(Thursday , 14 May,2026)

ओली र लेखकविरुद्ध यस्तो हुनेछ- अनुसन्धान र अभियोजन प्रक्रिया

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  जेन-जी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनामा अनुसन्धानका लागि भनि पक्राउ गर्दा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जरुरी पक्राउ पुर्जी दिएको छ।

महान्यायाधिवक्ता कार्यालयका एक जना सचिवका अनुसार सरकारी वकिलले आइतबार अदालतबाट सुरुमै ओली र लेखकलाई पक्राउ गर्दा जारी गरेको जरुरी पक्राउ पुर्जीको समर्थन गराउनुपर्नेछ। कानुनअनुसार कुनै व्यक्तिलाई तत्काल पक्राउ नगर्दा भागेर जान सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्था भएमा जरूरी पक्राउ पुर्जी जारी गरेर प्रहरीले त्यस्तो व्यक्तिलाई पक्राउ गर्न सक्छ, अन्य सामान्य अवस्थामा पक्राउ पुर्जी जारी गर्न अदालतको आदेश चाहिन्छ।  ‘सुरुमा आज प्रहरीले जारी गरेको जरुरी पुर्जीको समर्थन गराउँछौं। त्यसका लागि जिल्ला सरकारी वकिलको कार्यालयले तयार गरेको छ,’ उनले भने।

ओली र लेखकका वकिलहरूले भने सुरुमा त्यही जरूरी पक्राउ पुर्जीको औचित्यमाथि प्रश्न उठाउने छन्। ‘जरूरी पक्राउ पुर्जी सम्बन्धित व्यक्ति भागेर जान सक्ने र फेरि पक्राउ पर्न नसक्ने अवस्थामा मात्र दिइन्छ,’ पक्राउ पर्नुअघि ओलीलाई कानुनी परामर्श दिएका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कान्तिपुरसँग भने, ‘उहाँहरू कहाँ जानुहुन्थ्यो र ? देशै छाडेर जाने होइन। त्यस्तो पुर्जी र पक्राउ जरुरी थिएन। त्यसको आवश्यकतामा प्रश्न उठिहाल्छ।’


जेनजी आन्दोलनबारे सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो। कार्की आयोगले लापरबाही र हेलचेक्र्याइँका कारण जेनजी आन्दोलनका क्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुवेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो। त्यस्तै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध हेलचेक्य्राइँअन्तर्गत फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनको सिफारिसमध्ये सुरक्षाकर्मीहरू जोडिएको विषयमा अध्ययन गर्न कार्यदल बनाउने तथा बाँकीका हकमा तुरुन्त कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रहरीले जरूरी पक्राउ पुर्जी दिएर शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको हो।

अदालतले आज प्रहरीले जारी गरेको जरूरी पक्राउ पुर्जीलाई समर्थन गरिदिएन भने ओली र लेखक दुवै जना भोलि तत्कालै छुट्नेछन्। तर, त्यसरी छुटे पनि उनीहरूमाथिको अनुसन्धान भने रोकिने छैन। अदालतले पुर्जी समर्थन गरिदियो भने त्यसपछि सरकारी वकिलले थप अनुसन्धानका लागि ओली र लेखकलाई हिरासतमा राख्न म्याद माग्ने छन्। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले ‘ओली र लेखक दुवैलाई थुनामै राखेर अनुसन्धान गर्न म्याद मागिने’ बताए। 

प्रचलित कानुनमा यस्ता मुद्दाको अनुसन्धानका लागि अधिवकतम् २५ दिनसम्म हिरासतमा राख्न पाइन्छ। अदालतमा अनुमति दिएपछि प्रहरीले ओली र लेखकलाई हिरासतमै राखेर सोधपुछ गर्ने तथा बयान लिनेछन्। अदालतले म्याद थप नगरिदिन पनि सक्छ। त्यस्तो अवस्थामा उनीहरूलाई प्रहरीले छाड्नुपर्नेछ। तर, अनुसन्धान भने रोकिने छैन।  

अदालतले सुरुमा एकैपटक थुनामा राख्न मिल्ने अधिकतम् म्याद थप गरिदिँदैन। सरकारी वकिल र प्रहरीले पनि सुरुमै अदालतसँग एकैपटक २५ दिनको समय माग्दैनन्। सुरुमा थप गरिएको म्यादमा पनि अनुसन्धान सकिएन भने फेरि अदालत पुर्‍याएर थप समय हिरासतमा राख्ने म्याद माग्नुपर्छ। यी चरणहरूमा अदालतले म्याद थप्दिरहने वा अब थप म्याद नदिने निर्णय गर्न सक्छ। अथवा कुनै पनि समयमा ओली र लेखकलाई बोलाएका बेला उपस्थित हुने गरी प्रहरी स्वयंले छाड्न पनि पाउँछ। 

प्रहरीले जमानीमा छाडेन र अदालतले म्याद पनि निरन्तर थप गरिदियो भने पनि २५ दिनभन्दा बढी समय हिरासतमा राख्न पाइन्न। तर, त्यसरी २५ दिन थुनामा राखेर अनुसन्धान गर्दा पनि अनुसन्धान सकिएन भने उनीहरूलाई रिहा गरेर प्रहरीले अनुसन्धान जारी राख्न पाउँछ। २५ दिनभित्रमै मुद्दा दर्ता गर्ने समयको चाप भने प्रहरीलाई हुने छैन।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal