काठमाडौं– पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत भएसँगै नेपाल आयल निगमको २२ वर्षदेखिको प्रयास सफल हुने देखिएको छ । सिंहदरबारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गर्ने निर्णय गरेको हो । अब आयल निगमले यस सम्बधी कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउने छ ।
निगमले २०६० सालदेखि पेट्रोलमा बायोइथानोल मिश्रण गर्ने प्रयास गरेको थियो । तर, सरकारको सहयोग नपाउँदा निगम सफल हुन सकेको थिएन । चालु आर्थिक वर्षकोे बजेट ल्याउँदा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले प्रदूषण नियन्त्रण र पेट्रोलको आयात न्यूनीकरण गर्न बायोइथानोल मिश्रण गर्ने व्यवस्था मिलाउने बताएका थिए । अहिलेको सरकारले यस सम्बन्धी आदेश स्वीकृत गरी कार्यान्वयनका लागि बाटो खुलाई दिएको हो ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गरेको जानकारी दिँदै अब निगमले कार्यविधि बनाएर यसको प्रयोग अघि बढाउने बताए । उनका अनुसार निगमले ६ महिनाअघि आदेश स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाएको थियो । अहिले स्वीकृत भएको हो ।
कार्यकारी निर्देशक भट्टका अनुसार पेट्रोलमा इथानोल मिश्रण गर्दा हाम्रो समग्र अर्थतन्त्रलाई लाभ पुग्नेछ । इथानोल (जैविक उर्जा) उत्पादन गरी पेट्रोलमा गरिने मिसावटले वातावरणमा सुधार गर्नुका साथै अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने भनाइ उनको छ ।
यसैगरी, इथानोल जैविक उर्जा भएकाले यसको प्रयोगले उत्सर्जन र प्रदूषण कम गराई वातावरणलाई स्वच्छ राख्न मद्दत गर्छ । हाल नेपालले शतप्रतिशत पेट्रोल आयात गरिरहेको अवस्थामा स्वदेशमै उत्पादित इथानोल मिसाउँदा आयात कम हुने र विदेशी मुद्राको सञ्चिति बढ्ने अपेक्षा गरिएको छ ।
भट्टका अनुसार इथानोल उत्पादनका लागि मुख्य कच्चा पदार्थका रूपमा उखु र सिमल तरुल प्रयोग गरिन्छ । यसको खेतीमा संलग्न हुने किसानको आयस्तर बढ्ने छ भने ग्रामीण अर्थतन्त्र थप बलियो हुनेछ । इथानोलको प्रयोगबाट किसानका साथै चिनी उद्योगलाई पनि फाइदा पुग्नेछ । उखुबाट चिनी बनाउँदा निस्कने ‘मोलासिस’ बाट इथानोल उत्पादन हुने भएकाले चिनी उद्योगहरूको नाफा र उत्पादकत्वमा पनि वृद्धि हुने भनाइ भट्टको छ । अहिले चिनी उद्योगहरूसँग दैनिक करिब ५० हजार लिटरसम्म इथानोल उत्पादन गर्न सक्ने क्षमता छ ।
भट्टका अनुसार सुरुमा कुल खपतको १० प्रतिशत पेट्रोलमा इथानोल मिसावट गर्ने योजना निगमले बनाएको छ । उनका अनुसार हाल प्रयोगमा आएका सवारी साधनका इन्जिनमा कुनै फेरबदल नगरी २० प्रतिशतसम्म इथानोल मिसाउन सकिन्छ । इथानोलको उपलब्धताका आधारमा मिसावटको मात्रा विस्तारै बढाउँदै लैजाने योजना बनाइएको छ । यो प्रक्रियालाई कानुनी र व्यावहारिक रूपमा अगाडि बढाउन आवश्यक कार्यविधि तयार गर्ने उनले बताए ।
कार्यकारी निर्देशक भट्टका अनुसार हाल दैनिक २० लाख लिटर पेट्रोल खपत हुन्छ । यदि इथानोल उपलब्ध भयो भने करिब ४ लाख लिटरसम्म प्रयोग गर्न सकिन्छ । दैनिक ४ लाख लिटर इथानोल उत्पादन भए अहिलेको व्यापार घाटा समेत कम हुने दाबी उनको छ ।
अहिलेसम्म स्वदेशमा इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गर्न सकिने सम्भावना भए पनि सरकारसँग यससम्बन्धी कुनै गुणस्तर मापदण्ड छैन । कृषिजन्य वस्तु उखु, गहुँ, मकै, सिमल तरुल लगायतबाट इथानोल निकाल्ने हो । यस्तो कच्चा पदार्थ देशमा पर्याप्त छैन । सोही कारण पेट्रोलमा इथानोल मिश्रण गर्ने कुरा सहज नभएको निगमका अन्य अधिकारीहरु बताउँछन् । उखुको मोलासिसबाट इथानोल निकाल्न सकिन्छ । तर, उखुबाट निस्किने मोलासिस पनि गुणस्तरीय छैन । पेट्रोलमा मिश्रण गर्नका लागि ९९.९९ प्रतिशत बायोइथानोल हुनुपर्छ । नेपालमा उत्पादन हुने उखुको मोलासिसबाट ९९.५ प्रतिशतमात्र बायोइथानोल निस्किन्छ । यसलाई फेरि प्रशोधन गरी ९९.९९ प्रतिशत बायोइथानोल निकाल्न लागत बढ्न जान्छ । भारतमा २० प्रतिशत पेट्रोलमा बायोइथानोल मिश्रण भइरहेको छ ।
२२ वर्षअघिको प्रयास
सरकारले २०६० कात्तिक २४ मा सोही वर्षको माघ १ देखि अनिवार्य रुपमा १० प्रतिशत इथानोल मिश्रण गरी त्यसलाई वातावरणमैत्री इन्धनका रुपमा विकास गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०६० मंसिर २९ मा राजपत्रमा सूचनासमेत प्रकाशन गरेको थियो । सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्न भनेर राजपत्रमा प्रकाशन गरेको २२ वर्ष भएको छ । इथानोल मिश्रण गर्ने विषय सरकारले आर्थिक वर्ष २०७१–७२ को नीति तथा कार्यक्रममा समेत ल्याएको थियो । त्यसमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने तरिका अवलम्बन गर्ने उल्लेख थियो ।
प्रतिक्रिया