(Sunday , 31 May,2026)

प्रधानमन्त्रीले संसद्‍मा 'सीमावारपारको जग्गा भोगाधिकार' सम्बन्धी विषय उठाउनु भएको हो ;परराष्ट्रले भन्यो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले विवाद निम्तिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले संसद्‍मा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र 'क्रस बोर्डर अकुपेसन' अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकार' सँग सम्बन्धित रहेको दाबी गरेका हुन् । 

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिने क्रममा आइतबार भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।'

परराष्ट्रले प्रधानमन्त्री शाहको भनाइ प्रस्ट पार्दै भनेको छ, 'सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र 'क्रस बोर्डर अकुपेसन' अर्थात् 'सीमा वारपारको जग्गा भोगाधिकार' सँग सम्बन्धित छ। नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बन गरेको कारणले 'क्रस बोर्डर अकुपेसन' भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ।'

प्राविधिक समितिको अध्ययनले कतिपय स्थानहरूमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको पनि परराष्ट्रको स्पष्टीकरण दिएको छ । 'सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्‍मा राख्नुभएको 'कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने' भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र 'क्रस बोर्डर अकुपेसन' सँग जोडिएको छ,' परराष्ट्रले भनेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal