(Wednesday , 10 December,2025)

धान रोपाइँ लगभग गत वर्षकै हाराहारी

संवाददाता

संवाददाता

समयमा वर्षात् नभए पनि यस वर्ष धान रोपाइँ लगभग गत वर्षकै हाराहारीमा पुगेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार भदौ एक गतेसम्म मुलुकभर ९२ प्रतिशत धान रोपाइँ भएको हो । यो गत वर्षभन्दा तीन प्रतिशतमात्र कम हो । गत वर्ष साउन २८ सम्ममा ९५ प्रतिशत धान रोपाइँ भएको थियो ।

धान रोपाइँ लगभग गत वर्षकै हाराहारीमा पुगे पनि केही ढिला भएकाले उत्पादनमा कमी आउने सम्भावना बढेको छ । यो वर्ष मनसुन सुरु हुन ढिलो भएका कारण धान रोपाइँ पनि ढिला सुरु भएको थियो । त्यसमा पनि मधेश प्रदेशमा अन्य प्रदेशभन्दा मनसुन अझै ढिला सुरु भएको थियो । यही कारण यो प्रदेशमा धान रोपाइँ घटेको छ । मुलुकको कुल धान उत्पादनमा सबैभन्दा धेरै हिस्सा ओगट्ने मधेशमा यो वर्ष ८२ प्रतिशतमात्र रोपाइँ भएको छ । मधेशको धान रोपाइँ गत वर्षको भन्दा ११ प्रतिशत कम हो । गत वर्ष ९३ प्रतिशत धान रोपाइँ भएको थियो ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार मधेश प्रदेशको ४ लाख १ हजार ६५० हेक्टर जमिनमध्ये ३ लाख ३१ हजार १६५ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष ४ लाख ५ हजार ४५० हेक्टरमा रोपाइँ भएको थियो । मधेश प्रदेशबाहेक अन्य प्रदेशमा भने धान रोपाइँ गत वर्षकै हाराहारीमा भएको छ । मुलुकभर १४ लाख ८८ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुन्छ । भदौ एकसम्म १३ लाख ७५ हजार हेक्टरमा रोपाइँ भएको छ । मुलुकभरलाई हेर्दा गत वर्षको तुलनामा तीन प्रतिशतमात्र कम धान रोपाइँ भएको छ । यसपटक मनसुन ढिला सुरु भएको हुँदा धान रोपाइँ समग्रमै कम भएको कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले जानकारी दिए ।

गाईगोरुमा देखिएको लम्पी स्कीन रोगका कारण पनि धान रोपाइँमा प्रभाव पारेको उनले बताए । विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा यो प्रदेशमा शतशप्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिममा १ लाख ७७ हजार हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये १ लाख ७६ हजारमा भइसकेको छ । कर्णाली प्रदेशमा गत वर्षकै जति ९९ प्रतिशत रोपाइँ भएको छ ।

लुम्बिनीमा ९५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष ९० प्रतिशत भएको थियो । गण्डकीमा यो वर्ष ९४ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ९७ प्रतिशत सकिएको थियो । बागमतीमा ९३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष ९७ प्रतिशत भएको थियो । कोशी प्रदेशमा ९७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष ९७ प्रतिशत रोपाइँ भएको थियो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमै रोपाइँ कम हुँदा यसको असर कस्तो पर्छ भन्ने विश्लेषण गरिने बताए । ‘मधेश प्रदेशमा धान रोपाइँ कम भएको हुँदा यसको असर कुल उत्पादनमा पर्छ भन्ने छ, तर कति र कस्तो असर पर्छ भन्ने सबै विश्लेषण गरेपछि थाहा हुन्छ । पछिल्लो समय जलवायु परिवर्तनले धान रोपाइँमात्र नभएर सम्पूर्ण कृषि बालीमा असर परेको छ । विस्तारै खाद्य संकट आउने जोखिम बढेको छ,’ उनले भने ।

खेतीयोग्य जमिन घट्दै जानु र बाढीपहिरोले उत्पादन घट्दै जाँदा खाद्य संकट बढ्ने देखिएको उनले बताए । ‘खाद्य संकट हुन नदिन सरकारदेखि निजी क्षेत्र र सरोकारवाला निकायले ध्यान दिनुपर्छ । जलवायु परिवर्तनका असरसँग लड्न राज्यले कृषि उत्पादनमा लगानी बढाउनुपर्ने देखिएको छ,’ उनले भने । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal