(Wednesday , 10 December,2025)

हवाई इन्धन डिपो स्थानान्तरण गर्न साढे ६ अर्ब लागत लाग्ने

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नेपाल आयल निगमको सिनामंगलस्थित त्रिभुवन विमानस्थल नजिकको हवाई इन्धन डिपो नयाँ स्थानमा स्थानान्तरण गर्न साढे ६ अर्ब लागत लाग्ने अनुमान गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानको कन्सल्टेन्सी सेवा पुल्चोकले नेपाल आयल निगमलाई बुझाएको अध्ययन प्रतिवेदनले ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ लागत लाग्ने अनुमान गरेको हो ।

२०८१ साउन १६ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार स्थानान्तरण गर्ने  निर्णय पछि हवाई इन्धन डिपो गुहेश्वरीस्थित नेपाली सेनाको गोल्फ कोर्स भएको स्थानमा सार्नको लागि विस्तुत परियोजना प्रतिवेदन तयार पार्नको लागि संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकसँग २०८१ मंसिर ५ गते निगमले सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार संस्थान कन्सल्टेन्सी सेवाले बिहिबार सिनामंगल हवाई इन्धन डिपोमा आयोजित एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक गरेको हो ।  परियोजना प्रतिवेदन त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन डाक्टर सुरज लामिछानेले परियोजना प्रमुख तथा सिनामंगल डिपो कार्यालयका  प्रमुख इञ्जिनियर प्रदिप कुमार यादवलाई हस्तान्तरण गरेका हुन् । 

प्रतिवेदन अनुसार नयाँ डिपो अत्याधुनिक प्रविधिसहित पूर्ण रूपमा स्वचालित एल तीन लेवल अटोमेसन हुनेछ ।  यस डिपोमा इन्धन भण्डारणको लागि हाल ३ हजार किलोलिटर क्षमता भएका ५ वटा भर्टिकल ट्यांकर निर्माण हुनेछन् । इन्धन लोडिङ तथा अनलोडिङका लागि ६–८ वटा ब्याड तयार गरिनेछ । यस्तै अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भरिने ७ वटा पिट हाइड्रेन्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्सर रहने छन् । यसैगरी डिपोमा अग्निसुरक्षको लागि २१ सय किलोलिटर क्षमताका २ वटा सिप्टी वाटर ट्यांकी र पूर्ण स्वचालिलत आगो नियन्त्रण प्रणाली समेत जडान हुनेछ ।  

अमेरिकन पेट्रोलियम इन्स्टिच्युट र आयल इन्डष्ट्रिज सेफ्टी डाईरेक्टी मापदण्ड लगायत अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको पूर्ण पालना यस अतिरिक्त, प्रशासनिक भवन, प्रयोगशाला भवन, मानव संसाधन युनिट, सम्भार र भण्डारण केन्द्र समेत स्थापना गरिनेछ । डिपोको सुरक्षाका लागि छुट्टै गेट र चौकीसमेत रहने परियोजना प्रमुख इञ्जिनियर प्रदिप कुमार यादवले जानकारी दिए । प्रमुख इञ्जिनियर यादवका अनुसार हालसम्म डिपो निर्माणस्थलमा चार किल्ला छुट्याएर झाडी हटाएर साइट क्लियरेन्स कार्य अघि बढाएको छ ।

विस्तृत परियोजना प्रतिवेदनको अध्ययन गरेर चालु आर्थिक वर्ष २०८२÷८३ बजेट विनियोजन गरेर आगामी भदौ महिनामा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्ने योजना छ । यस्तै दुई महिना भित्रमा बोलपत्र मूल्यांकन लगायतका प्रक्रियाहरु टुग्याई सक्ने उनले जानकारी दिए । यस्तै मंसिर महिनामा निर्माण कार्य सुरु गरी दुई वर्ष भित्र २०८४ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेको परियोजना प्रमुख यादवले जानकारी दिए ।

परियोजनाको निर्माण कार्य लम्बिदा परियोजनाको लागत पनि बढ्ने हुँदा लागत बढ्न नदिइन समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने बताए । डिपो प्रमुख इञ्जिनियर यादवका अनुसार नयाँ डिपो पूर्ण रुपमा सुरक्षित, प्रविधियुक्त र दीर्घकालीन समाधान हुने किसिमले निर्माण गरिनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षित र प्रविधियुक्त डिपो निर्माण गर्न लागेको हो यादवले जानकारी दिए । यसैगरी डिपो प्रमुख इञ्जिनियर यादवले नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको सिनामंगलस्थित ३२ रोपनी जग्गा कौडी भाउमा मूल्यांकन गर्न नमिल्ने समेत बताए । 

क्यानका महानिर्देशक प्रदीप अधिकारीले संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैठकमा निगमको ३२ रोपनी जग्गालाई कम मूल्यांकन(कौडिको भाउ) मूल्यांकन गर्नु पर्ने विषय उठाइएको यादवको भनाइ छ । उड्डयन प्राधिकरणको जग्गामा पनि सरकारको निगमको जग्गामा पनि सरकारको भएको हुँदा यतिकै निगमको जग्गाका कौडीको भाउ भनेर निगमलाई होच्यान नहुने उनको भनाइ छ । प्राविधकरणले निगमलाई विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै रहेको गुह्येश्वरीतर्फको करिब ६० रोपनी जग्गा हस्तान्तरण गर्ने निर्णय यसअघि नै भइरहेको छ ।   

निगमका अनुसार उच्च जोखिम भएको र अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर रहन गएकाले निगमले सिनामंगलस्थित हवाई इन्धन डिपो सार्न लागेको हो । विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’ को निर्माणसमेत हुन लागेकाले थप जोखिम बढेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र प्राधिकरणको गुरुयोजना अनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेको बीचमा दूरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर, हाल मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेको बीचमा दूरी जम्मा ९० मिटरमात्र छ । ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था छ ।

अहिलेको रनवेबाट ५ मिटर गहिराइमा डिपो निर्माण हुने भएकाले भविष्यमा कुनै पनि प्रकारको जोखिम निम्तन नसक्ने यादवको भनाइ छ । विमानस्थलको गुरुयोजनामा अहिले डिपो निर्माणको लागि छुट्याइएको जग्गाको ठिक दक्षिणी भागमा अन्तर्राष्ट्रिय उडानका विमानहरु राख्न पार्किङ क्षेत्र निर्माण गर्ने योजना छ ।

त्यहाँ भीभीआईपी कक्षसहित अन्तर्राष्ट्रिय विमान टर्मिनल निर्माण गरिनेछ । उक्त क्षेत्रमा हवाई इन्धनको माग र खपत अत्यधिक हुने भएकाले सोही स्थानमा निगमको डिपो निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल रनवेको दक्षिणतर्फको गहिरो क्षेत्रमा निगमको हवाई इन्धन डिपो छ ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal