(Thursday , 16 April,2026)

जीडीपी

यस वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुनेछ प्रक्षेपण

mountainejournal.com

mountainejournal.com

सरकार र विदेशी दातृ संस्थाहरूले गरेको अनुमानभन्दा यसवर्ष अर्थतन्त्रको विस्तार नाजुक देखिएको छ ।सरकारले चालु बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । यस्तै विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतका दातृ संस्थाहरूले सार्वजनिक गरेका तथ्यांकमा यो वर्ष ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने उल्लेख थियो । तर, यी सबैको प्रक्षेपणविपरीत यो वर्ष २.१६ प्रतिशतले मात्र अर्थतन्त्रको आकार बढ्ने देखिएको हो । त्यो पनि आगामी दिनमा अहिलेभन्दा अर्थतन्त्रमा सुधार भएको अवस्थामा मात्र यो अंकको विस्तार हुनेछ । यसले चालु आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव आर्थिक वृद्धिदरमा देखिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आधारभुत मूल्यमा यस वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुनेछ । उपभोक्ता मूल्यमा भने जीडीपी १.८६ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । सरकारले गरेको अनुमानभन्दा यो ५.८४ प्रतिशत तल हो । यस्तै, दातृ संस्थाहरूले गरेको भन्दा नेपालको आर्थिक वृद्धिदर १.९४ प्रतिशत कम हुने भएको हो ।

विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापी रुपमा आपूर्ति श्रृंखला खलबलिएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको असर अर्थतन्त्रमा परेको तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए । यो वृद्धिसँगै नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यो वर्ष अर्थतन्त्रको आकार ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ छ । अंकका हिसाबले हेर्दा अर्थतन्त्रको आकार करिब ७ खर्ब रुपैयाँ बढ्ने देखिन्छ ।

निर्देशक भण्डारीका अनुसार चालु आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित यथार्थ आँकडा तथा सूचनाका आधारमा यो तथ्यांक तयार गरिएको हो । यस्तै, बाँकी तीन महिनामा अर्थतन्त्रमा अहिलेको भन्दा सुधार आउने अपेक्षा गरेर यो प्रतिशत निर्धारण गरिएको हो । अपेक्षा गरेअनुसार अर्थतन्त्रमा सुधार नआए जीडीपी वृद्धिदर योभन्दा तल झर्नेछ ।

अर्कोतर्फ गत आर्थिक वर्ष २०७८/०७९ मा आर्थिक वृद्धिदर ५.२६ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा अर्थतन्त्रको विस्तार ४.४९ प्रतिशतले भएको अन्तिम तथ्यांक आएको निर्देशक भण्डारीले जानकारी दिए । उनका अनुसार बृहत् औद्योगिक समूहअनुसार समग्र औद्योगिक क्षेत्रलाई तीन भागमा विभाजन गरेर हेर्दा चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ भने प्राथमिक क्षेत्र र द्वितीय क्षेत्रको योगदान गत आर्थिक वर्षभन्दा घटेको छ ।

यस्तै, जीडीपीमा प्राथमिक क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष प्राथमिक क्षेत्रको कुल मूल्य अभिवृद्धि दर स्थिर मूल्यमा २.६९ प्रतिशत वृद्धि हुने अनुमान छ । चालु आर्थिक वर्षमा धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दूध, अण्डा तथा मासुको उत्पादनमा कमी आएको हुँदा यो क्षेत्रको योगदान बढ्न नसकेको निर्देशक भण्डारीले जानकारी दिए ।

यस्तै, चालु आर्थिक वर्षको जीडीपीमा द्वितीय क्षेत्रको १२.९ प्रतिशत योगदान पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ०.५६ प्रतिशतले मात्र बढ्ने अनुमान छ । उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि दरमा गत आवको तुलनामा कमी आएको हो ।

यस्तै, सेवा क्षेत्रले यो वर्षको जीडीपीमा ६२.४ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.३३ प्रतिशत हुने अनुमान छ ।

आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरूमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धिदर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिका कारण यस क्षेत्रको वृद्धिदरमा गत आवको तुलनामा कमी आएको हो ।
यसैगरी मुख्य औद्योगिक वर्गीकरणअनुसार हेर्दा जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१२ र गैरकृषि क्षेत्रको योगदान ७५.८८ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि क्षेत्रको हिस्सा गत वर्षभन्दा यो वर्ष घट्ने अनुमान छ ।

कार्यालयले आर्थिक क्षेत्रहरूको विस्तृत वर्गीकरण गरेर जीडीपीमा कुन क्षेत्रको कति योगदान पुग्ने भन्ने अनुमान गरेको छ । त्यसअनुसार १८ वटा क्षेत्र बनाएर योगदानलाई हेरिएको छ । त्यसमा पनि केही क्षेत्रहरूमा उपक्षेत्रहरू पनि समावेश गरिएको छ । त्यसअनुसार गत आवको तुलनामा यस वर्ष जीडीपीमा सामान्य रुपले बढ्ने क्षेत्रहरूमा यातायात तथा भण्डारण, विद्युत, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, वित्तीय तथा बीमा क्षेत्र, आवास तथा भोजन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवा गरी ७ क्षेत्रका क्रियाकलाप बढेका छन् ।

यस्तै, जीडीपीमा योगदान घट्नेमा कृषि वन तथा मत्स्य, खानी तथा उत्खनन्, निर्माण, उद्योग, थोक तथा खुद्रा व्यापार, घरजग्गा कारोबार, सूचना तथा सञ्चार, पानी आपूर्ति, ढल–फोहोर व्यवस्थापन तथा पुनः उत्पादन र अन्य सेवा गरी ९ क्रियाकलाप छन् । पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू र प्रशासनिक तथा सहयोगी सेवाको हिस्सा यथावत् रहने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति आय १३ सय ९९ डलर

कार्यालयले चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति वार्षिक आय १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको जनाएको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँबराबर हो । कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष थोरैले भए पनि जीडीपीको आकार बढेकाले प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा सोही दरले बढेको हो । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ ।

यो अवधिमा अमेरिकी डलरको विनिमय दर बढेकाले त्यसलाई समायोजन गर्दा डलरमा प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ नै कायम भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक भण्डारीले बताए । उनले गत आर्थिक वर्षको संशोधित प्रतिव्यक्ति आय पनि १ हजार ३ सय ९९ अमेरिकी डलर रहेको जानकारी दिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal