काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी र लिपुलेक नेपालको भएको प्रमाण नेपालसँग रहेको र त्यो भूमि फिर्ता ल्याउने बताएका छन् । भारतसँगको सीमा विवाद दुई देश मिलेर समाधान गर्ने भएकाले अन्य मध्यस्थकर्ता नखोज्ने पनि प्रधानमन्त्री शाहको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहले सीमा विवादका सम्बन्धमा बोलेका हुन् । 'सीमाको विषयमा चिन्ता लिनुभएको थियो । हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको कुरा गर्दा उहाँहरूले पनि आपत्ति जनाउनु हुन्छ, आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । ठीक छ, अब तपाईंसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ,' प्रधानमन्त्री शाहले भने, 'हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ ।'
प्रतिनिधिसभाको जेठ १७ को बैठकमा प्रधानमन्त्रीले सीमाको सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध गरिरहेका छन् । त्यो विरोधलाई लिएर पनि प्रधानमन्त्री शाहले जवाफ दिएका हुन् ।
प्रधानमन्त्री शाहले भारतसँगको सीमा विवाद समाधान गर्न मध्यस्थता नलिने स्पष्ट पारे । उनले भने, 'त्यो प्रमाण लिनलाई पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्तकर्ता राख्न खोजेका हैनौं । हामी हाम्रो छिमेकीसँग आफै कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ र हामी ल्याउँछौं । त्यो कुरा गरिएको हो, यसमा आशंका गर्नु पर्दैन ।'
प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रियतामाथि प्रश्न नउठाउन र आशंका नगर्न पनि आग्रह गरे । उनले भने, 'मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नुपर्दैन ।'
प्रतिक्रिया