(Tuesday , 09 December,2025)

दूधको मूल्यवृद्धि फिर्ता

mountainejournal.com

mountainejournal.com

काठमाडौं । दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय फिर्ता भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।  


उनले सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य फिर्ता गरिएको जानकारी दिए । दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएको उनले बताए । 
राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ र डेरी उद्योग सङ्घलाई आइतबार नै दूधको मूल्यवृद्धि स्थगन भएको बारे पत्राचार गरिसकेको यादवले जानकारी दिए । 


तर, नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले भने छलफलबाट कुनै सहमति नभएको बताएका छन् । उनले छलफलबाट आएको निष्कर्षप्रति हामी सहमत नभएको जानकारी दिए । 


कुन आधारमा मूल्य बढाउन पाइँदैन र बढाएको मूल्य लिन पाइँदैन भनेर बोर्डले हामीलाई पत्र काटे पछि मात्र फिर्ता लिने उनको भनाइ छ । 
आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ मा दूधलाई आवश्यक खाद्य पदार्थमा उल्लेख गरेको छ । तर, केही उद्योगहरुले शनिबारदेखि लागू हुनेगरी दूधको मूल्य आफूखुसी प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका थिए ।

किसानबाट खरिद गर्दा महँगो परेका कारण बजार बिक्री मूल्य पनि महँगो भएको भन्दै सिमित उद्योगीले शनिबार लागु हुने गरी दुधको मुल्य बढाएका थिए । केही सीमित डेरी उद्योगीहरूले मात्रै आफूखुसी मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीहरूले त्यसको विरोध गरेका थिए ।

    
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal