काठमाडाैँ । पछिल्लो समय पश्चिम एसियामा बढ्दै गएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन संकट गहिरिएको भन्दै पेट्रोलियम पदार्थको मूल्य हरेक १५ दिनमा बढिरहेको छ ।
नेपालमा भारतीय आयल निगम (आईओसी)ले पठाउने मूल्यसूची अनुसार नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली अपनाउँदै उपभोक्ताका लागि इन्धनको मूल्य तोक्ने गरेको छ ।
हाल काठमाडौंमा हवाई इन्धनको शुल्क अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार ७ सय ८५ डलर र आन्तरिकतर्फ २ सय ६२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
पश्चिम एसियाको तनावकै कारण गत चैत १७ अगाडि प्रति किलोलिटर ९ सय ६६ डलर रहेको अन्तर्राष्ट्रियतर्फको इन्धनको मूल्य हाल १ हजार ७ सय ८५ डलर पुगेको हो । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १ सय २४ रुपैयाँबाट बढेर वैशाख ३ सम्म आइपुग्दा २ सय ६२ रुपैयाँ पुगेको छ।
हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक र बाह्य उडानका वायुसेवालाई नियमित उडानमा भन्दा पनि ‘होल्ड’ हुँदा खपत हुने इन्धनले तनाव दिएको छ । काठमाडौंमा उडान तथा अवतरण गर्ने वायुसेवाहरू एयर ट्राफिकका कारण हरेकजसो उडानमा २० मिनेटदेखि आधा घण्टासम्म ‘होल्ड’ हुने गरेका छन् ।
नेपाल वायुसेवा निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार निगमको एयरबस ए३२०–२०० जहाजमा आईएई भी-२५०० इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले १२ देखि १५ हजार फिटको उचाइमा होल्डिङ गर्दा औसत १ हजार २ सय देखि १ हजार ५ सय किलो प्रतिघण्टा इन्धन खपत गर्छ। यसको अर्थ प्रति किलो इन्धनमा १.७८ डलर खर्च हुन्छ ।
अहिले डलरको नेपाली सटही दर १४९.७० को हिसाबले एक किलो इन्धन खपत हुँदा वायुसेवा कम्पनीको २ सय ६७ रुपैयाँ खर्च हुन्छ । अन्तर्राष्ट्रिय वायुसेवा आधा घण्टा होल्ड हुँदा करिब ७ सय ५० किलो इन्धन खर्च हुन्छ, जसले गर्दा हरेक पटक करिब २ लाख रुपैयाँ अतिरिक्त भार थपिन्छ ।
निगमको न्यारोबडीको तुलनामा वाइडबडी जहाजले थप इन्धन खपत गर्छ । ए३३०–२०० वाइडबडी जहाजमा ट्रेन्ट आरआर इन्जिन प्रयोग गरिएको छ। यो जहाज १० हजारदेखि १६ हजार फिटको उचाइमा होल्ड हुने गर्छ । १२ हजार फिटलाई औसत होल्डिङ उचाइ मान्ने हो भने यसले प्रतिघण्टा ठूलो परिमाणमा इन्धन खपत गर्छ ।
निगमको वाइडबडी जहाजले एक घण्टामा करिब ६ हजार किलो इन्धन खपत गर्छ। वाइडबडी जहाज आधा घण्टा मात्र होल्ड हुँदा करिब ८ लाख रुपैयाँ बराबरको अतिरिक्त इन्धन खर्च हुने जानकारी प्रवक्ता पुनले दिएका छन्।
यस्तै, आन्तरिक वायुसेवामा प्रचलित एटीआर-७२ जहाजले प्रतिमिनेट ८ लिटर तेल खपत गर्छ । यो इन्धन खपत आकाशमा र जमिनमा करिब एकैनासको हुने गर्छ । वैशाख ३ गतेको मूल्य अनुसार आन्तरिक उडानमा एक मिनेट होल्ड हुँदा २ हजार ९६ रुपैयाँ खर्च हुन्छ । हरेक उडान औसत २० देखि ३० मिनेट होल्डमा पर्ने भएकोले ४१ हजार ९ सय २० रुपैयाँदेखि ६२ हजार ८ सय ८० रुपैयाँसम्म अतिरिक्त खर्च हुने गरेको सम्बन्धित वायुसेवा कम्पनीहरूको भनाइ छ ।
श्री एयरलाइन्सको जहाजले भने एटीआरको तुलनामा १.४ गुणा बढी इन्धन खपत गर्छ। बुद्ध र यती एयरलाइन्सले प्रयोग गरिरहेको ७२ सिट क्षमताको एटीआर भन्दा श्री एयरलाइन्सले उडान गरिरहेको ७८ सिट क्षमताको ड्यास-८ जहाजको इन्धन खपत धेरै छ ।
इन्धन खपत कम गर्न र होल्डिङ घटाउन वायुसेवा कम्पनीले मात्रै चाहेर नहुने बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । उनका अनुसार काठमाडौं विमानस्थलमा हुने उडान चाप र सरकारको फितलो व्यवस्थापनका कारण वायुसेवा कम्पनीहरू नचाहेरै पनि होल्डमा बस्नुपर्ने बाध्यता छ, जसले सञ्चालन लागत बढाइरहेको छ ।
प्रतिक्रिया