काठमाडाैँ । महिना दिन अघिमात्र किलोको ५ रुपैयाँमा पनि नबिकेपछि कालिमाटी तरकारी बजार आसपास किसानले गोलभेंडा फ्याँके । उत्पादन स्थलबाट देशकै सबैभन्दा ठूलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि गोलभेंडा नष्ट गर्नुपरेको गुनासो किसानले त्यतिखेर गरेका थिए ।
कालिमाटी तरकारी बजारको सडकमा करिब १२ टन गोलभेंडा पोखिएको थियो । सवारीसाधन आवतजावतमा नै समस्या भएपछि डोजर लगाएर गोलभेंडा सफा गर्नुपरेको थियो । भारतीय गोलभेंडाले राम्रो मूल्य पाएको तर स्वदेशी उत्पादनले उचित मूल्य नपाएको विरोधमा किसानले सडकमा फालेर विरोध गरेका थिए ।
त्यस समय कालिमाटी फलपूmल तथा तरकारी बजारमा गोलभेंडाको थोक न्यूनतम मूल्य ५ र अधिकतम १० रुपैयाँ थियो । अहिले त्यही बजारमा गोलभेंडाको न्यूनतम मूल्य किलोको १ सय ६० रुपैयाँ पुगेको छ । अधिकतम मूल्य त १ सय ८० रुपैयाँसम्म छ ।
कालिमाटी तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार प्रतिकिलो ठूलो गोलभेंडा न्यूनतम १ सय ६० रुपैयाँमा बिक्री भएको छ भने अधिकतम १ सय ८० रुपैयाँसम्म पुगेको छ । यो भनेको औसत प्रतिकिलो १ सय ७० रुपैयाँ हो । सानो गोलभेंडा पनि न्यूनतम ९४ र अधिकतम १ सय १० रुपैयाँमा बिक्री भएको तथ्यांक छ ।
यसपटक भारतमा ठूलो वर्षा भएर गोलभेंडा खेती डुबानमा परेकाले उत्पादन कम हुँदा नेपाली बजारमा पनि असर परेको हो । नेपालमा उत्पादित गोलभेंडा भारतीय बजारमा पुगेपछि स्थानीय बजारमा मूल्य अकाशिएको कालिमाटी तरकारी तथा फलपूmल थोक बजार संघका पूर्वअध्यक्ष भरतप्रसाद खतिवडा बताउँछन् । भारतमा प्रतिकिलो गोलभेंडाको मूल्य ३ सय भारुसम्म पुगेको उनले बताए । उनले भने, ‘भारतमा उत्पादन कम हुँदा काठमाडौं उपत्यकाबाट तराई हुँदै भारत निर्यात भइरहेको छ । एक महिना अघिसम्म भारतबाट पनि केही आउने गरेको थियो । अहिले भने उताबाट नआएर यताबाट गइरहेको छ । यसकै कारण भाउ बढेको हो ।’
त्यसो त अहिले गोलभेंडाको मुख्य सिजन पनि होइन । अफसिजनमा उत्पादन पनि कम नै भएको पूर्वअध्यक्ष खतिवडाको भनाइ छ । गोलभेंडा खेती गरेको ठाउँमा किसानले धान रोपाइँ गरेको हुँदा उत्पादन घटेको उनले बताए । ‘विगतमा यो समय तराईबाट गोलभेंडा आउने गरेको थियो तर यसपटक आएको छैन । अहिले काठमाडौं उपत्यकामा उत्पादन भएको गोलभेंडामात्र बजारमा छ । माग उस्तै तर उत्पादन कम हुन गई मूल्य बढेको हो,’ उनले भने । महिना दिनअघि सबै ठाउँमा गोलभेंडाको उत्पादन हुँदा मागभन्दा धेरै आपूर्ति भएर ५ रुपैयाँमा पनि नबिकेको उनले बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले उपत्यका बाहिरबाट गोलभेंडा आउने गरेकोमा अहिले बाहिर जान थालेपछि मूल्य अकाशिएको जानकारी दिए । सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक ६० देखि ६५ टन आउने गोलभेंडा आउने गरेकोमा अहिले ४० देखि ४५ टनमात्र आउने गरेको उनले बताए । काठमाडौंभन्दा बाहिरै राम्रो मूल्य पाउन थालेपछि किसानले कम पठाएको उनको भनाइ छ । ‘पहिले भारतबाट पनि आयात हुँदा सस्तो हुन्थ्यो । अहिले एक त अफसिजन त्यसमाथि आयात बन्द हुँदा मूल्य बढेको हो,’ उनले भने ।
राष्ट्रिय कृषक समूह महासंघ नेपालका उपाध्यक्ष पञ्चकाली श्रेष्ठले कृषकले अहिले गोलभेंडाको राम्रो मूल्य पाइरहेको बताए । ‘महिना दिनअघि २ रुपैयाँ किलो पनि मूल्य नपाएका उपत्यकाका किसानले अहिले ८० देखि ९० रुपैयाँ पाएका छन्,’ उनले भने । यसअघि मूल्य नपाएको झोंकमा किसानले बोट नै उखेलेर फ्याँकेका कारण उत्पादन कम भएर अहिले मूल्य बढेको उनको भनाइ छ ।
पाँचखालका किसान सुभास लुइँटेलले अहिले उत्पादकले प्रतिकिलो ५० रुपैयाँमा गोलभेंडा बिक्री गरिरहेको जानकारी दिए । उत्पादन कम भएकाले पनि किसानले राम्रो मूल्य पाएको उनको भनाइ छ । किसानले ५० रुपैयाँमा बेचेको गोलभेंडा उपभोक्ताले ६० देखि ७० रुपैयाँमा पाउनुपर्नेमा बिचौलियाका कारण उपभोक्ता मर्कामा परेको उनको भनाइ छ ।
प्रतिक्रिया