(Thursday , 05 March,2026)

मध्यपूर्व तनाव

इन्धन आपूर्तिमा तत्काल प्रभाव नपर्ने

mountainejournal.com

mountainejournal.com

काठमाडौं ।  अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रुपमा सैन्य आक्रमण गरेपछि इरानले पनि प्रत्याक्रमण गरेको छ । यसले मध्यपूर्वको स्थिति तनावपूर्ण बन्दा पेट्रोलियम पदार्थ आपूर्ति र मूल्यमा प्रभाव पर्ने देखिन्छ ।

इरानले चीन, भारत, ओमान, अफगानिस्तान लगायतका मुलुकसँग पेट्रोलियम पदार्थको कच्चा पदार्थको ठूलो कारोबार गर्छ । नेपालले भारतबाट आयात गरी पेट्रोलियम पदार्थ आपूर्ति गर्ने हुँदा मध्यपूर्वको समस्याले नेपालमा पनि पेट्रोलियम पदार्थ नपाउने हो कि भन्ने आशंका बढेको छ ।

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले भने मध्यपूर्वको समस्याले नेपालमा तेल आपूर्तिमा तत्काल कुनै समस्या नहुने बताए । उनका अनुसार भारतसँग हरेक पाँच-पाँच वर्षमा नेपाली बजारको मागअनुसार तेल आपूर्ति गर्ने सम्झौता हुने गरेको छ ।

यस्तो सम्झौता केही समयअघि भइसकेको छ । भारतले नेपाली बजारको माग अनुसार पेट्रोलियम पदार्थ जसरी पनि आपूर्ति गर्नुपर्छ । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार भारतसँग १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिन्छ । अहिले मार्च १ देखि १५ सम्मका लागि मूल्य निर्धारण भएर आइसकेको छ । त्यसकारण अहिले पेट्रोलियम पदार्थको आपूर्ति र मूल्य दुवैमा कुनै समस्या हुँदैन ।’ पाइपलाइनबाट सहज रुपमै तेलको आपूर्ति भइरहेको हुँदा अभाव हुन्छ भन्ने आशंकामा आवश्यकभन्दा बढी तेल र ग्यास खरिद नगर्न उपभोक्तालाई उनले आग्रह गरे ।

निगम प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार नेपालमा दैनिक २० लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल बिक्री हुन्छ । भारतसँग नेपाली बजारको मागअनुसार आपूर्ति गर्नुपर्ने सम्झौता भएको हुँदा तत्काललाई नेपालको आपूर्ति प्रणालीमा असर नगर्ने प्रवक्ता ठाकुरको भनाइ छ । प्रवक्ता ठाकुरका अनुसार शनिबार निगमलाई इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको खरिद मूल्य बढाएर पठाएको छ । तर, निगमले फागुन २१ को निर्वाचनलाई मध्यनजर गर्दै पहिलेको मूल्यलाई नै यथावत् राखेको उनले जानकारी दिए ।

यसैगरी उनले पेट्रोलिमय पदार्थको सहज आपूर्ति तथा वितरणका लागि बिदाको अवधिभर पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा वितरणका लागि निगमका प्रादेशिक कार्यालय र डिपो÷शाखा कार्यालयहरु खुला रहने जानकारी दिए ।

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले तत्काल अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या नहुने जानकारी दिएका छन् । आवश्यक वस्तुको आपूर्तिमा समस्या आउन मन्त्रालयले छलफल गरिरहेको उनले बताए । तीन–चार महिनासम्मका लागि पुग्ने अत्यावश्यक वस्तु बजारमा रहेको उनको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal