काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका निवर्तमान सभापति सन्तोष चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चालिसेले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा मेयर हुँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले आइतबारविशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर भएको छ ।
चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा विजयी भएका थिए । चालिसेले २०७४ जेठ ८ गतेदेखि २०७९ असार ३२ गतेसम्मको अवधिमा आर्जन गरेको सम्पत्तिको अनुसन्धान गर्दा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ ७१ पैसाको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले स्रोत नखुलेको रकम बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले चालिसेकी श्रीमती मन्दिरा, छोराहरू सागर र सञ्जीवका साथै बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाएको छ । २०७९ सालको प्रतिनिधिसभा चुनावा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका चालिसे प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि बनेका थिए ।
प्रतिक्रिया