काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको इपीसेन्टर बनेको झापा ५ मा अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले कीर्तिमानी जित दर्ता गराएका छन् ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लासमेत रहेको झापा ५ मा बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै ओलीलाई पराजित गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ प्राप्त गर्नुभएको छ । यहाँ श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले एक हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्र्रौलाले एक हजार ५३६ मत प्राप्त गरे ।
यस क्षेत्रमा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेकामा एक लाख ६ हजार ५६८ मत खसेको थियो । आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा भइसकेका बालेनकै कारण देशभर रास्वपाको जनलहर चलिरहँदा कीर्तिमानी जित हात पारेका हुन् ।
निर्वाचन नजिकिँदै जाँदा काठमाडौं महानगरपालिकाको मेयर पदबाट बालेनले माघ २४ मा राजीनामा दिएर झापा क्षेत्र ५ मा उम्मेदवारी दिएका थिए । एमालेबाट निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइएका ओलीलाई पराजित गर्न भन्दै रास्वपाबाट प्रधानमन्त्रीकै उम्मेदवार बनेका बालेनले झापा ५ मा उम्मेदवारी दिएका थिए
को हुन् बालेन
पेसाले इन्जिनियर ३६ वर्षका बालेन र्यापरका रुपमा नयाँ पुस्ताबीच चर्चित रहँदै आएका छन् । उनी २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ठूला दलका उम्मेदवारलाई पराजित गर्दै काठमाडौं महानगरको मेयरमा विजयी भएका थिए ।
स्वतन्त्र उम्मेदवारी दिँदै मेयरमा विजयी भएसँगै उनमाथि आमजनताले हेर्ने नजर परिवर्तन भएको थियो । मेयरमा विजयी भएसँगै बालेनले सांस्कृतिक सम्पदा र सफाइलाई ध्यानमा राख्दै काठमाडौंलाई सुन्दर सहर बनाएका छन् ।
काठमाडौंको गौरीगाउँमै जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका कान्छा छोरा हुन् । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
जेनजी आन्दोलनपछि व्यक्तिगत रुपमा रास्वपासँग एकता गरेपछि उनको चर्चा थप चुलिएको थियो । रास्वपासँग एकता गर्दा उनलाई पार्टीभित्र वरिष्ठ नेताको रुपमा राखेर चुनावपछिको प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
भावी प्रधानमन्त्रीका रुपमा पार्टीले अगाडि सारेका बालेन चुनावी अभियानमा आफ्नो चुनावी क्षेत्रभन्दा देशभर चुनावी माहोल बनाउन व्यस्त भए ।
प्रतिक्रिया