काठमाडौं– मुलुकभित्र लगानीको वातावरण नभएको र भएको लगानी पनि सुरक्षित नरहेको आरोप लागिरहेका बेला राजनीतिक दलहरुले सुरक्षाको प्रत्याभूति दिने प्रयास गरेका छन् ।
राजधानीमा आइतबार सुरु तेस्रो लगानी सम्मेलनमा सरकार र विपक्षमा रहेका दलका प्रतिनिधिहरुले नेपाल लगानीका लागि उच्च सम्भावनाको मुलुक रहेको भन्दै विदेशी व्यवसायीलाई लगानी ल्याउन आग्रह गरे । कानुन संशोधन गरी आवश्यक वातावरण तयार गरेको दाबी गर्दै उनीहरुले स्वदेशी र विदेशी व्यवसायीलाई लगानीका लागि निम्त्याएका हुन् । आवश्यक देखिए अझै पनि सबै दल मिलेर कानुन सुधार गर्ने प्रतिबद्धता पनि नेताहरुले जनाएका छन् ।
सम्मेलनको पहिलो दिन भएका दुई छुट्टाछुट्टै सत्रमा सहभागी राजनीतिक दलका नेताहरुले व्यवसायीहरुलाई लगानी गर्न निश्चिन्त पार्ने प्रयास गरेका थिए । सम्मेलन उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आह्वान गरेका थिए । दुवैले वैदेशिक लगानीको सुरक्षाका लागि सरकार र राजनीतिक दलहरु प्रतिबद्ध रहेको जानकारी दिए । ‘नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करमुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै प्रोत्साहन प्रदान गर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको छ, यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।’ दाहालले मित्र राष्ट्रहरूलाई द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गर्न आह्वान पनि गरे ।
नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालैमात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । ‘यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ,’ उनले भने । नेपालमा शान्ति र स्थायित्व कायम भई आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संघीय शासन प्रणालीले राष्ट्रव्यापी सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको स्पष्ट पारे ।
कांग्रेस सभापति देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताउँदै कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था उदार रहेको जानकारी दिए । विदेशी लगानी नेपाल कानुन र हाम्रो देश पक्ष भएको विभिन्न अन्तर्राष्ट्रिय सन्धीद्वारा सुरक्षित रहेको उनले अवगत गराए । उनले नेपालले विदेशी लगानीकर्ताप्रति भेदभावपूर्ण नीति नअपनाउने स्पष्ट पार्दै उनीहरूलाई राष्ट्रिय लगानीकर्तासँग समान व्यवहार गरिने र विदेशी लगानीकर्तालाई अतिथिको रूपमा स्वागत गर्ने उल्लेख गरे । नेपालमा वैदेशिक लगानी नाफामुखी रहेको भन्दै सभापति देउवाले यसका लागि प्रमाणित गर्ने भरपर्दो उदाहरण रहेको जानकारी गराए ।
नेपालमा काम गर्ने केही बहुराष्ट्रिय कम्पनीले वर्षौंदेखि राम्रो लाभांश फिर्ता गर्न सक्षम भएको उनको भनाइ छ । ‘कृपया नेपाल आउनुहोस् र हाम्रो अर्थतन्त्रमा लगानी गर्नुहोस् जुन तपाईं र हाम्रा जनताका लागि फाइदाजनक हुनेछ । हामी तपाईंलाई पूर्ण सुरक्षा प्रदान गर्नेछौं र सुरुदेखि अन्त्यसम्म हाम्रो निरन्तर सहयोगको आश्वासन दिन्छौं,’ उनले भने ।
उद्घाटन सत्रमा बोल्ने विदेशी प्रतिनिधिहरुले पनि नेपाल लगानीका लागि सम्भावनायुक्त मुलुक भएको धारणा राखेका थिए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालले विद्युत निर्यात गरेर दुई देशका बीचका सम्बन्धमा नयाँ आयाम थपेको बताए ।
एसियाली विकास बैंक(एडिबी)का मध्य–पश्चिम र दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष यिङमाङ याङले नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । एडिबीले लगानीका लागि विभिन्न अवसर खोजिरहेको जानकारी गराउँदै भने, ‘नेपाल प्राकृतिक स्रोत, कृषि, हरित ऊर्जा, पर्यटन, व्यापार र लगानीमा सम्भावना भएको देश हो । हामीले सहकार्य गरेर लगानी गर्ने अवसर खोज्दैछौं । निजी क्षेत्रलाई सहजीकरण गर्न सरोकारवालासँग काम गरिरहेका छौं । सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं ।’
सम्मेलनमा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवं उद्योग मन्त्री पियुष गोयल, संयुक्त अधिराज्यका विदेश, कमनवेल्थ वेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ वेल्थ एन्ड डेभलपमेन्ट अफिसको विकास तथा अफ्रिका क्षेत्र हेर्ने राज्यमन्त्री एन्ड्रयु मिचेललगायतले बोलेका थिए ।
यसैगरी एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ, एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) कार्यवाहक उपाध्यक्ष रजत मिश्र, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र युएस चेम्बर अफ कमर्शका दक्षिण एसिया हेर्ने वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि धारणा राखेका थिए ।
सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सयभन्दा बढी व्यक्तिको सहभागिता छ । सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् भने सहभागी एवं लगानीकर्ताले ती प्रदर्शनी कक्षमार्फत विभिन्न परियोजनाबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान (इओआई) गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने र निजी क्षेत्रबाटसमेत गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।
पहिलो दिन उद्घाटन सत्रका साथै अन्य दुई सत्र सम्पन्न भएका छन् । दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम राखिएका छन् ।
निजी क्षेत्रका प्रतिनिधिले के भने ?
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे । ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीका सम्भावना रहेको र नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए ।
ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने धारणा राखे । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको सम्भावना जानकारी दिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण बन्दै गएको देखिएको र सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सँगसँगै काम गरिरहेको बताए । अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि पर्याप्त सम्भावना रहकाले विदेशी लगानीकर्तालाई यहाँ लगानीका लागिसमेत आह्वान गरे । ‘नेपालको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र रणनीतिक अवस्थिति भएकाले नेपालमा लगानीको दिगो प्रतिफल हासिल गर्न सक्ने पर्याप्त ठाउँ छ । पर्यटनदेखि प्रविधिसम्म, पूर्वाधार विकासदेखि नवीकरणीय ऊर्जासम्म, शिक्षादेखि स्वास्थ्य सेवासम्म सम्भावनाका क्षेत्र पहिचान भएका छन्,’ उनले भने । नेपालले नवप्रवर्तन, उद्यमशीलता र समावेशी आर्थिक विकासको लक्ष्य लिएको धारणा अध्यक्ष अग्रवालले राखे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले विकास साझेदारका रुपमा रहेका विभिन्न क्षेत्रको पारस्परिक साथ र सहयोगले नेपालको आर्थिक विकासको आकांक्षालाई पूरा गर्न सक्ने बताए । ‘हामीसँग लगानीका लागि पर्याप्त सम्भावना छ । तर यो सम्भावनालाई यथार्थमा बदल्न कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । रणनीतिक लगानीको सोच, दीर्घकालीन सहकार्य र प्रतिबद्धता चाहिन्छ,’ उनले भने ।
लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताको उपस्थितिले नेपालको आर्थिक रूपान्तरणका लागि लगानीको वातावरण बन्दै गएको विश्वास लगानी कर्ताले पाउने उनले उल्लेख गरे । नेपाल भारत र चीन जस्ता दूई ठूला देशसँग सजिलो बजार पहुँच भएको देश भएकाले यहाँ उत्पादित वस्तु तथा सेवाका लागि बजार खोज्न समस्या नरहेको उनले बताए ।
प्रतिक्रिया