आर्थिक सर्वेक्षण २०७९÷०८०
काठमाडौं । चालू आर्थिक वर्षमा कृषि खाद्यान्न बालीको उत्पादन ३.८७ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । आइतबार अर्थ मन्त्री प्रकारशरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷०८० मा चालू आर्थिक वर्ष धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने प्रक्षेपण हो । तर यस अवधिमा उखु, जुट, चिया लगायतको औद्योगिक बालीको उत्पादन २.६५ प्रतिशतले घट्ने अनुमान रहेको छ ।
चालु आर्थिक वर्षमा धानको उत्पादन ६.९० प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । यसैगरी चालु आर्थिक वर्षको कुल कृषि उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.९५ प्रतिशत, तरकारी १७.४१ प्रतिशत, नगदेबालीको १५.२३ प्रतिशत, औद्योगिक बाली १२.५ प्रतिशत, फलफुल वाली ५.८२ प्रतिशत,रअन्यको ४.१० प्रतिशत रहने अनुमान छ ।
कृषि बालीको उत्पादन र कृषि बाली लगाइएको क्षेत्रफल दुबैमा खाद्यान्न बालीको हिस्सा उच्च रहँदै आएको छ । चालु आर्थिकवर्षमाकृषि बाली (मह बाहेक) लगाइएको कुल क्षेत्रफल मध्ये खाद्यान्न बाली लगाइएको क्षेत्रफल मात्र ७१.४ प्रतिशत रहेको अनुमान छ । त्यसैगरी, नगदेबाली ९.५ प्रतिशत, दलहन बाली ६.९ प्रतिशत रतरकारी बाली लगाइएको जमिनको क्षेत्रफल ६.१ प्रतिशत रहेको अनुमान छ ।
यस्तै आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा मह, मसला बाली, तरकारी, र फलफूल उत्पादनमा क्रमशः ५.४ प्रतिशत, ४.४२ प्रतिशत, ४.३१ प्रतिशत र २.१४ प्रतिशतले वृद्धि हुने अनुमान छ । साथै, दलहन वालीको उत्पादन समेत ३.५८ प्रतिशतले वृद्धि हुने अनुमान छ । चालु आर्थिक वर्ष २०७९÷८० फागुनसम्म ३ हजार ७ सय मेट्रिक टन मह उत्पादन भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ४ हजार १ सय मेट्रिक टन मह उत्पादन भएको थियो । चालुआर्थिक वर्षको अन्त्यसम्ममा मह उत्पादन गत वर्षको तुलनामा ४.९ प्रतिशतले वृद्धि भई ४ हजार ३ सय मेट्रिक टन पुग्ने अनुमान छ ।
आर्थिक वर्ष २०७०÷७१ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷०८० मा चालु आर्थिक वर्ष कृषि क्षेत्र (कृषि, वन र मत्स्यपालन) को उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
गत आर्थिक वर्षमा यस्तो वृद्धिदर २.२ प्रतिशत रहेको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ । ७.६ विगत वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७९÷८० मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी मधेश प्रदेशमा ३५.२ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ११.२ प्रतिशत रहेको छ ।
त्यसैगरी प्रदेशगत कुल गार्हस्थ उत्पादनमा उद्योग तथा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी बागमती प्रदेशमा ७७.७ प्रतिशत र सबैभन्दा कम ५०.० प्रतिशत कोशी प्रदेशमा रहेको छ । कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि मध्ये कोशी प्रदेशको हिस्सा सबैभन्दा बढी र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रतिक्रिया