(Thursday , 30 April,2026)

करोडौंको व्यापार हाँक्दै २३ वर्षे नेप्स

mountainejournal.com

mountainejournal.com

काठमाडौं– हातमा पुस्तक च्यापेर बिहानै कलेज जाने उमेरमा नेप्स तामाङ आमा बसुमाया तामाङले जन्माएको टिमुर छोप अचार उद्योगलाई उचाइमा पुर्‍याउने दौडमा छिन् । हजारौंलाई रोजगारी दिने र आमाको करोडौंको व्यापारलाई विश्वभर फैलाएर अर्बाैंको बनाउनु उनको सपना हो ।

त्यही सपना साकार पार्न उनी कलेज पढ्न जाने समयमा अचारका लागि आवश्यक सामग्री खरिद गर्न कालिमाटी तरकारी बजारमा पुग्छिन् । व्यापारलाई प्रमोसन गर्न कहिले देशको कुना कुनामा जान्छिन् त केही विदेश भ्रमणमा पुग्छिन् । रातदिन, खानापानी, भोकतिर्खा नभनी उद्योगलाई विश्वभर फैलाउने दौडमा उनी खटेकी छन् । मोबाइलमा आएको फोन उठाउन उनलाई फुर्सद छैन । आफैं गाडी चलाएर बजारमा सामान खरिद गर्न जान्छिन् । उनी आफ्नो अचारलाई विश्व बजारमा फैलाउन देशविदेशमा हुने व्यापारिक मेलामा सहभागी हुन्छिन् । कहिले आमासँग त कहिले एक्लै भए पनि अन्तर्राष्ट्रिय बजार मेलामा पुग्छिन् ।

२३ वर्षिया नेप्स भन्छिन्, ‘अचार भनेपछि धेरैले नाक खुम्चाउँछन् । हेप्न खोज्छन् । तर, हाम्रो नेपाली खानामा भात, दाल, तरकारीपछि अचार परेकै हुन्छ । अचार भनेर हेप्नेहरुको अगाडि यो अचार उद्योगलाई देशको एउटा ठूलो उद्योग बनाउने सोच छ, जहाँ हजारौंले रोजगारी पाउन् । आमाले भान्साबाट सुरु गरेको उद्योग हो ।’

नेप्सकी आमाले करिब ११ वर्षअघि ५ सय रुपैयाँ लगानीबाट अचार बनाउन सुरु गरेकी थिइन् । अहिले उनको उद्योग वार्षिक ५ करोड रुपैयाँसम्मको कारोबार गर्नेगरी विस्तार भएको छ । उद्योगमा प्रत्यक्ष रुपमा २ सयभन्दा बढी महिलाले रोजगारी पाएका छन् । ‘हाम्रो उद्योगमा सबै महिलाहरु मात्र छन् । महिलाले पनि पुरुषसरह नै काम गर्न सक्छन् भनेर अफिसका काउन्टरदेखि सामान ओसारपसार सबै क्षेत्रमा महिला नै छन्,’ नेप्सले भनिन् ।

आमाको स्वास्थ्य अवस्था बिग्रेको र सामाजिक क्षेत्रमा बढी व्यस्त हुने भएकाले पछिल्लो ३/४ वर्षदेखि व्यवसाय छोरीले सम्हालिरहेकी छिन् । उनले आमालाई १५ वर्षको उमेरदेखि काममा सघाउँदै आएकी थिइन् । ‘हाम्रो परिवारको व्यवसाय हो । दाजुभाइ पनि उद्योगलाई अघि बढाउन नै लागिपर्नु भएको छ । मलाई सानैदेखि आफ्नो लागि आफैं काम गर्नुपर्छ भन्ने थियो । मनमैजुस्थित घरको छेउमा स्कुलबाट आएर चटपटे बनाएर बिक्री गर्थें । दिनमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । कुनै पनि व्यवसाय सानो–ठूलो हुँदैन भन्ने मलाई मेरो स्वर्गीय हजुरआमाले सिकाउनु भएको हो । मैले उद्यमी बन्ने प्रेरणा मेरो आमाभन्दा पनि हजुरआमाबाट पाएको हो । आमाले पनि मलाई काम गर्ने प्रेरणा दिनुहुन्थ्यो,’ नेप्सले सुनाइन् ।

आमाले रातदिन, घामपानी नभनेर सुरु गरेको उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुगेकोमा उनी दंग छिन् । भन्छिन्, ‘आमाले हामीलाई सुनाउनु भएअनुसार उहाँले कुनै बेला सडक किनारामा बालुवा चाल्ने काम गर्नुहुन्थ्यो । मेरो आमाले जस्तो जोकेहीले गर्न सक्दैनन् । आमाले गर्नुभएको त्यो दुःखको अगाडि हामी केही पनि होइन । आज आमाको मेहनत र निरन्तरताले गर्दा हाम्रो उद्योगमा सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । राज्यलाई वर्षमा १०/१५ लाख रुपैयाँ कर तिरेका छौं ।’

तामाङ परिवारको यात्रा सहज थिएन । धेरै कठिनाइहरु पार गर्दै यो अवस्थामा आइपुगेको नेप्स बताउँछिन् । ‘टिमुरको अचार भन्दा सहज लाग्ला तर, यात्रा पक्कै सरल थिएन । अचार व्यवसाय थाल्दा घरछिमेकमात्र होइन, टाढासम्मका आफन्तलाई पनि सित्तैंमा खुवाउनुप¥यो । आमाले धेरै दुःख गरेर उद्योगलाई स्थापित गर्नुभएको हो । विस्तारै सबैको जिब्रोमा अचारको स्वाद नजानिँदो गरी झुन्डिन थाल्यो । जजसले चाख्नुभयो, उहाँहरू फेरिफेरि माग्न आउन थाल्नुभयो । अनि आमाले व्यवसाय बनाउने योजना बनाउनु भएको हो,’ नेप्स भन्छिन् ।

बसुमायाले एउटा परिकारबाट सुरु गरेको अचार अहिले १३ थरीमा विस्तार भइसकेको छ । टिमुरको छोप, डल्ले खुर्सानी, काँक्रा, माछा, आँप, लप्सी लगायत विभिन्न थरीका अचार उनीहरु बनाउँछन् । अचार बिक्री गर्न कुनै ठाउँमा गएर मार्केटिङ गर्नुपरेको छैन । घरसम्मै आइपुग्छन् उनका ग्राहक । बजारको माग पुर्‍याउन भ्याइनभ्याइ छ ।

‘आमाले अचार व्यापार थालनी गरेको २०६९ सालमा हो, घरेलु तथा साना उद्योगमा ‘नेपाली मन टिमुर छोप अचार’ नामक उद्योग दर्ता गरेर । सुरुमा प्लास्टिकको भाँडामा राखेर ५०–६० रुपैयाँमा बेचिने अचार अहिले अष्ट्रेलिया, अमेरिका, हङकङ, बेलायत, भुटान, मलेसिया, कतारलगायत मुलुकमा पुगिसकेको छ । केही मुलुकमा मात्र पुर्‍याउन बाँकी छ । बाँकी मुलुकमा पनि पुर्‍याउने प्रयास जारी छ,’ नेप्सले भनिन् ।

उनीहरु हातले नै अचार तयार गर्छन्, कुनै मेसिन प्रयोग हुँदैन । स्वाद बिग्रिने डरले हालसम्म कुनै मेसिन प्रयोग नगरेको नेप्सको भनाइ छ । ‘हाम्रो अचारको मौलिक स्वाद छ । हामी स्थानीय कच्चा पदार्थ प्रयोग गर्छौं । अचारका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा नपाउने हुँदा वार्षिक करोडौं रुपैयाँ बाहिरिने गरेको छ । यसलाई रोक्न हामीले प्रयास गरेका छौं ।

अचार व्यवसायबाट आम्दानी गरेको सबै रुपैयाँ बाहिरिन थालेपछि आवश्यक कच्चा पदार्थ आफैं उत्पादन गर्न थालेका छौं । नवलपरासीमा ३८ रोपनी र धादिङमा २२ रोपनीमा टिमुर खेती सुरु गरिसकेका छौं । खुर्सानी र तोरी खेतीसमेत गर्ने योजना छ,’ उनले सुनाइन् , ‘मेरो लक्ष्य विदेशी उत्पादनको भर पर्नु नपरोस् भन्ने हो । सबै उत्पादन स्वदेशकै प्रयोग गर्नेगरी खेती गर्नेछु र नेपाली किसानका उत्पादन प्रयोग गर्ने योजना छ । अचारका लागि आवश्यक पर्ने कच्चा पदार्थका जुन पैसा बाहिर गइरहेको छ, त्यो पैसा स्वदेशमै रहोस् भन्ने हाम्रो चाहना हो ।’

स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन उनीहरु लाई सहज छैन । नेप्स भन्छिन्, ‘हाम्रो सरकारको कागजी प्रक्रिया नै झन्झटीलो छ । ठाउँ–ठाउँमा अवरोध हुन्छ । अन्य देशको सरकारले उद्यमीलाई धेरै सहयोग गरेको हुन्छ । हाम्रो सरकारले भने उद्यमीलाई जसरी सहयोग गर्नुपर्ने हो, त्यसरी सहयोग गरेको पाइँदैन । हाम्रो चाहना सरकारले पनि हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहजीकरण गरीदियोस् भन्ने हो ।’

स्वदेशमा अवसर छैन भनेर विदेश पलायन हुनेलाई उनको सुझाव छ– लगनशिलता र मेहनत गर्ने हो भने यहाँ पनि अवसर छ । जुन काम पनि सम्मानपूर्वक गर्नेका अवसर नै अवसर छ । अवसर सरकारले दिने भन्दा पनि आफैंले बनाउनुपर्छ । सरकारको काम सहजीकरण गरिदिने हो । विदेशको जस्तो नेपालमा खटिएर काम गर्ने हो भने परिवारसँग बसेर लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ । काम गर्न मनमा इच्छाशक्ति र कुनै पनि चुनौतीमा हार नखाने साहस आवश्यक हुन्छ । व्यापार–व्यवसाय गर्दा सधै राम्रैराम्रो हुन्छ भन्ने हुँदैन । केही राम्रो त केही नराम्रो भई नै रहन्छ । यसलाई कसरी व्यवस्थापन गर्ने कुरा उद्यमीको हातमा हुन्छ ।’ काराेबार दैनिक 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal