काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाई मत पाएको छ ।
निर्वाचनले पुराना र स्थापित भनिएका दलहरु नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई नराम्रोसँग खुम्चाइ दिएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेशवादी दलहरुको अस्तित्व खतरामा परेको छ । नयाँ दल श्रम संस्कृति पार्टीले पनि राम्रो सुरुवात गरेको छ ।
निर्वाचन आयोगका अनुसार रास्वपाले प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय २५ सिट जितेको छ । यो दुई तिहाईभन्दा धेरै अर्थात् ७५.७५ प्रतिशत हो ।
यस्तै, नेपाली नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिटमात्र जितेको छ । यो १०.९० प्रतिशत हो । एमालेले प्रत्यक्षमा ९ र नेकपाले ७ सिट जितेका छन् । यो कुल सिटको क्रमशः ५.४५ र ४.२४ प्रतिशत हो । यसबाहेक नयाँ दल श्रम संस्कृतिले ३ र राप्रपाले एक सिट जितेका छन् । निर्वाचनमा प्रत्यक्षतर्फ मधेशवादी दलले एक सिट पनि जितेका छैनन् भने म्याग्दीबाट स्वतन्त्र उमेदवार उठेका महावीर पुनले विजय हासिल गरेका छन् ।
आयोगका अनुसार समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाले सबैभन्दा धेरै मत पाएको छ । समानुपातिकतर्फ एक करोड ७ लाख ६४ हजार मत सदर हुँदा रास्वपाले ५१ लाख ४६ हजार मत पाएको छ । यो कुल मतको ४७.८० प्रतिशत हो । आयोगले समानुपातिक मतको सिट निर्धारण गरेपछि मात्र रास्वपाको यकिन संख्या आउनेछ । तर, आयोगले सिट विभाजनका लागि प्रयोग गर्ने ‘सेन्ट लग फर्मुला’ मा राखेर रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाउने देखिएको छ । दुवै गरी रास्वपाको १८२ सिट पुग्ने निश्चित जस्तै छ भने दुई तिहाई बहुमतबाट मात्र दुई सिट कम रहेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाईका लागि १८४ सिट आवश्यक पर्छ । रास्वपा संसद्को सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ ।
यस्तै, दोस्रो पार्टीका रुपमा खुम्चिएको नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट पाउने देखिएको छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले १७ लाख ५४ हजार मत ल्याएको छ । प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभामा कांग्रेसको ३८ सिट हुने देखिएको छ । यसअघिको संसद्मा कांग्रेसको ८९ सिट थियो ।
संसद्मा तेस्रो दलका रुपमा रहन पुगेको एमालेले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ । प्रत्यक्षमा ९ सिट जितेको एमालेको कुल २५ सिट हुनेछ । यो संख्या गत प्रतिनिधि सभाको भन्दा तेब्बर भन्दा पनि कम हो । यसअघि एमालेको ७९ सिट थियो । एमालेको यसपटक समानुपातिकमा १४ लाख ५१ हजार मत आएको छ ।
माओवादी, एकीकृत समाजवादीसहित अन्य धेरै साना दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा ९ सिट पाउने देखिएको छ । यो दलले प्रत्यक्षमा ८ सिट जितेको छ । प्रतिनिधि सभामा नेकपाको १७ सिट हुनेछ । यो पार्टीले समानुपातिकतर्फ ८ लाख ८ हजार मत पाएको छ ।
यो प्रतिनिधि सभामा श्रम संस्कृति र राप्रपाले समानुपातिकमा ४/४ सिट पाउने देखिएको छ । श्रम संस्कृतिले ३ सिट प्रत्यक्षमा जितेकाले अब उसको कुल ७ सिट हुनेछ भने राप्रपाले प्रत्यक्षमा एक सिट जितेकाले ५ सिट हुनेछ ।
श्रम संस्कृति हालै स्थापना भएको पार्टी हो । यो चुनावबाट उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा कुनै सिट ल्याउन सकेनन् । समानुपातिकमा पनि तीन प्रतिशत मतको थ्रेसहोल्ड कटाएनन् । यी दुवै दल हराउने लयमा गएका छन् ।
६ दल बने राष्ट्रिय पार्टी
यो निर्वाचनले ६ वटा दललाई राष्ट्रिय पार्टीका रुपमा अगाडि सारेको छ । प्रत्यक्षमा कम्तिमा एक सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउने दल राष्ट्रिय पार्टी बन्ने प्रावधान छ । त्यसअनुसार रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय पार्टी बनेका हुन् । निर्वाचनले राष्ट्रिय दलका रुपमा पुराना पाँच र नयाँ एक दललाई समेटेको छ ।
यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी हो । धरानका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको पार्टी करिब चार–पाँच महिना अघि खुलेको थियो । श्रम संस्कृति पार्टीले एकै पटक प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाएको छ ।
यस्तै, यो निर्वाचनमा ५७ दलले भाग लिएका मध्ये ५१ ले थ्रेसहोल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) कटाउन सकेनन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिन्छ ।
२८९० जनाको जमानत जफत
न्यूज एजेन्सी नेपालका अनुसार यो निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये २ हजार ८ सय ९० जनाले आफ्नो जमानत जोगाउन सकेनन् । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकामध्ये जम्मा ५ सय १६ जना उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर आफ्नो जमानत जोगाउन सफल भएका छन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानुन बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ । निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारको जमानत फिर्ता हुन्छ भने १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत हुन्छ ।
३५० उम्मेदवारको मत शून्य
सूचना अधिकारी घिमिरेका अनुसार जमानत जफत भएका २ हजार ८ सय ९० जना उम्मेदवारमध्ये ३ सय ५० जना उम्मेदवारले एक भोट पनि प्राप्त गर्न सकेनन् । उनीहरूको मत परिणाम शून्य देखिएको छ ।
प्रतिक्रिया