पर्सा । धान अविलम्ब खरिद गर्नुपर्ने मागसहित पर्साका किसानहरूले आइतबार वीरगन्जमा दबाबमूलक प्रदर्शन गरेका छन् । नेपाल किसान महासङ्घ पर्साको आयोजनामा घण्टा घरबाट निकालिएको जुलुस मूर्लीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा परिसरमा आई धर्नामा परिणत भएको थियो ।
उनीहरूले आइतबार मध्याह्न १२ देखि आधा घण्टासम्म कम्पनी शाखा परिसरमा धर्ना दिएका थिए । धर्नापछि किसान नेताहरू किशोरी कुशवाहा, अलम यादव, महासंघ पर्साका अध्यक्ष असर्फी साह लगायतकाले सम्बोधन गर्दै सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको एक महिना बितिसक्दा पनि धान भने खरिद नगरेर व्यापारी र बिचौलिया पोस्ने काम मात्र भइरहेको आरोप लगाए ।अर्का किसान नेता सहरुम राउतले आफूहरुले सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा सस्तोमा निजी क्षेत्रलाई धान बेच्नु परेको गुनासो गरे । ‘किसानले धान उत्पादन भएपछि धान बेचेरै आफ्नो थुप्रै गर्जो टार्ने हो,’ उनले भने, ‘तर सरकारले हामीलाई आवश्यक परेको बेला हाम्रो धान खरिद गरिदिएन, सरकारको यस्तो कदमको हामी घोर विरोध गर्छौं ।’
कम्पनी वीरगन्ज शाखाका सूचना अधिकारी समीर दाहालले धान खरिदबारे केन्द्रबाट अझै निर्देशन प्राप्त नभएकाले शाखाले धान खरिद सुरु नगरेको बताए ।
केन्द्रले पर्साका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी धान खरिदका लागि समन्वय गरिदिन आग्रह गरेकाले पुसको पहिलो सातादेखि धान खरिद सुरु हुनसक्ने उनले बताए ।
शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको उनले बताए । गत वर्ष धानको खरिद मूल्य प्रति क्विन्टल २ हजार ९ सय २ रुपैयाँ थियो । गत वर्ष मंसिर ११ देखि धान खरिद सुरु गरिएको थियो ।
प्रतिक्रिया