(Monday , 30 March,2026)

बाढीले २४० मेगावाट विद्युत उत्पादन बन्द

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । भोटेकोशी नदीमा मंगलबार बिहान ३ बजेतिर अकस्मात आएको बाढीले त्यस क्षेत्रमा सञ्चालित रसुवागढी जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना र त्रिशुली ३–ए जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ ।

त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित मैलुङखोला जलविद्युत आयोजनाको उत्पादन पनि रोकिएको छ । प्राधिकरणका सहायक र निजी आयोजनाबाट उत्पादन हुने २४० मेगावाट विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । त्यसबाहेक त्रिशुली ३–बी सबस्टेशन, त्रिशुली जलविद्युत केन्द्र र देवीघाट जलविद्युत केन्द्रमा क्षति पुगेको शाक्यले बताए । सबैभन्दा बढी क्षति रसुवागढी जलविद्युत आयोजनामा भएको छ । बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना बाँधको प्रवेशद्वारका संरचनाहरु बगाएको छ ।

प्राधिकरणका अनुसार चीनतर्फबाट ड्याम फुटेर आएको बाढीले क्षति पुर्‍याएको हो । ‘मानवीय क्षति पुगेको जानकारी अहिलेसम्म हामीलाई भएको छैन,’ मंगलबार साँझ शाक्यले भने । आयोजनाका कर्मचारी नदीको पारीपटी गएर बसिरहेको र स्थिति सामान्य भएपछि आउने जानकारी उनले दिए । त्यस्तै, धेरै क्षति पुगेको अर्को आयोजना ६० मेगावाटको त्रिशुली ३–ए रहेको छ । ‘रसुवागढी र त्रिशुली ३–ए को गरी १७१ मेगावाट क्षमताका आयोजनामा धेरै क्षति पुगेको छ,’ उनले भने । यी आयोजनामा तत्काल उत्पादन शुरु हुन सक्ने अवस्था छैन ।

त्रिशुली ३–ए को बाँधको प्रवेशद्वारका केही संरचना बगाएको छ । सिभिल संरचनामा सामान्य क्षति पुगेको छ । यी आयोजना कहिले मर्मत गर्न सकिन्छ र उत्पादन सुचारु हुन्छ भन्ने विषमया स्थलगत अवलोकन र अध्ययनपछि मात्र बताउन सकिने कार्यकारी निर्देशक शाक्यले बताए । ‘खोलामा बहाव घटेपछि मात्र यसबारेमा विस्तृतमा बताउन सकिने अवस्था छ,’ उनले भने ।

त्यस्तै, चिलिमेको टेलरेस संरचनाबाट पानी पसेर टर्बाइनको सतहसम्म आएको छ । त्यस्तो होला भनेर कल्पना नै नगरेकोले टेलरेस संरचनामा द्वार नराखिएको प्राधिकरणले बताएको छ । अहिले बाढी पसेको ठाउँमा सफाइ थालिसकेको र केही दिनभित्र नै उत्पादन सुचारु हुने अनुमान छ । त्रिशुली र देवीघाट जलविद्युत केन्द्रहरुमा बाढीले सामान्य असर गरेकाले सञ्चालन गर्न सकिने अवस्थामा छन् ।

अहिले त्रिशुली ३–बी सबस्टेशन संकटमा रहेको छ । त्यस स्थानमा रहेको वैकल्पिक टावर बगाएको छ । खोलाको कटान भइरहेकाले अन्य संरचनाहरु बगाउने सम्भावना छ । त्यहाँका संरचना संरक्षण गर्न सुरक्षाकर्मी र अन्य जनशक्ति परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ । खोलाको कटान रोक्न सक्दा थप क्षति हुनबाट जोगिनेछ । यस घटनाले एउटै नदीको माथिल्लोदेखि तल्लो क्षेत्रमा रहेका पावर हाउसहरुबीच सञ्चार संरचना र पूर्वसतर्कता प्रणालीको विकास गर्नुपर्ने आवश्यकता देखिएको कार्यकारी निर्देशक शाक्यले बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal