काठमाडौं । निर्वाचन आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम विसं २०७९ साल साउन १ गतेदेखि २०८० साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सत्रौं वार्षिक प्रतिवेदन आज सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरेको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उक्त प्रतिवेदन पेश गर्नु भएको हो ।
सो अवसरमा सम्माननीय राष्ट्रपतिले गत आर्थिक वर्षमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, राष्ट्रपति निर्वाचन, उपराष्ट्रपति निर्वाचन, राष्ट्रिय सभा सदस्य उपनिर्वाचन तथा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिए ।
उनले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएको र जनताले निर्वाचन मार्फत लोकतान्त्रिक अभ्यास गर्ने हुँदा आयोगले समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक प्रक्रियामा टेवा पुर्याएकोमा आभार समेत व्यक्त गरे । नेपालको संविधान र निर्वाचन कानूनले प्रदान गरेका जिम्मेवारी एवम् दायित्व पूरा गर्ने दिशामा आयोगले प्रभावकारी भूमिका खेल्दै जान सकोस् भन्ने कामना व्यक्त गरे । साथै प्रतिवेदनमा उठाइएका विषयहरु नेपाल सरकारले कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गरे ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले गत आर्थिक वर्षमा भएका मुख्य गतिविधि र प्रतिवेदनको सारांश प्रस्तुत समेत गरेका थियो । उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान र कानूनको अधिनमा रही कार्य सम्पादन गर्दै आएको र निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधारका लागि प्राप्त सुझावका आधारमा तयार पारिएको एकीकृत निर्वाचन कानून (निर्वाचन व्यवस्थापन विधेयक) को मस्यौदा आयोगको मिति २०८०/०४/१८ गतेको बैठकबाट स्वीकृत गरी गृहमन्त्रालय मार्फत नेपाल सरकार समक्ष पेश गरेको बताए ।
प्रतिक्रिया