(Sunday , 08 September,2024)

सुनको भाउ पाँच वर्षमै दोब्बर

mountainejournal.com

mountainejournal.com

पछिल्लो पाँच वर्षमा बहुमूल्य पहेंलो धातु सुनको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ । पाँच वर्षअघि २०७५ को वर्षभरी प्रतितोला सुन मूल्य ४८ देखि ५४ हजारबीचमा कारोबार भएको थयो । २०७९ को अन्तिममा मूल्य बढेर एक लाख १० हजार नाघेको छ । यो पाँचै वर्षमा दोब्बरभन्दा पनि बढी मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले राखेको तथ्यांक हेर्दा पछिल्लो पाँच वर्षमा सुनको भाउमा निक्कै उतारचढाव आएको देखिन्छ । सुनको मूल्य प्रत्येक दिन र महिनामा फरक पर्छ । तर, वार्षिक रुपमा तथ्यांक हेर्दा २०७५ पछिका पाँच वर्षमा प्रत्येक वर्ष ६ देखि २० हजार रुपैयाँ प्रतितोला बढेको देखिन्छ ।

२०७५ सालभरमा सुन प्रतितोला ४८ देखि ५४ हजार रुपैयाँमा कारोबार भएको थियो । यो वर्ष न्यूनतम सुनको मूल्य प्रतितोला ४८ हजार र अधिकतम ५४ हजारसम्म पुगेको थियो । त्यसको एक वर्षपछि २०७६ सालमा सुनको अधिकतम मूल्य १६ हजारले बढेको देखिन्छ । यो वर्ष न्यूनतम ५१ हजार र अधिकतम ७० हजारसम्मले कारोबार भएको थियो । २०७६ को केही महिना अघिल्लो वर्षभन्दा ३ हजारले घटेर कारोबार भएको थियो ।

यस्तै, २०७७ मा सुनको मूल्य ७४ देखि ८४ हजार प्रतितोलामा खरिदबिक्री भएको देखिन्छ । २०७६ मा सुन किन्नेले ०७७ मा औषतमा प्रतितोला १४ हजार रुपैयाँ नाफा गर्न सकेका थिए । यसैगरी ०७८ मा औषतमा सुनको मूल्य ६ हजार रुपैयाँले मात्र बढेको छ । यो वर्ष प्रतितोला सुनको कारोबार ७६ हजारदेखि ९० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो ।

महासंघको तथ्यांकअनुसार यो वर्ष भने सुनको भाउ धेरैले बढेको छ । ०७९ मा प्रतितोला सुनको मूल्य ७९ हजारदेखि एक लाख १० हजारसम्म पुगेको छ । अहिलेसम्मको सुनको कारोबारमा एक लाख १० हजार सबैभन्दा उच्च मूल्य हो । यी पाँच वर्षमा प्रत्येक वर्ष सुनको मूल्यमा निकै उतारचढाव आएको छ । तर वार्षिक रुपमा हेर्दा सधैं मूल्य बढेको देखिन्छ । पहिलो वर्षदेखि क्रमशः १६, १४, ६ र २० हजार रुपैयाँले सुनको मूल्य बढेको हो । पछिल्ला चार वर्षमध्ये कोभिड कालका धेरै महिना बजार नखुलेका बेला सुनको कारोबार नभएपछि मूल्य पनि निर्धारण गरिएन ।

तीन वर्षपहिले विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस र रुस–युक्रेन युद्धका कारण विश्व बजारमा सुनको मूल्य अकासिँदै गएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । विश्वमा फैलिएको कोरोना महामारीपछि विश्वका धनी लगानीकर्ता सुनमा आकर्षित भएकाले यसको मूल्य बढेको उनले बताए । रुस र युक्रेनबीचको युद्धले अन्य क्षेत्रमा लगानी असुरक्षित देखेपछि लगानीकर्ता सुनमा आकर्षित भएका छन् । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सुनको मूल्य बढ्दै गएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सुनको मूल्य बढेपछि नेपाली बजारमा असर परेको उनले बताए ।

उनका अनुसार अमेरिकामा दुई बैंक बन्द भएयता सुनमा लगानी गर्ने लगानीकर्ता फेरि बढ्न थालेका छन् । यसैको प्रभावस्वरुप अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको हो । अहिले विश्वका प्रमुख स्टक मार्केट ओरालो लागेका छन् । सेयर लगानी घटेका कारण अहिले सुनमा लगानी गर्ने लगानीकर्ता बढेका छन् । यही कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको अध्यक्ष शाक्यको भनाइ छ ।

शाक्यले भने, “रुस र अमेरिकाबीच थप द्वन्द्व बढ्ने संकेतले पनि पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व बढ्ने संकेत देखिँदा नै सुनको माग बढ्न जान्छ ।” लगानीकर्तामात्र नभई राज्यले नै सुनको माग बढाउने गरेका कारण पनि स्वाभाविक रुपमा मूल्य बढ्ने शाक्यको भनाइ छ । विश्वमा आर्थिक मन्दी आएको हुँदा सुनको मूल्य अझै बढ्ने देखिएको उनको अनुमान छ ।

पछिल्लो समय सरकारले विदैशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा झारेको छ । २०७८ फागुनबाट सरकारले सुन आयातको कोटा घटाएको हो । बजारमा दैनिक सुनको माग ३५ किलो भए पनि वैधानिक आपूर्ति १० किलोमात्र छ । व्यवसायीहरुले विदेशबाट आउने व्यक्तिहरुले ल्याएको सुन र बजारमा बेच्न ल्याउने पुरानो सुनले माग धान्दै आएको दाबी गर्दै आएका छन् ।

सुनको अवैध कारोबार पनि उत्तिकै भइरहेको व्यवसायी बताउँछन् । सुन कालोबजारी गर्नेहरुलाई सरकारले बेला–बेलामा पक्राउ गर्दै आएका घटनाबाट पनि सुनमा पर्याप्त मात्रामा कालोबजारी हुने गरेको प्रष्ट हुन्छ । खासगरी दुबई र चीनबाट नेपालमा अवैध रुपमा सुन भित्रिँदै आएको छ । यस्तो कारोबारमा नेपालीसहित विदेशी नागरिकको पनि संलग्नता देखिँदै आएको छ । एक व्यवसायीका अनुसार कालोबजारीबाट बजारमा दैनिक करिब १० किलो सुन आउने गरेको छ । अवैध रुपबाट आउने सुनमध्ये केही परिमाण भारतमा पनि पुग्दै आएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal