(Monday , 04 November,2024)

राहत कोषमा ६ करोड

संवाददाता

संवाददाता

काठमाडौँ ।  गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब ६ करोड रुपैयाँ मात्र संकलन भएको छ । भूकम्प गएको भोलिपल्ट शनिबारदेखि नै विभिन्न संघसंस्थाबाट पीडितलाई सहयोग गर्ने घोषणा भए पनि बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको हो । 

कोषका अनुसार बुधबारसम्म बुद्ध एयरले १ करोड, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले १ करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शनले ५ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ करोड, चैतन्य एकेडेमीले एक लाख, मनीष रेग्मीले एक लाख १० हजार, धादिङ कांग्रेसले एक लाख ५१ हजार, कांग्रेस (केन्द्र) ले ५० लाख, कुस्मा नगरपालिकाले ४ लाख ७० हजार, नेपाल एलपीजी ग्यास उद्योग संघले ११ लाख ११ हजार, केएनपी जापानले ५ लाख र अन्यले २ करोड ४ लाख ४७ हजार गरी कुल ५ करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । उल्लिखित रकम कोषमा नगदै जम्मा भएको सहयोग हो । यसबाहेक छिमेकी मुलुक र देशभित्रका विभिन्न संघसंस्थाले पनि आफैं राहत वितरण गरिरहेका छन् । यसरी वितरण भएको राहतको एकीकृत विवरण भने आइसकेको छैन ।

भूकम्प प्रभावितको सहयोगका लागि प्रदेश संरकार, अन्तर्राष्ट्रिय जगत्, निजी संघसंस्था र व्यक्तिले गरी २० करोड हाराहारीमा नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नगदै जम्मा गर्ने प्रतिबद्धता गर्नेमध्येले पनि हालसम्म जम्मा नगरेकाले बुधबारसम्म करिब ६ करोड रुपैयाँ मात्र जम्मा भएको कोषले जनाएको छ । सहयोगका लागि आह्वान गरेको तीन/चार दिन मात्र भएकाले कोषमा बिस्तारै रकम संकलन भइरहको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले बताए । ‘विभिन्न संघसंस्थाबाट सहयोगको प्रतिबद्धता आइरहेको छ,’ उनले भने, ‘त्यो रकम कोषमा संकलन हुँदै जाला ।’

सरकारले भूकम्पपीडितको राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । सोही अनुसार आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न नौ वटा वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा सहयोग रकम पठाउन सबैमा आग्रह गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता रहेका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक पुतलीसडक, कृषि विकास बैंक रामशाहपथ, नेपाल बैंक, एभरेस्ट बैंक नयाँ बानेश्वर, स्ट्याडर्ड चार्टर्ड बैंक नेपाल लाजिम्पाट, ग्लोबल आईएमई बैंक ज्ञानेश्वर, हिमालयन बैंक ठमेल र कमलादी, नबिल बैंक दरबारमार्ग रहेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal