(Thursday , 30 April,2026)

महिला उद्यमी

यी उद्योगी सडकमा बालुवा चाल्थिन्

mountainejournal.com

mountainejournal.com

काठमाडौं । समय यस्तो पनि थियो, एकछाक टार्न धेरैका ढोका ढक्ढक्याउँदा पनि खाली पेट फर्कनुपर्ने अवस्था थियो । धेरै पटक निराश भएर फर्कन्थिन्, बसुमाया तामाङ । छाक टार्न सडक किनारा बालुवा चाल्थिन् । ‘एकछाक खाए अर्को छाक के खाउँ ?’ भन्ने पिरलो भइरहन्थ्यो । अहिले पनि उनलाई ती दिनले झस्काइरहन्छन् ।

यद्यपि, उनले कहिल्यै ‘धैर्यता’ छाडिनन् । त्यसैलाई ‘सफलता सूत्र’ बनाइरहिन् । र, आज उनी सफल उद्यमीका रूपमा कहलिएकी छन् । हो, बसुमायालाई यही धैर्यताले उद्यमी बनायो । अहिले ५३ जनालाई रोजगारी दिएकी छन् । कुनै बेला सडककिनारा बालुवा चाल्ने उनै बसुमाया अचेल कारमा हुइँकिन्छिन् । दुखी–गरिबका घरमा चामल र ग्याँस लिएर पुग्छिन् ।

धादिङकी बसुमाया काठमाडौं मनमैजुमा बस्छिन् । ‘धैर्यता हुँदैन थियो भने म यहाँ हुँदिनँ थिएँ,’ उमेरले ५० वर्ष टेकेकी बसु सम्झिन्छिन्, ‘सडकको बास, बालुवा चाल्ने र चर्खा चलाउने मजदुरीसमेत गरें, कामलाई मैले कहिल्यै सानोठुलो ठानेकी छैन, काम भनेको काम हो ।’

अब अतीततिर फर्कौं न !
मजदुरीक्रममै बसुमायाले जसोतसो पाँच सय जोहो गरिन् । मात्र पाँच सय रुपैयाँबाट उनले ‘नेपाल मन छोप’ उद्योग खोलिन् । लागेकै थिएन, पाँच सयको यात्राले जीवनको मोड बद्लिदिन्छ । भइदियो त्यस्तै । त्यसपछि उनले फर्केर हेर्नुपरेन । पाँच सयको लगानीबाट अहिले करोडपति बनेकी छन् ।

देख्दा सहज लाग्ला ! तर, यात्रा पक्कै सरल थिएन । अचार व्यवसाय थाल्दा घरछिमेकमात्र होइन, टाढासम्मका आफन्तलाई पनि सित्तै अचार चखाइन्, बसुमायाले । उनको अचारको स्वाद नजानिँदोगरी सबैका जिब्रोमा झुन्डिन थाल्यो । ‘जो जसलाई चखाएँ, उहाँहरू फेरिफेरि माग्न आउन थाल्नुभयो,’ बसुमाया ती दिन सम्झिन थालिन्, ‘अनि, यसलाई नै व्यवसाय बनाउने योजना बनाएँ ।’

खुर्सानी, लसुन र टिमुर पिसेर ‘टिमुर छोप’ बनाइन्छ । देश– विदेशसम्म उनको अचार पुगेका छन् । बसुमायाको टिमुरको छोप अचार व्यवसाय निकै फस्टाएको छ । अचार विक्री गर्ने कुनै ठाउँमा गएर मार्केटिङ गर्नुपरेको छैन । घरसम्मै आइपुग्छन्, उनका ग्राहक । ‘आप्mनै आइडियाबाट टिमुरको अचार बनाउने व्यवसाय थालेकी हुँ,’ उनी भन्छिन्, ‘अहिले वार्षिक दुई करोडको व्यापार गर्छु ।’

कस्ती थिइन्, बसुमाया ?
सानै उमेरदेखि जोस र जाँगरिली थिइन्, उनी । स्वभाव पनि इखालु थियो । आमाबुबाको हरेक काममा सहयोगी बन्थिन् । परिवारकी जेठी छोरी बसुमायाका तीन भाइ छन् । स्कुल पढ्न जाँदा ‘माथिल्लो जात’का भनिनेबाट उनी निकै आजित भइन् । ‘भोटे, तामाङ पनि स्कुल पढ्ने ? भन्दै जिस्क्याउँथे, त्यो देख्दा दिक्क लाग्थ्यो,’ उनले भनिन्, ‘अनि सानै उमेरमा काठमाडौं आएँ ।’

बुबा भारतीय सेना थिए । स्कुल जाँदा गाउँमा छोराछोरीलाई ‘तल्लो जातको’ भन्दै हेप्न थालेपछि बुबाले २०३५ सालमा भारतीय सेनाको जागिरसँगै जन्मभूमि धादिङ छोडेर उनीहरूलाई काठमाडौं सोह्रखुट्टेमा ल्याए । त्यसबेला १० वर्षकी बसुमाया कक्षा २ पढ्दै थिइन् । विद्यालय जाँदा ‘भोटेका छोराछोरी हामीसँग पढ्ने ?’ भन्दै भाला समातेर लखेटेपछि लुकीलुकी घर आएको उनी आज पनि सम्झन्छिन् । ‘त्यो याद यति ताजा छ कि सम्झँदा आज पनि जीउमा काँडा उम्रन्छ,’ उनी हाँस्दै सुनाउँछिन् ।

गाउँ छोडेर काठमाडौं आए पनि उनलाई सामाजिक कुसंस्कारले छोडेन । धारानजिक गएर पानी थाप्नसमेत पाइनन् । धारानजिकसम्म जान नदिने र छुन नदिने पीडा सहरमा पनि खेपेको तीतो अनुभव छ, उनीसँग । अलि कडा स्वभावकी बसुमाया सहनै नसक्ने भएपछि ‘म पनि त मान्छे नै हो नि !’ भनेर सुक्ष्म प्रतिकारसम्म गर्थिन् । विरोध गर्दा पनि गाउँदेखि सहरसम्मका मानिसले जातकै कारण हेप्न थालेपछि जातै लुकाएर बस्नुपर्ने बाध्यतासमेत आइप¥यो ।

अनेकथरी समस्यासँग पौठेजारी गर्दै उनले सोह्रखुट्टे सिद्धिगणेश स्कुलबाट १० कक्षा पास गरिन् । बुबाआमालाई होटेल सञ्चालनमा पनि सघाइन् । बिहान चिया पकाउनेदेखि दूध ल्याउने र भाँडा माझ्थिइन् । पढाइप्रति निकै लगाव थियो । राति १२ बजेसम्म काममा सघाएर पनि विद्यालयको होमवर्क गर्थिन् । ‘दिनभर काम गरेर थाकेकी हुन्थें,’ उनी भन्छिन्, ‘थकान र निन्द्रा बिर्सेरै भए पनि गृहकार्य गरेरै सुत्थें । संघर्षले मलाई जीवनमा कहिल्यै पनि थकित बनाएको छैन ।’

घरझगडा र कलहकै कारण भाइहरू र आमालाई लिएर सडकमै पनि बसिन्, बसुमाया । बुबाको मृत्युपछि परिवारको जिम्मेवारी उनकै काँधमा आइप-यो । जेठी छोरी भएकीले तीन भाइ र आमाको जिम्मेवारी उनले सम्हालिइन् । सानैमा बुबाले ठूलो जिम्मेवारी छोडेर गए पनि उनी निरास भइनन् । भाइहरूलाई सँगै पढाउन थालिन् । होटेल सञ्चालनदेखि स्कुल पढ्ने कामसँगै गरिन् । ‘स्वाभिमान नगुमाएर इमान्दारीपूर्वक गर्ने हो भने हरेक काम सम्मानित हुने गर्छन्,’ भन्छिन्, ‘सफल र खुसी हुनु छ भने आप्mनो क्षेत्रमा संघर्ष गर्नैपर्छ ।’

स्कुलको जाडो बिदामा बिहानबेलुकी होटेलको काम गरेर पनि सोह्रखुट्टे पकनाजोलस्थित एक उद्योगमा मोजा पट्याउने काम गथिन्, बसुमाया । मोजा पट्याएबापत मासिक ४ सय ५० रुपैयाँ पाउँथिन् । ‘मैले चर्खाबाट घागो निकाल्ने काम पनि गरें,’ २०४८ सालतिर फर्किइन्, उनी ‘पाँच दिनमा एक केजी धागो निकाल्थें । एक केजी धागो निकाल्दा १७ रुपैयाँ आउँथ्यो । त्यही पनि घर चलाउन धौधौ हुन्थ्यो ।’

कोटेश्वरमा निर्माणाधीन घरका लागि बालुवा चाल्ने कामसमेत गरिन् । समय सहज थिएन । थोरै पैसामा बिहान ९ देखि बेलुका ५ बजेसम्म बालुवा चाल्दा दिनमा सय रुपैयाँ आउँथ्यो । जहाँ जस्तोसुकै बाधाअड्चन आइपरे पनि पढाइ भने छोडिनन् । पद्मम् कन्याबाट आईए पास गरिन् । त्यसपछि भने उनको पढाइमा पूर्णविराम लाग्यो ।

प्रेमवियोग
कथित ‘माथिल्लो जात’को केटासँग प्रेम बस्यो । तर, केटाको परिवारबाट विरोध भयो । पीडा खप्न सकिनन्, उनले बाटो मोडिन् । र, दुई सन्तान लिएर हिँडिन् । घर छोडे पनि उनले छोराहरूको सुरक्षाका लागि अदालतमा ‘मानाचामल मुद्दा’ हालिन् । केटाको घरबाट नानाथरी गाली बेइज्जत र धम्की आएपछि मुद्दा फिर्ता लिन बाध्य भइन् । ‘तर, जिन्दगीसँग हार खाइनँ, काम गर्छु, छोराहरू पालेर देखाउँछु भनेर सरकारी तथा गैरसरकारी संस्था, निजी कार्यलयका धेरै ढोका ढकढक्याएँ,’ बसुमायाको अनुहार एकाएक बद्लियो, ‘तर, कसैले पनि मेरो पीडा बुझिदिएनन् ।’

केके मात्रै गरिनन् ?
२०५८ सालमा मैनबत्ती बनाउने काम सिकेर घरघरमा त्यसको व्यापार सुरु गरिन् । यसबाट पनि सन्तोष भएन । तर, धैर्यता भने टुटेन । ठेलागाडा मम, चप, सेकुवा, ससेज, आलुफ्राई पनि बेचिन् । फाइदा पनि नहुने र उभिएर व्यापार गर्दा ढाड दुख्ने समस्या आएपछि त्यो काम पनि छोडिन् । त्यसपछि भने भाइहरूको सल्लाहमा टिमुरको छोप बनाउने काम थालिन् । विस्तारै उनको अचारको चर्चा चुलिँदै गयो । उनको अचार जिब्रोको स्वाद बन्यो ।

अचार व्यापार बढ्न थालेपछि बसुमायाले २०६९ सालमा घरेलु तथा साना उद्योगमा ‘नेपाली मन टिमुर छोप अचार’ नामक उद्योग दर्ता गरिन् । सुरुमा प्लास्टिकको भाँडामा राखेर ५०–६० रुपैयाँमा बेचिने अचार अहिले अष्ट्रेलिया, अमेरीका, हङकङ, बेलायत, भुटान र भारतलगायतका देशमा पुगिरहेको छ । स्वाद बिग्रिने डरले उनी कुनै मेसिन प्रयोग गर्दिनन् । ‘यो मौलिक स्वादको छ,’ बसुमाया भन्छिन्, ‘यही कारण नाम र दाम दिन सकेकी छु ।’

अचारका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमा नपाउने हुँदा वार्षिक लाखौं रुपैयाँ बाहिरिन्छ । अचार व्यवसायबाट आम्दानी गरेको सबै रुपैयाँ बाहिरिन थालेपछि आवश्यक कच्चा पदार्थ आफैं उत्पादन गर्न थालेकी छन्, बसुमाया । नवलपरासीमा ३८ रोपनी र धादिङमा २२ रोपनी टिमुर खेती सुरु गरिसकेकी छन् । खुर्सानी र तोरी खेतीसमेत गर्ने तयारीमा छिन्, उनी । ‘मेरो लक्ष्य विदेशी उत्पादनको भर पर्नु नपरोस् भन्ने हो,’ उनी भन्छिन्, ‘सबै उत्पादन स्वदेशकै प्रयोग गर्नेगरी खेती गर्नेछु र नेपाली किसानका उत्पादन प्रयोग गर्ने योजना बनाएकी छु ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal