(Thursday , 18 June,2026)

रासायनिक मलको अभाव नहुने

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । यो वर्ष धान बाली लगाउने समयमा कृषकले रासायनिक मलको अभाव भाग्नु पर्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका कृषि विकास महाशाखाका सहसचिव डा.रामकृष्ण श्रेष्ठले हाललाई मलको मौज्दात पर्याप्त हुँदा कृषकले अभाव खेप्नु नपर्ने बताएका हुन् । श्रेष्ठका अनुसार हाल मन्त्रालयसँग पर्याप्त मात्रामा मल मौज्दात रहेको र थप मल भित्रिने क्रममा रहेकाले कृषकले विगतमा जस्तो अभाव झेल्नु नपर्ने देखिएको हो । हाल सरकारी गोदामहरूमा करिब १ लाख ३७ हजार १२५ मेट्रिक टन मल मौज्दात छ ।

यसका अतिरिक्त करिब ३ सय ३५ मेट्रिक टन मल बाटोमा रहेको छ । यो परिमाणले असार महिनाभर र साउनको मध्यसम्मको मागलाई सहजै धान्ने श्रेष्ठको भनाइ छ । उनका अनुसार यो वर्ष मन्त्रालयले इतिहासमै सबैभन्दा बढी बिक्री गरेको छ । यो वर्ष रासायनिक मलको बिक्रीमा जेठ मसान्तसम्ममा ४ लाख ७२ हजार मेट्रिक टन मल बिक्री भइसकेको छ, जुन नेपालको इतिहासमै एक वर्षमा भएको सबैभन्दा बढी बिक्री हो । असार मसान्तसम्म यो परिमाण अझै बढ्ने र करिब पौने ६ लाख टन पुग्न सक्ने अनुमान गरिएको छ ।

थप आपूर्ति र जीटूजी सम्झौता बजारमा मलको थप सुनिश्चितताका लागि नयाँ आपूर्तिको प्रक्रिया पनि तीव्र पारिएको छ । ९० हजार मेट्रिक टन मल हाल आउने चरणमा छ र यो सुनिश्चित भइसकेको छ । भारतसँगको जीटूजी सम्झौता अन्तर्गतको ३० हजार टन युरिया र २० हजार टन डीएपी गरी कूल ५० हजार मेट्रिक टन मल असार २९ गतेदेखि नेपाल प्रवेश गर्न सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य प्रतिटन १ हजार डलरबाट घटेर ६०० डलरभन्दा तल आएकाले पनि आपूर्ति प्रक्रिया सहज बनेको हो । मलको आपूर्ति सुनिश्चित भए तापनि ढुवानीमा केही प्राविधिक चुनौती भने देखिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकै पटक धेरै जहाजहरू मल बोकेर आएकाले भारतको कोलकाता बन्दरगाहमा जामको समस्या देखिएको छ ।   आगामी दुई महिनाभित्र करिब ६ वटा जहाज आउने सम्भावना रहेकाले बन्दरगाहबाट मल क्लियर गरेर वीरगन्ज, भैरहवा र विराटनगरसम्म ल्याउन केही समय लाग्न सक्ने उनले बताए । तर, पनि यसले मलको समग्र उपलब्धतामा भने ठूलो असर नपार्ने उनको भनाइ छ ।

उनका अनुसार बजेट र वितरण प्राथमिकता सरकारले यो वर्ष मलका लागि करिब ३३ अर्ब ६९ करोड देखि ७० करोड रुपैयाँ सम्म बजेट विनियोजन गरेको छ । मन्त्रालयले खाद्य सुरक्षाका लागि धान, गहुँ र मकै जस्ता मुख्य बालीलाई प्राथमिकतामा राखेर मल वितरण गरिरहेको छ । साथै, प्रदेशहरूलाई १० प्रतिशत कोटा छुट्याएर व्यावसायिक बालीका लागि पनि मल उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उनले कृषकले युरियाको अत्यधिक प्रयोगले माटो बिग्रने गरेको हुँदा यसप्रति सचेत रहन समेत आग्रह गरे । मन्त्रालयको पछिल्लो तयारी र मौज्दातको अवस्था हेर्दा यस वर्ष मलको अभाव नहुने र आपूर्ति प्रणाली सहज गर्न गरि रहेको उनले बताए ।

५ लाख ६९ हजार मेट्रिक टन रासायनिक मल आपूर्ति
साढे १ लाख टन मौज्दात
कृषि मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२÷८३ का लागि लिएको ६ लाख मेट्रिक टनको वार्षिक लक्ष्यमध्ये हालसम्म ५ लाख ६९ हजार २७ मेट्रिक टन मल आपूर्ति भइसकेको छ । चालु आवको  साउन १ देखि जेठ २९ गतेसम्म उक्त मल आपूर्ति भएको हो । सरकारले यस वर्ष मल खरिदका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट हालसम्म ४ लाख ९१ हजार ३ सय मेट्रिक टन मलको टेण्डर प्रक्रिया सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।

आपूर्ति भएको मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत कुल ४ लाख ७१ हजार ८४७ मेट्रिक टन मल बिक्री भइसकेको छ । जसमा युरिया २ लाख ८० हजार ८४ मेट्रिक टन, डीएपी १ लाख ७६ हजार ७३ मेट्रिक टन र पोटास १५ हजार ६८९ मेट्रिक टन रहेको छ । हाल सरकारी गोदामहरुमा कुल १ लाख ३७ हजार १२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । यसका अतिरिक्त ३ हजार ३३५ मेट्रिक टन मल अहिले बाह्य मार्गमा रहेको छ ।
हाल मौज्दात रहेको युरिया र डीएपी मल
 युरिया मल
कुल मौज्दात  ७६ हजार ७९२.९५ मेट्रिक टन
कृषि सामग्री कम्पनीसँग ६४ हजार २२० मेट्रिक टन
साल्ट ट्रेडिङ्ग १२ हजार ५७३ मेट्रिक टन
 डीएपी मल
कुल मौज्दात ३८ हजार ६८९.३५ मेट्रिक टन
कृषि सामग्री कम्पनीसँग १९,२२६.७ मेट्रिक टन
साल्ट ट्रेडिङ्गसँग १९ हजार ४६२.६५ मेट्रिक टन
यसबाहेक २१,६४३.३५ मेट्रिक टन पोटास पनि मौज्दात रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal