काठमाडौँ । धान रोपाइँ २० प्रतिशतले कमी आएको छ । लम्पी स्किन रोगले यस पटक धान रोपाइँमा कमी आएको कुषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार साउन ५ सम्म मुलुकभर ६८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिका ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
गतवर्षको तुलनामा २० प्रतिशत धान रोपाइँ कम रोपाइँ छ । यसपटक धान रोपाइँ कम हुनुका मुख्य कारण लम्पी स्कीन रोगले कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । मध्य तराईमा श्रावण मसान्तसम्म नै रोपाइँ गर्ने हुँदा ९०÷९५ प्रतिशतसम्म रोपाइँ हुने अपेक्षा रहेको उनले बताए ।
यसैगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सूरु हुन ढिलो भएको कारण गत वर्षको भन्दा धान रोपाइँ कमी देखिएको प्रवक्ता सन्जेलले जानकारी दिए । कर्णाली प्रदेशमा विशेषगरी गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइँ थोेरै प्रभावित भएको उनले बताए । सुदुरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ ।
पशुसेवा विभागकाअनुसार हाल देशभर २ लाख ३७ हजार पशु लम्पी स्किन रोगबाट ग्रस्त अवस्थामा छन् । कुल १० लाख ५४ हजार ५५ पशुमा रोग देखिएको छ । जसमा ४८ हजार १३३ मरेका छन् भने ७ लाख ६८ हजार ६४१ निको भएक छन् ।
२ लाख ३७ हजार २८१ पशु भने हाल संक्रमित अवस्थामा छन् । हालसम्म ३ लाख १ हजार २४६ पशुलाई खोप लगाएको छ । सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेशमा तुलनात्मक रुपमा सबैभन्दा बढी पशु संक्रमित भएका छन् ।
हालसम्म सुदूरपश्चिममा २५ हजार ६०१, कर्णालीमा ६ हजार ४७१, लुम्बिनीमा ४ हजार, गण्डकीमा १ हजार ८०१, वाग्मतीमा ३ हजार ४७६, मधेसमा १ हजार ७ सय र कोशीमा ४ हजार ८१४ पशु यो रोगबाट मरेका छन् । प्रवक्ता सन्जेलले लम्पी स्कीन रोगले रोपाइँमा प्रत्यक्ष असर परेको बताए ।
मन्त्रालयकाअनुसार कर्णालीमा ७६ प्रतिशत मात्रै रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ९४ प्रतिशत रोपाइँ भएको थियो । यो गत वर्षको तुलनामा १८ प्रतिशत रोपाइँ कम हो । कर्णालीमा ३८ हजार ७ सय २७ हेक्टरमा रोपाइँ हुन्छ । जसमा साउन ५ सम्ममा कार्णाली प्रदेशमा २९ हजार ४ सय ३३ हेक्टर धान रोपाइँ भएको छ ।
यसैगरी लुम्बिनीमा ७४ प्रतिशत रोपाइँ सकिएको छ । यस प्रदेशमा ३ लाख ३ सय ९२ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख २२ हजार २ सय ९० हेक्टरमा रोपाइँ भएको हो । गत वर्षको सोही अवधिमा यस प्रदेशमा ९२ प्रतिशत रोपाइँ भएको थियो । यसैगरी गण्डकीमा ६७ प्रतिशत रोपाइँ भएको छ । १ लाख ४ हजार ६ सय २२ हेक्टरमा रोपाइँ हुने गरेको छ । त्यसमध्ये ७० हजार ९७ हेक्टरमा रोपाइँ सकिएको छ । गतवर्षको सोही अवधिमा यस प्रदेशमा ८८ प्रतिशत रोपाइँ सकिएको थियो ।
वाग्मतीमा ६५ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख १३ हजार ८३ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये ७३ हजार ५ सय ४ हेक्टरमा रोपाइँ सकिएको छ । गतवर्ष साउन ५ सम्ममा ९० प्रतिशत रोपाइँ भएको थियो । सबैभन्दा बढी धान फल्ने मधेशमा भने ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख ५४ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ हुने गरेको छ । त्यसमध्ये १ लाख ६३ हजार १६ हेक्टरमा रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा भने ८८ प्रतिशत रोपाइँ सकिएको थियो ।मन्त्रालयको तथ्यांकअनुसार कोशीमा धान रोपाइँ घटेको छ । गतवर्ष साउन ५ सम्म ८० प्रतिशत रोपाइँ भएकामा अहिले ७३ प्रतिशत मात्रै सकिएको छ । यो गतवर्षको तुलनामा ७ प्रतिशत कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मुलुकमा १३ लाख ५७ हजार ८ सय १६ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । ९ लाख २७ हजार २ सय ३३ हेक्टर धान रोपाइँ भएको छ । यो कुल रोपाइँ हुने क्षेत्रफलको ६८ प्रतिशत हो ।
प्रतिक्रिया