(Tuesday , 09 December,2025)

मनपरी डेरी उद्योगद्धारा दुधको मूल्य बृद्धि

mountainejournal.com

mountainejournal.com


काठमाडौं । सिमित डेरी उद्योगी व्यवसायीले आफूखुसी दुधको मूल्य बढाएका छन् ।  किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दुधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन्  ।  तर, डेरी एशोसिएसन महासंघले दुधको मूल्य वृद्धि गरेको बारे विरोध जनाएका छन् । कुनै सरोकारवाला नियमकासँग छलफल विना नै एकतर्फी  दुधको मूल्य वृद्धि गरेको हुँदा सो मूल्य प्रति डेरी एशोसिएसन महासंघले समर्थन नगरेको महासंघका अध्यक्ष महासचिव प्रल्दाह दाहालले जानकारी दिए ।  

सीमित व्यवसायीले दुधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन ।  डेरी क्षेत्रकै अन्य व्यवसायीलेसमेत यसको विरोध गरिरहेका छन् ।  राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा भनिएको छ, ’वार्षिक मूल्य वृद्धि एवं उत्पादन लागतका आधारमा दुधको मूल्यलाई हरेक दुई वर्षमा दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ ।’

राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ को दफा ६ (ख) मा दुग्ध विकास बोर्डले दुधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने भनिएको छ । यसरी विद्यमान कानुनी व्यवस्थाले दुधको मूल्य हरेक दुई वर्षमा परिमार्जन गरिनुपर्ने व्यवस्था रहेपछि व्यवसायीले भने ११ महिनामै मूल्य बढाएका हुन् । यसअघि बोर्डको सिफारिसमा सरकारले २०७८ माघमा दुधको मूल्य तोकेको थियो ।  एक वर्ष नपुग्दै व्यवसायीले एकतर्फी रूपमा मूल्य बढाएका हुन् । 

दुधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परेपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीहरूको भनाइ छ। किसानको उत्पादन लागत नै महँगो परेपछि बाध्य भएर मूल्य बढाएको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।  

’दाना, चोकरको मूल्य बढेका कारण लागत बढ्यो । कर्मचारीको तलबदेखि बैंकको ब्याजसम्म बढेको छ । मूल्य बढाउन किसानले पटकपटक दबाब दिए ।  महँगोमा नकिने किसान पलायन हुने र दुध नपाउने अवस्था आयो,’ उनले भने। सरकारले दुधको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि अधिकतम मूल्य भने बजार मागअनुसार तोकिने उनको भनाइ छ । 

’किसानलाई न्युनतम मूल्य नदिएको भए निकायमले कारबाही गर्नसक्छ । तर बढी मूल्य दिन नपाउने भनेर अहिलेसम्म हामीलाई कुनै पत्र आएको छैन ।  दिन प्रतिदिन किसानको मूल्य बढ्दै जाने तर हामीले बजारमा सस्तोमा बेच्ने भन्ने पनि सम्भव छैन,’ उनले भने ।  

गतवर्ष माघमा सरकारले दुधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६ रुपैयाँ ९७ पैसा तोकेको थियो ।  त्यसमध्ये किसानले प्रतिलिटर ५६ रुपैयाँ चार पैसा पाउँछन् भने प्रतिलिटर ९३ पैसा चिस्यानमा राख्ने खर्चका रुपमा रहन्छ । तर पछिल्लो समय किसानले नै प्रतिलिटर रु ७० सम्ममा दुध बेच्न थालेको र किसानबाट खरिद मूल्य बढेपछि बजारमा उपभोक्ता मूल्य पनि बढाइएको उनको भनाइ छ ।  

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले सीमित दुग्ध व्यवसायीले मूल्य वृद्धि गर्न नपाउने बताए ।  ’राष्ट्रिय दुग्ध विकास नीति र दुग्ध विकास ऐनले हरेक दुई वर्षमा मूल्य समायोजन हुन्छ भन्ने प्रावधान राखेको छ । सबै सरोकारवालासँगको छलफलपछि २०७८ माघमा मूल्य निर्धारण भएको थियो । अहिले व्यवसायीले आफैँ मूल्य बढाउनु जायज होइन,’ उनले भने ।  

दुग्ध व्यवसायीले एकलौटी मूल्यबारे आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवसँग छलफल राखिएको उनको भनाइ छ ।  ’उनीहरुले यस्तो गर्न पाउँदैन । समस्या नै परेको भए समन्वय गरेर जानकारी दिएर छलफल गरेको भए हुन्थ्यो ।  यसबारे भोलि सचिवको नेतृत्वमा छलफलमा बस्दैछौं,’ उनले भने ।   

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal