनुसन्धान सचिवको रुपमा जिम्मेवारी दिदा अहिलेका धेरै समस्या समाधान हुने बताए ।
विषयगत निर्देशक लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा विषयगत निर्देशकहरुले मन्त्रीसमक्ष आ–आफ्नो विषयमा नार्कमा भइरहेका अनुसन्धानका गतिविधिका बारेमा जानकारी गराएको कुरा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले जानकारी गराए ।
प्रतिक्रिया