काठमाडौं । धानबालीलाई रासायनिक मल अभाव हुने देखिएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले अर्थ मन्त्रालयसँग थप बजेट माग्ने तयारी गरेको छ । रासायनिक मल खरिद गर्न ३१ अर्ब रुपैयाँ बजेटको सुनिश्चिता भएता पनि धान बालीलाई अपुग हुने देखिएपछि अर्थसँग ७ अर्ब ७३ करोड रुपैयाँ बजेट माग्ने मन्त्रालयले तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले जानकारी दिए ।
कृषि मन्त्रालयले मल खरिदलाई थप माग गरेको ७ अर्ब ७३ करोड रुपैयाँ र यसअघि रासायनिक मल खरिदका लागि सुनिश्चित गरेको बजेट जोड्दा ३८ अर्ब ७३ करोड रुपैयाँ हुने छ । यो बजेट विगतको तुलनामा ३ गुणाले बढी हो । गतवर्ष सरकारले बजेट बजेट वक्तव्यमा मार्फत १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
किसानको माग आपूर्ति गर्न बजेट वक्तव्यमा विनियोजन गरेको बजेट अपुग हुने भएपछि मलको सहज आपूर्तिका लागि थप बजेटको माग गरेको प्रवक्ता सन्जेलले जानकारी दिए । उनले रासायनिक मल खरिद गर्न सुनिश्चित गरेको ३१ अर्ब रुपैयाँले धान बालीलाई अभाव हुने देखिएको हुँदा ९० हजार मेट्रिक टन खरिदका लागि ७ अर्ब ७३ करोड रुपैयाँ थप माग गर्न लागेको जानकारी दिए ।
उनले नयाँ सरकार बने लगत्तै अर्थ मन्त्रालयमा बजेटको थपको लागि प्रस्ताव पठाउने बताए । रासायनिक मल खरिद गर्न सुनिश्चित गरेको ३१ अर्ब रुपैयाँ बजेटले गहुँ र मकै बालीका लागि भने पर्याप्त हुने जानकारी दिए । किसानलाई धान बालीमा सहज रूपमा मल आपूर्ति गर्न नसकिने भएपछि मल अभाव हुन नदिन मन्त्रालयले थप बजेटको लागि प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।
थप बजेट नहुँदा धान बालीका लागि करिब १ लाख मेट्रिक टन अभाव प्रवक्ता सन्जेलले जानकारी दिए । मल खरिदका लागि सुनिश्चित गरेको बजेटले २ लाख ५७ मेट्रिक टन मात्र आउने देखिएपछि थप ९० हजार मेट्रिक टन मलका लागि ७ अर्ब ७३ करोड आवश्यक रहेको उनको भनाइ छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य उच्च वृद्धि भएपछि मल खरिदका लागि चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विनियोजन गरेको बजेट अपुग भएको हो ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले रासायनिक मल खरिदलाई १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि हुँदा १५ अर्ब रुपैयाँ बजेट अभाव हुने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई थप बजेट माग गरेको थियो ।
कृषि मन्त्रालयको थप बजेट माग गर्दा अर्थ मन्त्रालयले मल खरिदका लागि गतअसोज महिनामै १६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरी सकेको थियो ।
मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले थप गरेको १६ अर्ब रुपैयाँ र बजेट वक्तव्यमा विनियोजन गरेको १५ अर्ब रुपैयाँ गरी ३१ अर्ब रुपैयाँ मल खरिदलाई बजेट सुनिश्चित भएको हुँदा ३ लाख २४ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिद हुन्छ ।
मागअनुसार धान बालीलाई सहज रूपमा रासायनिक मल आपूर्ति गर्न करिब ४० अर्ब रुपैयाँ बजेटको आवश्यकता पर्ने प्रवक्ता सन्जेलको भनाइ छ ।
अमेरिकी डलरको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य विगतको तुलनामा दोब्बर भएको हुँदा ३१ अर्ब रुपैयाँ मल खरिदलाई बजेट सुनिश्चित हुँदा पनि अभाव हुने देखिएको प्रवक्ता सन्जेलले जानकारी दिए ।
प्रतिक्रिया