सुन र डलरको भाउ उच्च वृद्धि
काठमाडौँ । पछिल्लो समय बढ्दो भू–राजनीतिक अस्थिरतका कारण विश्वका लगानीकर्ता सुनमा आकर्षित भएपछि अन्तर्राष्ट्रिय बजार सुन मूल्य उच्च वृद्धि भएसँग अमेरिकी डलरको भाउ क्रमश बढ्दो छ । नेपालको अर्थतन्त्र आयातमा आधारित हुँदा डलरको भाउ बढ्दा आयातित वस्तुको मूल्यमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार पछिल्लो एक दिनमा प्रतितोला सुन ६० हजार बढेर ३ लाख १८ हजार पुगेको छ । महासंघका अनुसार जनावरी १ मा सुन प्रतितोला २ लाख ५९ हजार ६ सय कारोबार भएको थियो जनावरी २५ अर्थात आइतबार ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय अमेरिक डलरको भाउ पनि निरन्तर बढ्दोे छ ।
२०८० असार मसान्तमा एक अमेरिकी डलर खरिद गर्न १३१.१७ नेपाली रुपैयाँ तिर्नुपथ्र्यो । अहिले २०८२ माघ १३ मा एक अमेरिकी डलर किन्न १४६.८१ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ ।
नेपालको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्स र आयातमा आधारित हुँदा अमेरिकी डलर र सुनको भाउ बृद्धि हुँदा नेपाललाई अवसर चुनौती दुबै रहेको अर्थविद्धहरू बताउँछन् । अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्समा निर्भर छ । रेमिट्न्सायबाट आएको मुद्रालाई साना तथा घरेलु उद्योगमा लगानी गरी निर्यात बढाइ आर्थिक लाभ उठाउन सक्ने अवसर रहेको अर्थविद्को भनाइ छ । अर्थविद् तथा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा अन्तर्राष्ट्रिय बजारमा डलर र सुनको मूल्यमा भएको वृद्धि नेपालका लागि केवल चुनौती मात्र नभई आन्तरिक उत्पादन र लगानी बढाउने एउटा महत्वपूर्ण अवसर पनि रहेको बताउँछन् ।
डलरको भाउ बढ्दा आयातित सामान महँगो हुने भए पनि यसले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र निकासीबाट हुने आम्दानी बढाउन मद्दत पु¥याउने उनको भनाइ छ । उनका अनुसार डलरको भाउ बढ्दो बाह्य वस्तुहरू महँगो हुँदा स्वदेशी उत्पादनले सहजै बजार पाउन सक्छ । यो समय साना, घरेलु तथा मझौला उद्योग खोल्नका लागि निकै उपयुक्त अवसर हो । सुनको प्रयोग नगर्दा खासै फरक नपर्ने हुँदा सुनमा लगानी गर्नु भन्दा उत्पादन क्षेत्रमा गर्न सकिन्छ ।
कृषकले उत्पादन गरेको वस्तुलाई खेतदेखि उपभोक्ताको भान्सासम्म पु¥याउन ग्रेडिङ, प्रोसेसिङ र ढुवानीको प्रभावकारी प्रणाली विकास गरी कृषि उपज बोक्ने सवारीलाई ’एम्बुलेन्स’ जस्तै प्राथमिकता दिएर हिँड्ने व्यवस्था सरकारले मिलाउन सके उत्पादक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब २५ प्रतिशत रहेको सन्दर्भमा आन्तरिक लगानीलाई उत्पादनमुखी बनाउनु नै अहिलेको आवश्यकता हो । अर्थविद् बास्कोटा बाह्य कारणले मूल्य वृद्धि भए पनि आफ्नै देशको उत्पादनमा आत्मनिर्भर बन्ने र वितरण प्रणाली सुदृढ गर्ने हो भने यसलाई नेपालले आर्थिक समृद्धिको अवसरका रूपमा उपयोग गर्न सकिने बताउँछन् ।
अर्थविद् डिल्लीराज खनाल डलरको मूल्य बढ्दा नेपाली रुपैयाँमा रेमिट्यान्स आय वृद्धि हुने बताउँछन् । उनका अनुसार जसले गरिबी निवारण र शिक्षा–स्वास्थ्य जस्ता क्षेत्रमा खर्च गर्न मद्दत पुग्छ । यसका साथै, डलर महँगो हुँदा नेपाली उत्पादनहरू विश्व बजारमा सस्तो र प्रतिस्पर्धी बन्न जान्छन् । जसले निर्यात प्रवद्र्धन गर्ने एउटा राम्रो अवसर दिन सक्छ ।
विश्वमा बढ्दो भू–राजनीतिक अस्थिरतका कारण हाल मानिसहरूले सुन जस्ता अनुत्पादक क्षेत्रमा धेरै लगानी गरिरहेका छन् । सुन वा डलर सञ्चितिमा मात्र केन्द्रित हुनुभन्दा यस समयलाई आन्तरिक उत्पादन र स्वदेशी उद्यमशीलतामा लगानी गर्ने अवसरको रूपमा लिनुपर्छ । दिगो विकास र जीवनस्तर सुधानरका लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउनु आवश्यक छ । यसैगरी उनले डलरको वृद्धिले वैदेशिक ऋणको भुक्तानी भार बढाउँछ र आयातित सामानहरू महँगो भई मुलुकमा महँगी बढ्ने उनको भनाइ छ ।
यस्तै अर्का अर्थविद् गोविन्द नेपालले पछिल्लो समय अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले नेपाली अर्थतन्त्रमा बहुपक्षीय प्रभाव पारेको बताए । डलरको भाउ बढ्दा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाउने रेमिटेन्सको आम्दानीमा वृद्धि हुने बताउँछन् । उनका अनुसार जसले सर्वसाधारणको हातमा पुग्ने पैसाको मात्रा बढाउनेछ । तर, नेपाल आयातमा निर्भर मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित सामानहरू महँगो हुनेछ । हामीले तेस्रो मुलुकबाट सामान ल्याउँदा डलरमा भुक्तानी गर्नुपर्ने र भारतीय मुद्रा खरिदका लागि समेत डलर खर्चिनुपर्ने भएकाले आयात थप खर्चिलो हुने उनको भनाइ छ ।
यसैगरी डलरको मूल्य बढ्दा मुलुकले तिर्नुपर्ने अन्तर्राष्ट्रिय ऋण र त्यसको ब्याजको भार बढ्ने अर्थविद् नेपाल बताउँछन् । उनका अनुसार नेपालले डलरमा लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्दा अब पहिलेको तुलनामा धेरै नेपाली रुपैयाँ खर्चिनुपर्ने हुन्छ । जसले सरकारी कोषमाथि थप दबाब सिर्जना गर्छ । सुनको मूल्य अत्यधिक बढ्दा मानिसहरूको क्रयशक्ति घट्ने र विवाह वा अन्य उत्सवहरूमा गरिने सुनको खपत कम हुन सक्ने उनले बताए । यसैगरी सुनको कारोबारबाट सरकारलाई प्राप्त हुने करका विषयमा भने केही प्रभाव पर्न सक्ने उनको भनाइ छ ।
प्रतिक्रिया