(Monday , 22 June,2026)

सुरु भए चाडपर्व, महँगियो चिनी

संवाददाता

संवाददाता

काठमाडौं । नेपालमा चाडपर्वका बेला चिनीको उपभोग बढ्ने मौका छोपेर व्यवसायीहरुले यसको मूल्य बढाउनु परम्पराजस्तै बनेको छ । विगतका वर्षहरुमा चाडपर्व अघि चिनी अभाव देखाएर व्यवसायीहरुले मूल्य बढाउँदै आएका थिए । व्यवसायीहरुले यो वर्ष पनि परम्परा धानेका छन् । अर्थात् चाडपर्व सुरु भएपछि चिनीको मूल्य एक सातामै प्रतिकिलो २० रुपैयाँसम्म बढाइएको छ ।

खुद्रा व्यापारीहरुका अनुसार एक साताअघि चिनी प्रतिकिलो ११० रुपैयाँ थियो । अहिले १२० देखि १२५ रुपैयाँसम्म पुगेको छ । भोलि (सोमबार) देखि सुरु हुने असोज नेपाली ठूला चाडपर्व मनाइने महिना हो । नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अस्वाभाविक रुपमा चिनीको मूल्य बढ्नुपर्ने अहिले त्यस्तो ठूलो कारण छैन । साता दिनदेखि बजार अनुगमन गर्ने नियामक निकाय वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन छ । थोक र खुद्रा व्यापारीले यसको फाइदा लिएका छन् । पसलपिच्छे व्यापारीले उपभोक्ताबाट चिनीमा मनपरी मूल्य असुल्ने काम गरेका छन् ।

पछिल्ला केही वर्षयता व्यापारीले सरकारी कर्मचारीलाई हातमा लिएको तर्क अध्यक्ष महर्जनको छ । यसकै कारण बजारमा मनपरी भइरहेको उनले जिकिर गरे । ‘सरकार र बजार अनुगमन गर्ने नियामक निकायलाई व्यापारीहरुले नै कमजोर बनाएका छन् र चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तु चिनीको मूल्य आपूmखुसी बढाउने काम गरेका छन्,’ उनले भने, ‘कुनै कारणबिना सातामै चिनीमा किलोको १५-२० रुपैयाँ बढाउनु अस्वाभाविक छ । यो सिधै कालोबजारी हो । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर कालोबजारी गरिएको छ ।’

अध्यक्ष महर्जनका अनुसार व्यापारीले चोरीपैठारी गरेर ल्याएको चिनी उद्योगीले नेपाली बोरा बनाएर बजारमा पठाउँछन् । व्यापारीले त्यही चिनीको उपभोक्तासँग मनपरी मूल्य उठाउने गरेको अध्यक्ष महर्जनको भनाइ छ । बजार अनुगमन गर्ने निकाय वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई नेतृत्वविहीन बनाएर सरकारले नै व्यापारीलाई उपभोक्ताबाट ठग्ने काम गर्न सघाएको उनको आरोप छ । पछिल्लो पाँच दिनको बीचमा थोक व्यापारीले नै चिनी किलोमा १५-२० रुपैयाँसम्म बढाएको खुद्रा व्यापारी गौरीशंकर चौधरीले जानकारी दिए । ‘गत आइतबारसम्म चिनी किलोको ११० रुपैयाँ थियो । शनिबार आइपुग्दा किलोको १२५ देखि १३० रुपैयाँ पुर्याए । आफूसँग केही दिनअघिको मौज्दात चिनी भएकोले ग्राहकलाई १२० रुपैयाँमा बिक्री गरिरहेको छु । मौज्दात चिनी सकिएपछि किलोको १२५-१३० रुपैयाँमा नै बेच्नुपर्ने हुन्छ,’ उनले भने ।

उद्योगबाट नै बढेर आएको हुँदा मूल्य बढाउनुपरेको थोक व्यापारीले बताउने गरेको खुद्रा व्यापारी चौधरीले बताए । ‘थोक बजारमा मूल्य बढेपछि खुद्रा पनि स्वतः बढ्ने नै भयो । हामीले घाटा खाएर व्यापार गर्ने कुरा भएन,’ उनले भने । बजारमा एक्कासि चिनीको मूल्य आकासिएको गुनासो आएपछि विभागले चिनी उद्योगीलाई चिनीको उद्योग मूल्य कति हो जानकारी गराउन पत्र काटेको वाणिज्य विभागका एक अधिकारीले जानकारी दिए । उनले भने, ‘विभागमा बजार अनुगमन शाखा निर्देशक र महानिर्देशक पनि नहुँदा चिनीको मूल्य वृद्धिका विषयमा कसैको चासो छैन । चाडपर्व नजिकिँदै गर्दा अनुगमन गर्ने निकाय नेतृत्वविहीन हुँदा व्यापारीको मनपरी भएको हो ।’

भदौ २६ मा थोक व्यापारीसँग चिनीको बिल माग्दा किलोको १०० रुपैयाँमात्र परेको विभागका ती अधिकारीले जानकारी दिए । उनका अनुसार थोक मूल्य १०० हुँदा ढुवानी भाडा लगायत खर्च जोड्दा उपभोक्ताले किलोको १०५ देखि ११० रुपैयाँसम्ममा पाउनुपर्ने हो । ‘अहिले बजारमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढाउनुपर्ने कारण छैन । तर, विभागलाई आएको जानकारीअनुसार एक हप्ता नपुग्दै व्यापारीले किलोमा २० रुपैयाँसम्म बढाएका छन् । चिनी मिलको हालको वास्तविक मूल्य कति हो, विभागलाई विवरण पठाउन पत्र पठाएका छौं,’ उनले भने ।

मिलबाट प्राप्त हुने बिक्री मूल्यको विवरण अध्ययन गरी बजार अनुगमन गर्ने योजना विभागको रहेको उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकभर सामान्य अवस्थामा मासिक २० देखि २५ हजार टन चिनी खपत हुन्छ । ६० प्रतिशत चिनी घरायसी प्रयोजन र ४० प्रतिशत मिठाई उद्योगमा खपत हुन्छ । वार्षिक चिनी खपत भने करिब ३ लाख टनसम्म पुग्ने गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal